तीन दिनमा डेढ सय अंक घट्यो नेप्से, फेरि २९ सय मुनि

साउन १ मा नेप्से परिसूचक २ हजार ८ सय ७० बिन्दुमा थियो । त्यसयता उकालो लागेको नेप्से तीन हजार माथि पुगे पनि त्यसपछि सेयर बजारको वृद्धिले निरन्तरता पाउन सकेन ।

श्रावण १९, २०८२

कान्तिपुर संवाददाता

NEPSE dropped by one and a half hundred points in three days, again below 2900

What you should know

काठमाडौँ — पछिल्ला तीन कारोबार दिनमा नेप्से परिसूचक करिब डेढ सय अंक (१४३ अंक) ले घटेको छ । गत मंगलबार ३ हजारभन्दा माथि उक्लेर बन्द भएको नेप्से आइतबारसम्म आइपुग्दा २ हजार ८ सय ५८.९० बिन्दुमा ओर्लेको छ । यो यही साउन १ कै अवस्था हो । 

साउन १ मा नेप्से परिसूचक २ हजार ८ सय ७० बिन्दुमा थियो । त्यसयता उकालो लागेको नेप्से तीन हजार माथि पुगे पनि त्यसपछि सेयर बजारको वृद्धिले निरन्तरता पाउन सकेन ।

यसकारण नेप्से उच्च अंकले घट्न थाल्यो । परिणाम पछिल्लो तीन दिनमा नेप्से करिब डेढ सय अंक घट्दा नेप्से फेरि २९ सय मुनि ओर्लेको हो । यो अवधिमा बैंक तथा वित्तीय संस्था र बिमा क्षेत्रका कम्पनी आबद्ध उपसमूहको परिसूचक उच्च अंकले घट्दा समग्र नेप्सेमा गिरावटको चर्को दबाब परेको हो । 

यद्यपि यो साताको पहिलो कारोबार दिन आइतबार पनि नेप्से झन्डै ६४ अंकले घटेको छ । गत बुधबारयता ओरालो लागेको नेप्सेले आइतबार पनि सोही प्रवृत्ति पछ्याएको हो । गत बुधबार नेप्से ४७.९३ र बिहीबार ३१.५० अंकले घटेको थियो । नेप्से २.१८ प्रतिशतले घट्दा आइतबार २८ सय ५८ दशमलव ९० बिन्दुमा ओर्लिएको हो ।

सो दिन कारोबारमा आएका मध्ये १६ कम्पनीको सेयर मूल्य बढ्दा २ सय ३३ कम्पनीको मूल्य घट्यो । कुल १ लाख ५२ हजार ५ सय १८ पटकको किनबेचबाट कुल ३ करोड २२ लाख ६० हजार ३ सय ४१ कित्ता सेयर खरिद–बिक्री भए । गत बिहीबारको तुलनामा कारोबार रकम घटेको छ । गत बिहीबार १५ अर्ब ९८ करोड रुपैयाँ कारोबार भएकामा आइतबार १३ अर्ब ७ करोड ५० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आइतबार कारोबारमा आएका १३ वटै उपसमूह घटे । घट्ने उपसमूहहरूमा जीवन बिमा, निर्जीवन बिमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, विकास बैंकलगायत रह्यो । जीवन बिमा २९७.९४, निर्जीवन बिमा २२९.५३, उत्पादन तथा प्रशोधन १९४.९१, लघुवित्तको १६७.१२, विकास बैंकको १०४.८२ अंकले घटेको नेप्सेको तथ्यांक छ । 

ट्रेड टावर र शिव श्री हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । थ्री स्टार हाइड्रोपावरको ४.५५, नारायणी विकास बैंकको ३.८६ र लुम्बिनी विकास बैंकको २.५० प्रतिशतले सेयर मूल्य बढेको छ ।

सान्भी इनर्जीको सेयर मूल्य ९.९९ र समता घरेलु लघुवित्तको ९.९६ प्रतिशतले घटेको छ । ग्रिन भेन्चर्सको ५.७७, सिक्लेस हाइड्रोपावरको ५.५८ र उन्नति सहकार्य लघुवित्तको ५.५२ प्रतिशतले सेयर मूल्य घटेको छ ।

कारोबार रकमका आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनी, हिमालयन रिइन्स्योरेन्स, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट र ङादी ग्रुप पावर अघि छन् । नेपाल रिइन्स्योरेन्स कम्पनीको ७५ करोड ३९ लाख, हिमालयन रिइन्स्योरेन्सको ७१ करोड ५५ लाख, हिमालयन डिस्टिलरीको ५८ करोड ८२ लाख, शिवम् सिमेन्टको ५५ करोड २ लाख र ङादी ग्रुप पावरको ४२ करोड ५५ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

नेप्से घट्दा सेयर बजारको आकार (कुल बजार पुँजीकरण) १ खर्ब ४ अर्ब ९० करोड ७९ लाख रुपैयाँले घटेको छ । गत बिहीबार ४८ खर्ब ७६ अर्ब ९० करोड ८९ लाख रुपैयाँ रहेको कुल बजार पुँजीकरण आइतबार ४७ खर्ब ७२ अर्ब ९ लाख रुपैयाँ कायम भएको छ ।

सेयर कारोबार कुन क्षेत्रको कति ?

हाइड्रोपावर : ४ अर्ब २८ करोड ६७ लाख

अन्य : १ अर्ब ६५ करोड ६९ लाख

उत्पादन तथा प्रशोधन :  १ अर्ब ३८ करोड १९ लाख

विकास बैंक : १ अर्ब २० करोड ५२ लाख

लघुवित्त : १ अर्ब १२ करोड ६२ लाख

बैंकिङ : १ अर्ब ८ करोड ९५ लाख

लगानी : ५४ करोड ४३ लाख

फाइनान्स : ५० करोड ८३ लाख

जीवन बिमा : ४८ करोड ७ लाख

होटल तथा पर्यटन : ३१ करोड ५७ लाख

निर्जीवन बिमा : २१ करोड ८६ लाख

संस्थापक सेयर : १२ करोड ९७ लाख

सामूहिक लगानी कोष : ९ करोड ५६ लाख

व्यापार : ३ करोड १९ लाख

ऋणपत्र : ३२ लाख ३९ हजार

कान्तिपुर

Link copied successfully