३४१ मेगावाटको बुढीगण्डकी अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा जुट्यो लगानी

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नेतृत्वमा बैंक तथा वित्तीय संस्थाले साढे ५२ अर्ब रुपैयाँ ऋण लगानी गर्नेछ ।

श्रावण २३, २०८२

सीमा तामाङ

Investments secured for 341 MW Budhi Gandaki semi-reservoir hydropower project

What you should know

काठमाडौँ — ३४१ मेगावाटको बुढीगण्डकी अर्धजलाशययुक्त जलविद्युत् (पीआरओआर) आयोजना निर्माण गर्न लगानी जुटेको छ । आयोजना निर्माण गर्न कुल ७० अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ ।

साहस ऊर्जा लिमिटेडको सहायक कम्पनी टाइम्स इनर्जी प्रालिले आयोजना निर्माण गर्नेछ । उक्त जलविद्युत् आयोजनामा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नेतृत्वमा १० बैंक तथा वित्तीय संस्थाले कन्सोर्टियम (संयुक्त)  मोडलमा ५२ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गर्ने भएको छ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रवर्द्धक कम्पनी टाइम्स इनर्जी र बैंक तथा वित्तिय संस्थाबीच ऋण लगानी सम्झौता भएको हो । सम्झौता पत्रमा टाइम्स इनर्जीका सञ्चालक सुशील थापा र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका तर्फबाट सीईओ ज्योतिप्रकाश पाण्डेले हस्ताक्षर गरे ।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक १० अर्ब, नबिल बैंक ८ अर्ब, लक्ष्मी सनराइज बैंक ८ अर्ब, ग्लोबल आइएमई बैंक ७ अर्ब, हाइड्रो इलेक्ट्रिसिटी एन्ड डेभलपमेन्ट कम्पनी ४ अर्ब, माछापुछ्रे बैंक ४ अर्ब, सिटीजन बैंक ३ अर्ब, नेपाल इन्फ्रास्ट्रक्चर बैंक ३ अर्ब, प्रभु बैंक ३ अर्ब र कृषि विकास बैंकले २ अर्ब ५० करोड लगानी गर्ने भएको हो ।

आयोजना निर्माण गर्न २५ प्रतितशत स्वपुँजी र ७५ प्रतिशत ऋणमार्फत लगानी जुटाउन लागिएको हो । बैंकहरुले संयुक्त रुपमा साढे ५२ अर्ब रुपैयाँ ऋण लगानी र १७ अर्ब ५० करोड रुपैयाँ प्रवर्द्धक कम्पनीले लगानी गर्नेछ ।

टाइम्स इनर्जीमा साहस ऊर्जाको ५१ प्रतिशत सेयर स्वामित्व छ । सोहीअनुसार साहस ऊर्जाले ५१ प्रतिशत स्वपुँजी लगानी गर्नेछ । निजी क्षेत्रले बनाउन लागेको र वित्तीय व्यवस्थापन गरेको हालसम्मकै ठूलो आयोजना हो । यसअघि २८५ मेगावाटको माथिल्लो तमोर आयोजना र २१६ मेगावाटको माथिल्लो सेती आयोजनाको वित्तीय व्यवस्थापन भइसकेको छ।

हालसम्म सञ्चालनमा आइसकेकामा ८६ मेगावाटको सोलुखोला दूधकोशी जलविद्युत् आयोजना नै निजी क्षेत्रको ठूलो परियोजना हो । उक्त जलविद्युत् आयोजना पनि साहस ऊर्जाले नै निर्माण गरेको छ । माघ ०७९ बाट सोलुखोला दूधकोशीले व्यावसायिक उत्पादन सुरु गरेको हो । २०८० पुसमा साहस ऊर्जा टाइम्स इनर्जीको ५१ प्रतिशत सेयर किनेको थियो ।

टाइम्स इनर्जीले परियोजना निर्माण तथा विद्युत् उत्पादनका लागि विद्युत् विकास विभागबाट पुस ०८० मै अनुमति पत्र लिएको थियो । आयोजनाको विद्युत् बिक्री गर्न नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) भइसकेको कम्पनीले जनाएको छ ।

काठमाडौंबाट १७० किमी दुरीमा गोरखामा बुढीगण्डकी अर्धजलाशययुक्त जलविद्युत् आयोजना निर्माण हुनेछ । परियोजनाको बाँध क्षेत्र गोरखाको चुमनुब्री गाउँपालिकाको वडा नं ३ र विद्युत् गृह धार्चे गाउँपालिकाको वडा नं ३ मा हुनेछ । बाँध क्षेत्र र विद्युत्‌गृह बीचमा १० किमी सडक रहेको कम्पनीले जनाएको छ । आयोजनाको पावर हाउस भूमिगत हुनेछ । 

आयोजनामा ३९८ मिटर लामो हेड (पानी खस्ने उचाई), ६.९ किलोमिटर लामो सुरुङ, ५६.८ मेगावाट क्षमताको ६ टर्वाइन हुनेछन् । ड्याममा १७ लाख ६० हजार घनमिटर पानी भण्डारण हुनेछ । त्यसबाट दैनिक ६ घन्टासम्म पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न सकिनेछ । आयोजनाबाट वार्षिक औसत १८६७.७७ गिगावाट घन्टा विद्युत् उत्पादन हुनेछ ।

कम्पनीका अनुसार मुख्य सुख्खा याममा ३२०.३० गिगावाट, सामान्य सुख्खा याममा २४३.४३ मेगावाट र वर्षा याममा १३०४.०४ गिगावाट विद्युत् उत्पादन छ । आयोजनाको डिजाइन डिस्चार्ज १००.२५ घन मिटर प्रति सेकेन्ड छ ।

आयोजनामा भौतिक तथा आर्थिक जोखिम पनि कम देखिएको कम्पनीको भनाइ छ । आयोजनाको प्रतिमेगावाट लागत २० करोड ५३ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ । प्राधिकरणसँग आयोजनाबाट उत्पादित बिजुली वर्षायाममा प्रति युनिट ४.८० रुपैयाँ, हिउँदमा ८.४० रुपैयाँ र पिक समयमा १०.५५ रुपैयाँ प्रतियुनिटमा पीपीए भएको छ ।

आयोजनाबाट वर्षायाममा १३०४.०४ गिगावाट, सामान्य सुख्खायाममा २४३.४३ मेगावाट र मुख्य सुख्खायाममा ३२०.३० गिगावाट विद्युत् उत्पादन हुनेछ । यसले पनि परियोजनामा प्रतिफलको सम्भावना उच्च देखाएको छ ।

उत्पादित विद्युत् विद्युत्‌गृहदेखि करिब ४५ किलोमिटर २२० केभी प्रसारण लाइन निर्माण गरी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) द्वारा निर्माण हुने ४०० केभीको नुवाकोटको रातामाटे सबस्टेसनमा जोडिने छ । आयोजनाको लगानी प्रतिफल १६.९९ प्रतिशत हुने अनुमान गरिएको छ ।

सम्भाव्यता अध्ययनअनुसार आयोजना सञ्चालनमा आएको साढे ५ वर्षमा साधारण लगानी फिर्ता गर्न सकिने कम्पनीले जनाएको छ । अहिले नै परियोजनाको खुद मूल्यांकन २३ अर्ब २४ करोड रुपैयाँ  छ । आगामी २०८७ पुस १७ मा बुढीगण्डकी अर्धजलाशययुक्त जलविद्युत् आयोजनाबाट व्यावसायिक रुपमा बिजुली उत्पादन गर्ने लक्ष्य लिएको छ ।

वित्तीय व्यवस्थापन कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेले नेपालमा केही हुँदैन भन्ने भाष्य सिर्जना गर्न खोज्नेहरूका लागि साहज ऊर्जा र यसले लगानी गरी निर्माण गरेका आयोजना गतिलो जवाफ भएको बताए । उनले विगतकै अनुभवका आधारमा यो आयोजना पनि समयमै निर्माण पूरा हुने अपेक्षा रहेको बताए ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले निजी क्षेत्रको क्षमता वृद्धि हुँदै यो स्तरको आयोजना विकास हुने आफैँमा खुसीको कुरा भएको बताए । उनले ५ वर्षभित्रै लगानी उठ्ने अनुमान गरिएको यो आयोजना आकर्षक भएकाले समयमै निर्माण सम्पन्न हुने अपेक्षा रहेको बताए ।

कार्यक्रममा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले निजी क्षेत्रलाई सरकारले सहजीकरण गर्ने काम मात्र गरे पनि ठूला आयोजनाहरू निर्माण गर्न सकिने बताए ।

लगानीकर्ता बैंकहरूका तर्फबाट सम्बोधन गर्दै नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेले साहस ऊर्जाले यसअघि ८६ मेगावाटको सोलु दूधकोशी समयमै निर्माण पूरा गरेर सञ्चालनमा ल्याएकोले यो नेतृत्वको अनुभव र काम गर्ने शैलीका कारण यो आयोजनामा लगानी गर्न बैंकहरू तयार भएको बताए ।

टाइम्स इनर्जीका अध्यक्ष हिमप्रसाद पाठकले आयोजनाको विषयमा विस्तृत जानकारी दिँदै निजी क्षेत्रको यति ठूलो आयोजनामा लागानी जुट्नु आफैँमा खुसी र गर्वको कुरा भएको बताए ।

सीमा तामाङ कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी जलविद्युत्, रियल स्टेट र आर्थिक बिटमा लेख्छिन् ।

Link copied successfully