संस्थापक र सर्वसाधारण सेयरलाई छुट्टाछुट्टै आइजिन अन्तर्राष्ट्रिय अभ्यास विपरीत

इप्पानले दोहोरो आइजिनको व्यवस्था खारेजीको माग गर्दै अर्थमन्त्री, संसद्को अर्थ समिति, सेबोन र सीडीएससीसहित ४ निकायको ध्यानाकर्षण पनि गराएको छ । प्रस्तावित व्यवस्थाले एक खर्ब २८ अर्बको संस्थापक सेयर बन्धक हुने इप्पानले जनाएको छ ।

श्रावण १९, २०८२

यज्ञ बञ्जाडे

Contrary to international practice, founders and ordinary shares are separated separately

What you should know

काठमाडौँ — सीडीएस एन्ड क्लियरिङ (सीडीएससी) ले गर्न लागेको संस्थापक र सर्वसाधारण सेयरलाई छुट्टाछुट्टै राख्ने प्रस्तावित व्यवस्था अन्तर्राष्ट्रिय नीति र अभ्यासविपरीत रहेको भन्दै संस्थापक सेयरधनी र निजी क्षेत्रका संघसंस्थाले विरोध गरेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान), चेम्बर अफ कमर्शलगायत निकायले यसको संस्थागत रूपमै विरोध गरेका छन् । 

 अन्तर्राष्ट्रिय अभ्यासविपरीत भएको र संस्थापक लगानीकर्तालाई लगानी विस्तारमा अवरोध सिर्जना हुने भन्दै प्रस्तावित व्यवस्थाले नेपालमा लगानी वातावरण थप बिग्रिने उनीहरूको दाबी छ । इप्पानले दोहोरो आइजिनको व्यवस्था खारेजीको माग गर्दै अर्थमन्त्री, संसद्को अर्थ समिति, सेबोन र सीडीएससीसहित ४ निकायको ध्यानाकर्षण पनि गराएको छ । प्रस्तावित व्यवस्थाले एक खर्ब २८ अर्बको संस्थापक सेयर बन्धक हुने इप्पानले जनाएको छ ।

सीडीएससीले प्रस्ताव गरेको दोहोरो इन्टरनेसनल सेक्युरिटिज आइडेन्टिफिकेसन नम्बर (आइजिन) सम्बन्धी व्यवस्था धेरै राष्ट्रमा भने पाइँदैन । दक्षिण एसियाली देश भारत, बंगलादेश, पाकिस्तान, भुटान, श्रीलंका, माल्दिभ्स, अफगानिस्तानलगायत देशमा एउटै आइजिन रहेको देखिन्छ । तर इक्विटीभन्दा फरक प्रकारका सेयर भएको अवस्थामा भने केही देशमा छुट्याएको पाइन्छ ।

यसअनुसार श्रीलंकामा कन्भर्टिबल/डिबेन्चरको हकमा छुट्याइन्छ । भारतमा एकै प्रकारको सेयरका लागि एउटै आइजिन हुन्छ, चाहे त्यो संस्थापक होस् या सार्वजनिक । संस्थापक सेयरमा लकइन अवधि हुन्छ तर फरक आइजिन हुँदैन । तर, कन्भर्टिबल डिबेन्चर, अग्राधिकार सेयर वा अलग वर्गको सेयर भए आइजिन फरक हुन्छ । 

चीनमा विगतमा कारोबारका लागि संस्थापक र सर्वसाधारण सेयरबीच फरक–फरक सीमा थिए । तर, त्यसमा पनि फरक आइजिन हुँदैनथ्यो । अहिले सबै सेयर कारोबारयोग्य रहेकाले एउटै आइजिन प्रयोग हुँदै आएको छ । अमेरिकामा आइजिन प्रयोग गरिँदैन । त्यसको साटो सीयूएसआईपी नम्बर प्रचलित छ । त्यहाँ संस्थापक र साधारण लगानीकर्ताबीचको अन्तर कम्पनीको आन्तरिक ‘लकइन’ वा कारोबारमा रोक्का राखेर गरिन्छ ।

यद्यपि नेपालको सेयर बजार स्थापनाको तीन दशकसम्म पनि शिशु अवस्थामै रहेको, अत्यावश्यक पूर्वाधार पनि निर्माण हुन नसकिरहेको, निष्पक्ष र पारदर्शी रूपमा नियामक निकायको नेतृत्व चयन हुन नसकेको सन्दर्भमा नेपालको पुँजी बजारलाई अन्तर्राष्ट्रिय बजारसँग तुलना गर्न नहुने कतिपयको धारणा छ । सीडीएसले हालै जारी गरेको निर्देशिकामा उनीहरूको समर्थन देखिएको छ ।

सीडीएससीद्वारा हालै जारी ‘धितोपत्र अभौतिकीकरण कार्य सञ्चालन निर्देशिका २०८२’ मा प्रस्तावित दोहोरो आइजिनसम्बन्धी व्यवस्था अव्यावहारिक, लगानी प्रतिकूल र सेयर बजारमै अनिश्चितता पैदा गराउने खालको रहेको नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालले बताए ।

Contrary to international practice, founders and ordinary shares are separated separately

‘सीडीएससीले अभौतिकीकृत धितोपत्रहरूलाई संस्थापक र सर्वसाधारणका लागि फरक आइजिन नम्बर प्रदान गर्ने तथा लकिङ पिरियडपछि संस्थापक सेयर स्वतः सर्वसाधारणमा परिणत नहुने व्यवस्था उचित होइन,’ उनले भने, ‘सो व्यवस्था लागू भए नेपालको सेयर बजारमा दीर्घकालीन असर पर्छ । लगानीकर्ताको भरोसा कमजोर हुन्छ । विशेषतः ऊर्जा क्षेत्र, सिमेन्ट, होटल, उत्पादनमूलक उद्योग, मिडियालगायत क्षेत्रमा नकारात्मक प्रभाव पार्छ ।’

प्रस्तावित व्यवस्था अन्तर्राष्ट्रिय मान्यता र स्थापित अभ्यासविपरीत भएको पनि अग्रवालले जनाए । ‘यो निर्देशिका लगानीकर्ताको हितविरुद्ध छ । नेपालको परिपक्व नबनेको पुँजी बजारमा यस्ता व्यवस्थाले लगानीको वातावरणमा अन्योलता र असुरक्षा थप्नेछ,’ अग्रवालले भने ।

जलविद्युत् उत्पादक, संस्थापक लगानीकर्तालगायत निजी क्षेत्रका छाता संगठनले प्रस्तावित व्यवस्था ठीक नभएको दाबी गर्दै आएका छन् । उक्त व्यवस्था ऊर्जा, मिडिया, सिमेन्टलगायत क्षेत्रका संस्थागत लगानीकर्ताका लागि प्रतिकूल मात्र नभई समग्र पुँजी बजारको हितमा नभएको इप्पानका उपाध्यक्ष उत्तमकुमार भ्लोनको दाबी छ । 

‘सीडीएससीले कम्पनीहरूको अभौतिकीकरण भएका सेयर दर्ता गर्ने सम्बन्धमा गरेको पछिल्लो निर्णयले ऊर्जा, मिडिया, सिमेन्टलगायत ५८ उद्योगका ८७ अर्ब बराबरका ८७ करोड सेयरमा असर पार्छ,’ भ्लोनले भने, ‘प्रस्तावित व्यवस्थाले ऊर्जा क्षेत्रका मात्र ४७ आयोजनाका ५३ अर्ब बराबरका ५३ करोड सेयर प्रभावित हुनुका साथै ४१ अर्ब बराबरको सेयर जारी गर्न आवेदन दिएका ३७ कम्पनीको लगानीमा समेत नकारात्मक असर पार्ने निश्चित छ ।’ 

यद्यपि ऊर्जा क्षेत्रका लागि सरकारले अघि सारेको १० वर्षभित्र २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसमेत असम्भव बन्ने भ्लोनको भनाइ छ । ‘लामो समयदेखि सेयर अभौतिकीकरण प्रक्रिया रोकेर सीडीएससीले अन्ततः सबै कम्पनीको संस्थापक र सर्वसाधारणतर्फ जारी भएको सेयर छुट्टाछुट्टै आइजिन जारी गर्न निर्देशिका धितोपत्र बोर्डमा पठायो । यो ठीक भएन,’ उनी थप्छन्, ‘केही वर्षदेखि सीडीएससीले सेयरको अभौतिकीकरण प्रक्रिया रोकेको अवस्थामै अहिले निर्देशिका ल्याएर संस्थापक सेयरमा स्वतः रूपान्तरण रोकिने तथा वर्गीकरणमा अलग–अलग आईएसआईएन नम्बरको व्यवस्था गर्ने निर्णयले बजारमा विश्वासको संकट सिर्जना गरेको छ ।’

उल्लिखित विषयमा नेपाल चेम्बर अफ कमर्शले पनि विज्ञप्ति निकालेर प्रस्तावित व्यवस्थाले लगानी वातावरण बिगार्ने दाबी गरेको छ । नेपालमा सेयर बजार अझै पनि लगानीमैत्री बन्न सकेको अवस्था छैन । यस्तोमा सीडीएससी जस्तो संस्थाले आफैंले बनाएका पुराना मापदण्ड उल्ट्याउँदै नयाँ व्यवस्था ल्याउँदा बजारमा नकारात्मक मनोविज्ञान उत्पन्न भएको चेम्बरको भनाइ छ । यो प्रस्ताव कार्यान्वयन भए नेपालको पुँजी बजारमा लागू भइरहेको प्रचलित कानुन, अन्तर्राष्ट्रिय मान्यता र स्थापित अभ्यासविपरीतको कार्य भई नेपालको पुँजी बजारमा दीर्घकालीन प्रभाव पार्ने इप्पानको विज्ञप्तिमा उल्लेख छ ।

सीडीएससीले भने प्रस्तावित निर्देशिका लागू भएपछि पुँजी बजारका धेरै विकृति समाधान हुने दाबी गरेको छ । ‘यो निर्देशिकाले बजारमा विश्वसनीयता, तथ्यांक व्यवस्थापन, तथ्यांकीय अभिलेखीकरणलगायतमा ठूलो मद्दत पुग्छ,’ सीडीएससीकी प्रबन्ध सञ्चालक प्रविन पन्दाकले भनिन्, ‘कानुनले अनुमति दिए पनि सीडीएससी स्थापनाको १५ वर्षसम्म पनि बनाउन नसकेको निर्देशिका अहिले बनेको छ । यसले पुँजी बजारलाई थप विश्वसनीय बनाउनेछ ।’

संस्थापक र सर्वसाधारणको छुट्टाछुट्टै आइजिन हुँदा कुनै असर सेयर मूल्य अथवा भविष्यमा सर्वसाधारणमा परिणत गर्ने बेला कुनै असर नपर्ने राष्ट्रिय वाणिज्य मर्चेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुर्‍यालले बताए । 

‘बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरूको हकमा सम्बन्धित ऐनमै लकइन अवधि सकिएपछि पनि संस्थापक सेयर स्वतः सर्वसाधारणमा परिणत हुन नसक्ने, नियामक निकायको विशेष अनुमति चाहिनेलगायत व्यवस्था छ । यसकारण लकइन अवधि सकिएपछि पनि संस्थापक सेयरको पछि ‘पी’ राखिन्छ,’ प्याकुर्‍यालले भने, ‘बैंक तथा वित्तीय संस्था र बिमाबाहेक क्षेत्रका कम्पनीका लागि त्यो अवस्था होइन । किनकि यी कम्पनीको हकमा सम्बन्धित कानुनमै ‘लकइन’ अवधि सकिएपछि सर्वसाधारणमा परिणत हुन पाउने व्यवस्था छ । यसकारण नियामक निकायले पनि लकइन अवधि संस्थापक सेयर संर्वसाधारणमा परिणत गर्न नदिने भन्ने हुँदैन ।’

लकइन अवधिसम्मका लागि मात्र संस्थापक र सर्वसाधारण सेयर छुट्याउन सीडीएसले दुई वटा आइजिनको व्यवस्था गर्न लागेकाले सरोकारवाला आत्तिहाल्नुपर्ने अवस्था नरहेको उनले बताए । ‘अहिले एउटै आइजिनमा संस्थापक र सर्वसाधारण सेयर राख्दा लकइन अवधिमा पनि राखिन्छ, कम्पनीबाट बोनस सेयर आयो भने त्यो लकइन बाहिरै बस्छ । यस्तो अवस्थामा कतिपयले जानेर हो वा नजानेर हो सेयर बिक्री गरिदिए,’ उनले थपे, ‘बजारमा देखिएका यस्ता विकृति रोक्न सीडीएससीले दुई वटा आइजिनको व्यवस्था गरेको होला । यसमा कोही आत्तिहाल्नुपर्दैन ।’

दोहोरो आइजिनसम्बन्धी व्यवस्था सीडीएससीको अत्यन्त प्राविधिक र तथ्यांक अभिलेखीकरणसम्बन्धी विषय मात्र भए पनि बाहिर सैद्धान्तिक रूपमै नीति परिवर्तन गर्न लागेको जसरी चर्चा भएको नेपाल स्टक ब्रोकर्स एसोसिएसनका पूर्वअध्यक्ष प्रियराज रेग्मीले बताए । ‘सीडीएससीले तीन वर्षका लागि मात्र संस्थापक र सर्वसाधारण सेयर छुट्टाछुट्टै राख्ने र त्यसपछि सामान्य प्रक्रिया पूरा गरेर संस्थापक सेयर पनि सर्वसाधारणमा परिणत गर्ने हुन पाउने व्यवस्था हो भने कोही पनि आत्तिनुपर्ने अवस्था होइन,’ उनले भने । 

के हो आइजिन ?

आइजिन भौतिक सेयरलाई विद्युतीय माध्यममा परिणत गरिएको (अभौतीकृत) सेयर व्यवस्थापनका लागि दिइने एउटा नम्बर हो । सीडीएससीबाट सेयर अभौतिकीकरणसम्बन्धी कार्यसञ्चालन निर्देशिका गत सोमबार स्वीकृतिका लागि आएको धितोपत्र बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले बताए । ‘सीडीएससीबाट तयार पारेको निर्देशिका बोर्डले स्वीकृत गर्नुपर्छ, त्यसका लागि मस्यौदा प्राप्त भएको छ,’ उनले भने, ‘बोर्डले अध्ययन गरेर आवश्यक प्रक्रिया अघि बढाउँछ ।’ निर्देशिका अध्ययनकै क्रममा रहेकाले अहिल्यै त्यस विषयमा धेरै कुरा भन्न नसकिने उनको भनाइ छ ।

निर्देशिकामा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीको जस्तै अरू सबै क्षेत्रका कम्पनीका लागि पनि संस्थापक र सर्वसाधारण सेयरलाई छुट्याएर फरक–फरक आइजिन दिने व्यवस्था प्रस्ताव गरिएको छ । निर्देशिकाअनुसार कम्पनीहरूले अभौतिकृत (विद्युतीय माध्यममा परिणत भएको) धितोपत्र आफ्नो प्रबन्धपत्र तथा नियमावलीमा भएअनुसार नै संस्थापक र सर्वसाधारण गरी दुई समूहमा वर्गीकरण गर्नुपर्नेछ ।

कम्पनीहरूको संस्थापक सेयरका लागि तीन वर्ष ‘लकइन’ अवधि रहन्छ । उक्त अवधिमा त्यस्तो समूहको सेयर बिक्री गर्न पाइँदैन । उल्लिखित क्षेत्रका कम्पनीको हकमा ‘लकइन’ अवधि सकिएपछि पनि संस्थापक सेयर सर्वसाधारणमा परिणत गर्न सम्बन्धित नियामक निकायको अनुमतिलगायत प्रक्रिया पूरा गर्नुपर्छ ।

तर अहिले जलविद्युत्, लगानी, उत्पादन तथा प्रशोधनलगायत क्षेत्रका (बैंक तथा वित्तीय संस्था र बिमाबाहेक) कम्पनीका लागि एउटै आइजिन दिइन्छ । एउटै आइजिनमा संस्थापक र सर्वसाधारण सेयर राखिँदै आएको छ । कम्पनीहरूले आईपीओ बाँडफाँटपछि तीन वर्षसम्म (लकइन पिरियड) संस्थापक सेयर बिक्री गर्न पाउँदैनन् ।

एउटै आइजिनमा रहँदा पनि ‘लकइन’ अवधिभर संस्थापक सेयर रोक्का राखिएको हुन्छ भने सर्वसाधारण सेयर मात्र कारोबार हुन्छ । तीन वर्ष पूरा भएको राति १२ बजेपछि संस्थापक सेयर स्वतः सर्वसाधारणमा परिणत भएर एउटै मूल्यमा बजारमा किनबेच खुला हुन्छ ।

यज्ञ बञ्जाडे कान्तिपुरका पत्रकार हुन् । उनी सरकारी वित्त, बैंकिङ, पुँजीबजार लगायतका आर्थिक विषयमा समाचार/टिप्पणी लेख्छन् ।

Link copied successfully