नेपाल सरकार र प्राधिकरणको ४ अर्ब ८६ करोड लागतको यो आयोजना सम्पन्न भएपछि बिजुली राष्ट्रिय प्रसारणमा जोडिनेछ ।
What you should know
गुल्मी — ठेक्काको म्याद सकिन केही दिन मात्रै बाँकी रहँदा बुर्तिबाङ–पौदी–अमराई–तम्घास–सन्धिखर्क–गोरुसिंगे १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजनाले बल्ल रुख कटान आदेश पाएको छ ।
आयोजनाअन्तर्गत गुल्मी खण्डको प्रसारण लाइनमा पर्ने ९ सय ४२ वटा रुख हटाउन डिभिजन वन कार्यालय गुल्मीले शनिबार मात्र कटान आदेश दिएको हो । २०७६ सालदेखि निर्माण सुरु भएको उक्त प्रसारण लाइन सम्पन्न गर्ने म्याद साउन २८ सम्म मात्र छ ।
आयोजनाका लागि संघीय मन्त्रिपरिषद्ले २०८१ असार १७ गते गुल्मी, अर्घाखाँची र बागलुङको राष्ट्रिय वन क्षेत्रको २५ दशमलव १३१२ हेक्टर जग्गा प्रयोग र १ हजार ७ सय ४८ वटा रुख/पोल हटाउन स्वीकृती दिने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम वन तथा भू संरक्षण विभाग र नेपाल विद्युत् प्राधिकरणबीच गत वर्ष माघ २० गते सम्झौता भएको थियो । मन्त्रिपरिषद्को निर्णय र सो सम्झौताबमोजिम अर्घाखाँची र बागलुङमा भने समयमै रुख हटाउने सहमति पाउँदा प्रसारण लाइन निर्माण सम्पन्न भएको छ ।
तर, डिभिजन वन कार्यालय गुल्मीले भने निर्णय कार्यान्वय प्रक्रियामा नलगी कटान आदेश नदिँदा काममा ढिलाइ भएको आयोजना प्रमुख मनोज कुमार चौधरीले बताए । ‘वनले धेरै ढिला गर्यो, ७/८ महिना त गुल्मीको डिभिजन वन कार्यालयले नै रोक्यो,’ आयोजना प्रमुख चौधरीले भने, ‘वनका कारण हामी एक वर्षदेखि केही काम गर्न पाएका छैनौं, आयोजनाको कर्मचारीले त्यतिकै तलब खाएर बसेका छन् ।’
आयोजनाका लागि गुल्मी खण्डमा ३ दशमलव ९४३८ हेक्टर वन क्षेत्र प्रयोग र ८८.४४ किलोमिटर लम्बाइको १८ मिटर चौडा 'राइट अफ वे' मा पर्ने ९ सय ४२ वटा रुख हटाउनुपर्नेछ । जुन रेसुंगा नगरपालिका-५ र ६, मुसिकोट नगरपालिकाको २ र ३ र इश्मा गाउँपालिका-३ को सार्वजनिक वन क्षेत्रमा पर्छ ।
नेपाल सरकार र प्राधिकरणको ४ अर्ब ८६ करोड लागतको उक्त आयोजना सम्पन्न भएपछि बिजुली राष्ट्रिय प्रसारणमा जोडिनुका साथै यस क्षेत्रको विद्युत आपूर्ति गुणस्तरीय हुनुका साथै प्राविधिक चुहावट पनि कम हुने जनाइएको छ । प्रसारण लाइनमा जोड्ने गरी बागलुङमा निजी क्षेत्रका ७ वटा जलविद्युत् आयोजनासँग १३० मेगावाटको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) गरिएको छ । तर प्रसारण लाइन निर्माणका लागि अवरोध गर्दा एकातिर जनताले बिजुली बाल्न नपाउने, अर्कोतिर उत्पादित बिजुली खेर जाने र प्राधिकरणले उल्टै ठेकदारलाई क्षतिपूर्ति तिर्नुपर्ने अवस्था आएको आयोजना प्रमुख चौधरीले बताए । ‘एकातिर जनताले बिजुली बाल्न पाएका छैनन्, हाम्रो बिजुली त्यतिकै खेर गइरहेको छ,’ उनले भने, ‘अर्कोतिर हामीले गत वर्ष मात्रै ठेकदार कम्पनीलाई साढे १६ करोड क्षतिपूर्ति तिरेका छौं ।’ आयोजनाको विभिन्न ६ खण्डको ठेक्का छुट्टाछुट्टै ६ कम्पनीले लिएका थिए ।
डिभिजन वन कार्यालयबाट निजी क्षेत्रबाट हुने निर्माणका लागि समयमै रुख कटान आदेश आउने आउने तर राष्ट्रिय सरोकारका निर्माण कार्यमा सरकारकै निकायले बेवास्ता गरेको प्राधिकरणको गुनासो छ ।
कतिपय आयोजनाका लागि यहाँका राजनीतिक दलहरू जोडतोडका साथ लागे पनि उक्त प्रसारण लाइनका लागि भने वास्ता नगरेको सरोकारवालाहरु बताउँछन् । ‘रेसुंगामा निर्माण हुन लागेको जिप लाइनका लागि रुख कटान आदेश समयमा नपाउँदा डिभिजन वन अधिकृत समेत सरुवा गरेर काम गरियो, तर राष्ट्रिय प्रसारण लाइन निर्माणका लागि राजनीतिक दलको पहल कम देखियो,’ गुल्मीका एक नागरिक अगुवा भन्छन् ।
प्रसारण लाइनअन्तर्गत ५ सबस्टेसनमध्ये कपिलवस्तुको मोतीपुर, अर्घाखाँचीको फुदवाङ, गुल्मीको उनायचौर, गुल्मीकै पौदीअमराई र बागलुङको बुर्तिबाङमा सम्पन्न भइसकेका छन् । मोतीपुर–सन्धिखर्क, सन्धिखर्क–तम्घास र बागलुङमा पर्ने खण्डमा प्रसारण लाइनको काम सम्पन्न भएको छ । गुल्मी खण्डमा ९६ वटा टावर गाड्ने काम सकिए पनि तार तान्ने काम रुख कटान अनुमति नपाउँदा रोकिएको थियो । प्राधिकरणले आयोजनाको म्याद नथपे पनि कात्तिक १५ सम्म सम्पन्न गर्न मौखिक सहमति दिएको चौधरीको भनाइ छ ।
