चिनी उद्योग अगाडि उखु किसानको प्रदर्शन

सरकारले बजेटमा उखुको अनुदान कटौती गरेपछि किसानहरु आन्दोलित भएका छन् ।

श्रावण २०, २०८२

सन्तोष सिंह

Sugarcane farmers protest in front of the sugar industry

What you should know

महोत्तरी — उखुको अनुदान कटौती गरेको विरोधमा किसानहरुले चिनी उद्योग अगाडि प्रदर्शन गरेका छन् ।

उखु खेतीमा लगानी बढ्दै गएको समयमा सरकारले उखुको अनुदान कटौती गरेको विरोधमा मंगलबार महोत्तरीको गौशालास्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिज अगाडि किसानले टायर बालेर प्रदर्शन गरेका हुन् । 

उखु उत्पादक कृषक महासंघ महोत्तरीका अध्यक्ष नरेश सिंह कुशवाहाले उखु कृषकहरुले सरकारको निर्णयको सांकेतिक रुपमा विरोध गरेको बताए । राहत दिनु पर्ने समयमा सरकारले अनुदान कटौती गरेर किसानको भविष्यसँग खेलबाड गर्ने निर्णय सच्याएर उखुको अनुदानलाई निरन्तरता दिनु पर्ने माग आफूहरुको रहेको अध्यक्ष कुशवाहाले बताए । अध्यक्ष कुशवाहाले भने,‘भदौ ६ गतेसम्म माग पूरा नभए ८ देखि काठमाडौंमा धर्ना बस्न बाध्य हुन्छौं ।’ सरकारले अनुदान कट्टा गर्नु सरासर किसानमाथि अन्याय भएको कुशवाहाले बताए ।

सरकारले बजेटमा उखुको अनुदान कटौती गरेपछि किसानहरु आन्दोलित भएका छन् । प्रतिक्वीन्टल ७० रुपैयाँका दरले नेपाल सरकारबाट किसानले पाउँदै आएको अनुदान कटौतीको विरोधमा उखु कृषक आन्दोलित भएका हुन् । 

उखु उत्पादक महासंघका केन्द्रीय सदस्य महाशंकर थिङले उखु कृषकहरुले मंगलबार सांकेतिक रुपमा चिनी उद्योग भएका जिल्लाहरुमा सरकारको निर्णयविरुद्ध टायर बालेर आन्दोलन थालिएको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै लोसपाका नेता देवनरायण महतोले किसानले समयमा र सहुलियत तरिकाले मल र भुक्तानी गर्न नसक्ने सरकारले अनुदान कटौती गर्नु लज्जास्पद भएको बताए । 

कृषि कार्यालय र शाखाहरुले किसानलाई कुनै सहुलियत उपलब्ध गर्न नसकेको महतोले आरोप लगाए ।

आर्थिक वर्ष २०८१/०८२ को उखुको अनुदान रकम प्रतिक्वीन्टल ७० को दरले हुने रकम करिब १ अर्ब ६० करोड रुपैयाँ नेपाल सरकारले भुक्तानी नगरेको र आर्थिक वर्ष २०८२/०८३ को बजेटमा सम्बोधनसमेत नगरेपछि संघर्षका कार्यक्रम घोषण गरिएको छ ।

नेपाल उखु उत्पादक महासंघको २०८२ साउन १२ गते सोमबार उखु उत्पादक संघ सर्लाही हरिवनमा बसेको बैठकले उखु किसानहरुलाई उखु खेतीमा प्रोत्साहन गर्न माग गरेको छ । 

सन्तोष सिंह कान्तिपुरका महोत्तरी संवाददाता हुन् ।

Link copied successfully