मर्मतका लागि साउन ३१ देखि पेट्रोलियम पाइपलाइन बन्द गरिँदै

प्राविधिक समस्या देखिएपछि निरीक्षणमा आयो आईओसीको टोली, लोथरसम्म बन्ने पाइपलाइन र भण्डारण गृहको पनि अनुगमन

श्रावण २२, २०८२

राजु चौधरी

The petroleum pipeline is being shut down from July 31 for maintenance

What you should know

काठमाडौँ — औपचारिक उद्घाटन नहुँदै दोस्रो चरणअन्तर्गत बनेको पेट्रोलियम पाइपलाइन पूर्वाधारमा प्राविधिक समस्या आएपछि मर्मत गर्न साउन ३१ देखि पाइपलाइनबाट इन्धन आयात बन्द गरिने भएको छ । पाइपलाइन निरीक्षणमा आएका इन्डियन आयल कर्पोरेसन (आईओसी) को टोलीले इन्धनको प्रेसरले समस्या आएको बताएपछि पाइपलाइन मर्मत गरिने भएको हो ।

आईओसीका कार्यकारी निर्देशक मनोज शर्माको नेतृत्वमा निरीक्षणमा आएको टोलीले ‘लोडिङ बे’ र भल्भ खोलेरै मर्मत गर्नुपर्ने औंल्याएको छ । आईओसीका प्राविधिकले अगस्ट १४ र १५ बाट मर्मतको काम सुरु गर्नुपर्ने बताएका छन् । अगस्ट १६ (साउन ३१) देखि पाइपलाइन बन्द गरेर ‘लोडिङ बे’ र भल्भ मर्मत गर्ने जनाएका छन् ।

‘प्राविधिक समस्या देखिएपछि आईओसीको टोली निरीक्षणमा आएको हो । ढुवानीको काम नै रोकेर भए पनि अगस्ट १६ बाट मर्मत गर्ने छलफल भएको छ,’ अमलेखगन्जस्थित निगमका प्रादेशिक कार्यालय प्रमुख प्रलयंकर आचार्यले भने, ‘मर्मतमा गएपछि ७/८ दिन पाइपलाइनबाट ढुवानी बन्द हुन्छ । तर बजारमा इन्धन अभाव हुन दिँदैनौं ।’

निगम भन्छ, ‘४३ हजार किलोलिटर इन्धन मौज्दात गरेर पाइपलाइन मर्मत गर्छौं, यसले ७ दिनसम्म पुग्छ, बजारमा अभाव हुन दिन्नौं’

अमलेखगन्ज डिपोमा २५ हजार ५ सय किलोलिटर डिजेल र १७ हजार ५ सय किलोलिटर पेट्रोलसहित ४३ हजार किलोलिटर इन्धन भण्डारण गर्न सकिन्छ । औसतमा दिनको ३ हजारदेखि ३५ सय किलोलिटर बिक्री हुन्छ । ‘दिनको १७ देखि १८ सय किलोलिटर इन्धन बिक्री हुने गरेकामा अहिले घटेर ६/७ सय किलोलिटर मात्रै हुन्छ,’ उनले भने, ‘अहिलेको अवस्थामा पाइपलाइन बन्द भए पनि बजारमा इन्धनको समस्या हुँदैन ।’

स्थानीय बिक्रीका अतिरिक्त अमलेखगन्जबाट थानकोट, पोखरा, भैरहवा, विराटनगर र जनकपुर डिपोमा इन्धन पठाइन्छ । यी सबै डिपोमा पर्याप्त भण्डारण गरेर मात्रै पाइपलाइन मर्मत गरिने निगमको भनाइ छ । इन्धन भण्डारण हुने ट्यांकीबाट लोडिङ बे/टीएलएफ सेड बनेको ठाउँमा समस्या देखिएको हो । ट्यांकरमा इन्धन लोड गर्ने क्रममा भाइब्रेट हुने, अलाइनमेन्ट परिवर्तनदेखि पाइप नै बांगिएको जस्तो देखिने गरेको निगमको भनाइ छ । लोडिङ बेको पाइप करिब १० सीएम अगाडि सरेको जनाएको छ । निगमका अनुसार दोस्रो चरणअन्तर्गत बनेको पूर्वाधारमा निगमले १ अर्ब ५४ करोड र आईओसीले ७५ करोड भारु लगानी गरेको छ । निर्माणको काम भने आईओसीले गरेको थियो ।

अहिलेको समस्या दुई महिनाअघि पनि देखिएको थियो । पेट्रोल र डिजेल लोडिङका क्रममा समस्या देखिएपछि आईओसीका प्राविधिक आएर मर्मत गरेका थिए । पाइपलाइन ६ दिन बन्द गरिएको थियो । अहिले फेरि समस्या देखिएपछि बुधबार आईओसीको टोली निरीक्षण गर्न नेपाल आएको हो । आईओसीको टोलीले बुधबार अमलेखगन्जसम्म बन्ने पेट्रोलियम पाइपलाइन र भण्डारण गृहको पनि निरीक्षण गरेको थियो । बिहीबार भने अमलेखगन्जको पाइपलाइनमा देखिएको प्राविधिक समस्या पहिचान गरेको हो । आईओसीको टोली शुक्रबार भारत फर्किने कार्यक्रम रहेको निगमले जनाएको छ । त्यसपछि मर्मतका लागि प्राविधिक टोली आउनेछ ।

प्राविधिक समस्या देखिएकाले पाइपलाइनको निरीक्षण गर्न आईओसीको टोली आएको निगमका प्रवक्ता मनोज ठाकुरले जनाए । सँगसँगै लोथरमा बन्ने पाइपलाइन क्षेत्रको पनि अवलोकन गर्ने कार्य रहेको बताए । ‘लोथरमा बन्ने पाइपलाइन र भण्डारण गृहको डिजाइन बनिसकेको छ । काम पनि भटाभट भइराखेको छ । निर्माण आईओसीले नै गर्ने भएकाले फिल्ड निरीक्षण गर्नुभएको हो,’ ठाकुरले भने, ‘बिहीबार अमलेखगन्जको पाइपलाइनमा देखिएको प्राविधिक समस्या पहिचानको काम भएको छ । केही दिनका लागि आयात बन्द गरेर मर्मत गर्नुपर्ने भए पनि बजारमा आपूर्तिको समस्या रहँदैन ।’

लोथरमा बन्ने पाइपलाइन र भण्डारण गृहको प्रगति अवलोकन गर्न पनि आईओसीको टोली आएको निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले बताए । उनीहरूले पाइपलाइन प्रोजेक्टमा ढिलाइ गर्न नहुने बताएको भट्टको भनाइ छ ।

लोथरमा १४ अर्ब ९ करोड ६० लाख रुपैयाँ लागतमा पाइपलाइन र भण्डारणस्थल बनाउन लागिएको हो । पाइपलाइनको लागत ४ अर्ब २८ करोड ८० लाख रुपैयाँ र भण्डारण गृहको लागत ९ अर्ब ८० करोड ८० लाख रुपैयाँ छ । यसको निर्माणका लागि आईओसीले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारिसकेको छ । अमलेखगन्जदेखि लोथरसम्म पाइपलाइनसहितको पेट्रोलियम भण्डारण गृह बनाउने परियोजनाको फिल्ड कार्यालय उद्घाटन भइसकेको छ । ५४ महिनाभित्र पाइपलाइनसहित भण्डारणस्थलको काम सकिने परियोजना प्रमुख प्रदीपकुमार यादवले जनाए ।

राजु चौधरी चौधरी कान्तिपुरमा उद्योग, वाणिज्य तथा आपूर्ति एवं उपभोक्ता, कृषि तथा आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully