नेपाल चेम्बर र श्रीलंका चेम्बरबीच रणनीतिक साझेदारीको सम्झौता

साना तथा मझौला उद्यमका लागि द्विपक्षीय व्यापार सहजीकरण तथा लगानी प्रवर्द्धन गर्न सम्झौता भएको छ।

श्रावण १८, २०८२

कान्तिपुर संवाददाता

Strategic partnership agreement between Nepal Chamber and Sri Lanka Chamber

काठमाडौँ — श्रीलंकास्थित नेपाली राजदूतावासको समन्वयमा नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र श्रीलंकन चेम्बर अफ स्मल एन्ड मिडियम इन्टरप्राइजेज  (एसएलसीएसएमआई) बीच साना तथा मझौला उद्यम प्रवर्द्धन, व्यापार तथा लगानी अभिवृद्धिका लागि रणनीतिक साझेदारीको सम्झौता भएको छ । 

श्रीलंकाका लागि नेपाली राजदूत डा. पूर्णबहादुर नेपालीको उपस्थितिमा सम्झौता पत्रमा एनसीसीका तर्फबाट अध्यक्ष कमलेशकुमार अग्रवाल र एसएलसीएसएमआईका तर्फबाट अध्यक्ष रोहन डी शिल्भाले हस्ताक्षर गरे ।

दुई संस्थाबीच साना तथा मझौला उद्यमहरुको प्रवर्द्धन, दुईदेशीय व्यापार एवं लगानीको अवसर तथा नेपाल श्रीलङकाको निजी क्षेत्रबीच व्यापार सहजीकरण गर्ने विषयमा सम्झौता भएको चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 

साना तथा मझौला उद्यममा एक अर्काको देशमा भएका अभ्यास, नीतिगत व्यवस्था, क्षमता अभिवृद्धि कार्यक्रम,  प्रशिक्षण, कार्यशाला गोष्ठीजस्ता विषयमा सहकार्य गर्ने विषयमा सम्झौतामा हस्ताक्षर भएको हो । दुवै देशका चेम्बर प्रतिनिधिहरूबीच द्विपक्षीय भेटवार्ता, साना तथा मझौला उद्यममा द्विपक्षीय लगानी जस्ता विषयमा पनि सहकार्य हुने जनाएको छ । 

साना तथा मझौला उद्यमीहरूद्वारा उत्पादित बस्तुहरुको एक अर्काका देशमा प्रर्दशनी एवं व्यापार अभिवृद्धि गर्नका लागि नेपाल चेम्बर अफ कमर्स एनसीसी र एसएलसीएसएमआईका तर्फबाट समन्वय गरिने विषय सम्झौतामा उल्लेख छ । 

द्विपक्षीय व्यापार सहजीकरण, प्रविधि हस्तान्तरण, साना तथा मझौला उद्योगको सम्भावना सम्बन्धमा संयुक्त खोज तथा अनुसन्धान गरिने चेम्बरले जनाएको छ ।  

खासगरी नेपाल र श्रीलंकामा साना तथा मझौला उद्यमको प्रर्वद्धन गर्नका लागि दुई देशका चेम्बरबीच रणनीतिक साझेदारीको सम्झौता भएको चेम्बरद्वारा जारी विज्ञप्तिमा जनाएको छ । 

कान्तिपुर

Link copied successfully