निगमको दमाम, मुम्बई र क्वालालमपुरका उडान रद्द, कम्तीमा ६ सय यात्रु अलपत्र 

सोमबार दमाम जानुपर्ने सय/सय हाराहारी र आउने यात्रुलाई प्राथमिकता नदिई हङकङमा रहेका ७५ यात्रुलाई लिन काठमाडौंबाट ७० यात्रु बोकेर निगमको न्यरोबडी विमान हङकङ पुगेको थियो ।

श्रावण २१, २०८२

सुरज कुँवर

Nigam's flights to Dammam, Mumbai and Kuala Lumpur have been cancelled, leaving at least 600 passengers stranded

What you should know

काठमाडौँ — नेपाल वायुसेवा निगमका दुइटा न्यरोबडी विमान एकपछि अर्को बिग्रिएका कारण सोमबारयता दमाम, मुम्बई र क्वालालमपुरका उडान रद्द भएका छन् । यी उडानबाट दुईतर्फी उडान गर्ने कम्तीमा ६ सय यात्रु अलपत्र परेको निगमका अधिकारीहरुले जनाएका छन् ।

बैंककबाट फर्केलगत्तै सोमबार निगमको सगरमाथा नामको न्यरोबडीमा इलेक्ट्रीकल समस्या देखिएपछि उक्त विमान दुई दिनपछि बुधबार उडानमा ल्याइएको छ । तर उक्त विमान काठमाडौंमा थन्किएका कारण सोमबार राति दमाम उड्नुपर्ने १ सय ४५ यात्रु यतै रोकिएका थिए । ‘सोमबारदेखि रोकिएका यात्रुलाई बुधबार राति साउदी अरबको दमाम लैजाँदै छौं,’ निगमको वाणिज्य विभागका एक अधिकारीले भने ।

हङकङबाट काठमाडौंमा अवतरण भएपछि बुधबार फेरि निगमको लुम्बिनी नामको अर्को न्यरोबडीको इन्जिनसँग सम्बन्धित खराबी आइलागेको छ । यो विमान बिग्रिएका कारण बुधबार दिउँसो भारतको मुम्बई जानुपर्ने ८७ जना काठमाडौंमा रोकिएका थिए भने ९२ जना काठमाडौंमा आउनुपर्ने यात्रु उतै रोकिएका थिए । ३५ जना जानैपर्ने यात्रुलाई निगमले अरु वायुसेवा तथा उडानबाट दिल्ली हुँदै बुधबार रातिसम्म पठाइसक्ने दाबी गरेको छ । यो रुटका बाँकी यात्रुलाई दुवैतर्फ निगमकै खर्चमा होटलमा राखिएको भनिएको छ ।

यसैबीच मंगलबार मलेसियाको राजधानी क्वालालमपुर जानुपर्ने यात्रु पनि निगमको उडान कटौती हुँदा दुवैतर्फ अलपत्र परेका छन् । ‘काठमाडौंबाट जाने १ सय २६ र नेपाल फर्किनुपर्ने १ सय ३५ यात्रु न्यरोबडी नउड्दा दुवैतर्फ रोकिएको खबर आएको छ,’ निगमका एक अर्का अधिकारीले भने । 

निगमले मंगलबारदेखि रोकिए र बिहीबारका समेत गरी सबै यात्रुका लागि भोली (बिहीबार) वाइडबडी विमान उडाउने जनाएको छ । निगमका प्रवक्ता मनोजकुमार साहले बिग्रिएको जहाजको स्पेयरपार्टस बिहीबार काठमाडौं आइपुगेपछि दुबै न्यरोबडी संचालनमा आउने दाबी गरे ।

सोमबार दमाम जानुपर्ने सय/सय हाराहारी र आउने यात्रुलाई प्राथमिकता नदिई हङकङमा रहेका ७५ यात्रुलाई लिन काठमाडौंबाट ७० यात्रु बोकेर निगमको न्यरोबडी विमान हङकङ पुगेको थियो ।

हङकङ नेपाल उडानको ४३ औं वर्षगाँठको अवसरमा त्यहाँ निगमका कार्यकारी अध्यक्ष, वाणिज्य विभागका निर्देशक टंकनिधि दाहाल र क्याप्टेन विजय लामा थिए । उनीहरुबाहेक बिदा मनाउन गएका अरु कर्मचारीहरु पनि रहेको उक्त उडानलाई रद्द गरेर दमामको उडानलाई प्राथमिकता नदिएको विषयको आलोचना भएको छ ।

यस विषय निगमका कार्यकारी अध्यक्ष अधिकारीले एक महिना पहिल्यै हङकङको कार्यक्रम तय भएको जनाउँदै त्यसदिन जहाज बिग्रिएका कारण दमामको उडान रद्द भएको दाबी गरे । ‘यात्रुका संख्याका हिसाबले दमाममा धेरै यात्रु देखिए पनि आम्दानीका हिसाबले हङकङको लोड दमामको भन्दा बढी थियो । अचानक जहाज बिग्रिएकाले कतै न कतैको उडान रद्द गर्नुपर्ने हुन्छ । बिग्रेको जहाज उडाउन त मिल्दैन,’ उनले भने । 

कार्यकारी अध्यक्ष अधिकारी सहितको टोली हिजो साँझ काठमाडौं आइपुगेको हो । उनले आफ्नो कार्यकाल सकिनै लाग्दा निगमका केही कर्मचारीहरुले बदनामी गराउन दबाब दिएर हङकङको उडानलाई निरन्तरता दिलाएको दमाम रद्द गराएको हल्ला फैलाएको दाबी गरे ।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully