इन्टर मोडल यातायात विकास समितिले आह्वान गरेको टेन्डरमा प्रिस्टिन मेगाले अर्को भारतीय कम्पनी कोंकर कर्पोरेसन इन्डियासँग मुख्य प्रतिस्पर्धा गरेको थियो ।
What you should know
पर्सा — सिर्सिया सुक्खा बन्दरगाह सञ्चालनको जिम्मेवारी पुनः भारतीय कम्पनी प्रिस्टिन मेगा लजिस्टिक पार्कले पाएको छ । बिहीबारदेखि यो कम्पनीले थप ५ वर्षका लागि बन्दरगाह सञ्चालनको जिम्मेवारी पाएको हो । यसअघि यसै कम्पनीले नेपाली कम्पनी भ्याली टर्मिनल प्रालिसँग ज्वाइन्ट भेन्चरमा प्रिस्टिनन भ्याली कम्पनीका नामले ५ वर्ष यो बन्दरगाह सञ्चालन गरेको थियो ।
प्रिस्टिन मेगा कम्पनीका कन्ल्सन्टयान्ट/सल्लाहकार हेमेन्द्रमोहन शाहीका अनुसार इन्टर मोडल यातायात विकास समितिले आह्वान गरेको टेन्डरमा प्रिस्टिन मेगाले अर्को भारतीय कम्पनी कोंकर कर्पोरेसन इन्डियासँग मुख्य प्रतिस्पर्धा गरेको थियो । प्रिस्टिनले ४ अर्ब ७१ करोड रुपैयाँमा टेन्डर सकार गरेको हो । कोंकरले भने ४ अर्ब ५० करोड ९० लाख रुपैयाँमा बन्दरगाह सञ्चालन गर्ने घोषणा गरेको थियो । कोंकर भारतीय रेल्वेको भगिनी संस्था हो ।
सन् २००४ देखि सन्चालनमा आएको सिर्सिया सुक्खा बन्दरगाह नेपालको पहिलो र ठूलो सुक्खा बन्दरगाह पनि हो । ३८ हेक्टर क्षेत्रफलमा फैलिएको यो बन्दरगाहको अधिकतम क्षमता १ हजार ५ सय ८६ कन्टेनर हो । तर सधैं क्षमताभन्दा बढी कन्टेनर व्यवस्थापन गर्नुपर्ने दायित्वको कारण बन्दरगाह सन्चालक कम्पनीलाई समस्या हुँदै आएको छ । भारतीय रेल्वे सञ्जालसँग जोडिएको यो बन्दरगाहबाट भारतको कोलकाता, हल्दिया र विशाखापटनम बन्दरगाह हुँदै मालवस्तु आयात निर्यात हुने गर्छ । भारतबाटै पनि चिनी, रासायनिक मल, फलाम, कोइला आदि बस्तु आयात हुने गरेको छ ।
इन्टरमोडल यातायात विकास समितिले स्थापनाकालदेखि नै निजी क्षेत्रलाई यो बन्दरगाह सञ्चालन गर्ने जिम्मेवारी दिँदै आएको छ । पहिलो डेढ दशक यो बन्दरगाह हिमालयन टर्मिनल कम्पनीले सञ्चालन गरेको थियो । उक्त कम्पनी पनि भारतीय कम्पनी कोंकरकै रहेको थियो ।
बन्दरगाहमा स्थापनाकालदेखि छुट्टै भन्सार कार्यालय रहेकामा चालु आर्थिक वर्षको सुरुवातसँगै वीरगन्ज भन्सार कार्यालयमा सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालय गाभिएको छ । अब वीरगन्ज भन्सार कार्यालय मातहत नै यो बन्दरगाह रहनेछ ।
शाहीका अनुसार, ५ वर्षको अवधिमा प्रिस्टिन भ्यालीले यो बन्दरगाहमा ३ हजार ४ सय ७१ कन्टेनरबाहक रेल्वे र्याक, १ हजार १ सय ७१ बोरा बन्द कार्गो सामान बोक्ने बीसीएन र्याक, ५ सय ४९ फलाम बोक्ने बीआरएन र्याक र २ सय ७९ खुल्ला वस्तु बोक्ने लुज र्याक गरी कूल ५ हजार ४ सय ७० रेल्वे र्याक परिचालन गरेको छ ।
यस अवधिमा बन्दरगाहमा भारत तथा तेस्रो मुलुकबाट गरी ३ लाख ४ हजार २ सय ९५ मालबाहक कन्टेनर, २५ लाख ९६ हजार ८ सय ७ सय ७६ मेटन बोरा बन्द सामान, १३ लाख २ हजार १ सय ८ मेटन फलामजन्य बस्तु र १० लाख ३४ हजार ३ सय ३४ टन लुज कार्गो वस्तु आयात भएका छन् ।
वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम पुनः पुरानै कम्पनीले सुक्खा बन्दरगाह सञ्चालन गर्न पाउनु स्वागतयोग्य भए पनि उक्त कम्पनीले आफ्ना पुराना कमीकमजोरी सुधार गर्दै आयात निर्यातकर्तालाई थप गुणस्तरिय सेवा दिनमा ध्यान केन्द्रित गर्नुपर्ने बताए ।
