वैदेशिक रोजगारीमा जाने श्रमिकको म्यादी जीवन बिमा हटाउने तयारी

श्रम मन्त्रालयले वैदेशिक रोजगार ऐन–२०६४ लाई संशोधन गर्न बनाएको विधेयकमा जीवन बिमालाई हटाउने प्रस्ताव गरेको छ ।

श्रावण १६, २०८२

होम कार्की

Preparation to remove term life insurance for workers going to foreign employment

What you should know

काठमाडौँ — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको बिमालाई एकद्वार बनाउन भन्दै म्यादी जीवन बिमा गर्नुपर्ने प्रावधानलाई हटाउने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार ऐन–२०६४ लाई संशोधन गर्न बनाएको विधेयकमा जीवन बिमालाई हटाउने प्रस्ताव गरेको छ ।

श्रम मन्त्रालयले यो विधेयकलाई अन्तरिम रूप दिई कानुन मन्त्रालयमा पठाउने तयारी गरेको हो । मन्त्रालयले राखेको यो संशोधन पारित भएमा श्रमिकले प्रत्येक दुई–दुई वर्षमा जीवन बिमा गर्नुपर्ने बाध्यकारी व्यवस्था हट्नेछ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रमिकले पाउने कल्याणकारी सेवा र राहत रकम नघट्ने गरी बिमाको व्यवस्थालाई एकद्वार प्रणालीमा लैजान लागेको बताए । ‘वैदेशिक रोजगारमा जाने श्रमिकले कल्याणकारी सेवाका लागि अलग अलग रूपमा रकम तिर्नुपरेको छ । यसलाई व्यवस्थित बनाई बिमाबाट पाउने सुविधालाई कल्याणकारी कोषबाटै थप गर्न लागिएको हो,’ उनले भने, ‘एकद्वार प्रणालीमा लैजाँदा श्रमिकको रकम पूर्ण उपयोग गर्न सकिनेछ । यो रकम श्रमिकको हितमा उपयोग गर्न सकिनेछ ।’ 

अहिले श्रमिकले श्रम स्वीकृति र पुनः श्रम स्वीकृति लिन म्यादी जीवन बिमा उमेरका आधारमा तीन हजार पाँच सयदेखि ५ हजार ५ सय रुपैयाँ बुझाउनुपर्छ । श्रमिकको कल्याणकारी कोषका लागि एक हजार पाँच सयदेखि दुई हजार पाँच सय रुपैयाँ र सामाजिक सुरक्षा कोषका लागि मासिक दुई हजार रुपैयाँ जम्मा गर्नुपर्छ ।

जीवन बिमाबापत भने श्रमिकले दुई वर्ष ६ महिनाका लागि रकम बुझाउनुपर्छ । तर, दुईवर्षे करारपत्र समाप्त हुनेबित्तिकै फेरि पुनः श्रम स्वीकृति गर्ने बेला दुई वर्ष ६ महिनाको शुल्क बुझाउनुपर्छ । यसरी एक जना श्रमिकले करारपत्र नवीकरण गर्ने बेला हरेक दुई वर्षमा ६ महिनाको बढी शुल्क तिर्नुपरिरहेको छ । यो बिमालाई हटाउन ट्रेड युनियन र गैरआवासीय नेपाली संघले सरकारलाई दबाब दिँदै आएका छन् ।

श्रम स्वीकृतिको अवधिभित्र श्रमिकको मृत्यु भएमा जीवन बिमाबापत १४ लाख रुपैयाँ राहत रकम पाउने व्यवस्था छ । यसका लागि श्रमिकले ३ हजार ९ सय मात्रै शुल्क बुझाएको हुन्छ । तर, कल्याणकारी कोषमा १ हजार ५ सय रुपैयाँ तिरेको श्रमिकले १० लाख रुपैयाँ राहत रकम, मृतकका सन्तानलाई १२ कक्षासम्म छात्रवृत्ति, त्रिभुवन विमानस्थलदेखि घरसम्म शव ढुवानी र घाइतेको उपचार तथा परिवारको उपचार खर्च व्यहोर्दै आएको छ । 

वैदेशिक रोजगार बोर्डका अनुसार गत वर्षमा मात्रै १ हजार १ सय जना मृतकका परिवारलाई क्षतिपूर्ति दिइएको थियो । १ हजार १८० जना मृतकको शवलाई घरसम्म पुर्‍याइएको थियो । ६ सय ९८ जना घाइते तथा अंगभंग श्रमिकको उपचार गरिएको थियो । विदेशमा अलपत्र परेका ७० वटा शवलाई बोर्डले नै स्वदेश झिकाएको थियो । 

श्रममन्त्री भण्डारीका अनुसार श्रमिकको कल्याणकारी कोषलाई बलियो बनाउँदै लगिए मात्रै श्रमिक र तिनका परिवारको बृहत् संरक्षण बन्दै जाने बताए । ‘बिमा र कल्याणकारी कोषका लागि तोकिएको अलग अलग रकमलाई एकमुष्ट बनाएर कोषमा जम्मा गराउने योजना हो । 

अहिले बोर्ड र बिमाबाट पाउनेभन्दा थप सुविधाहरू दिन सक्छौं,’ मन्त्री भण्डारीले भने, ‘निजी क्षेत्रका बिमा कम्पनीले क्षतिपूर्ति दिएपछि बचत रकम सबै कम्पनीले नै लैजान्छ । श्रमिकले थप सुविधा पाउँदैनन् ।’ 

नेपाल बिमा प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८०/८१ मा निजी बिमा कम्पनीहरूले ७ लाख ४४ हजार १ सय ३० जनाको बिमा गर्दा ३ अर्ब १२ करोड ६८ लाख बराबरको बिमा शुल्क आर्जन गरेको थियो । त्यस वर्ष १ हजार ६ सय १ जनालाई एक अर्ब ४२ करोड ११ लाख रुपैयाँ दाबी भुक्तानी भएको देखिन्छ ।

श्रम प्रशासनका विज्ञ पूर्वसचिव पूर्णचन्द्र भट्टराईका अनुसार श्रमिकलाई एउटै ढोकाबाट बिमासहितको कल्याणकारी सुविधा दिन जरुरी भए पनि बिमासम्बन्धी कानुनी पाटो हेर्नुपर्नेछ । 

‘कल्याणकारी कोष श्रमिकको हितसँग सम्बन्धित छ । बिमा क्षतिपूर्तिसँग सम्बन्धित छ । वैदेशिक रोजगार बोर्डले बिमासमेत हेर्ने हो भने बिमा ऐन र वैदेशिक रोजगार ऐनबीच तालमेल हुन जरुरी छ,’ उनले भने, ‘बिमासम्बन्धी नियमक निकाय बिमा प्राधिकरणको स्वीकृतिबेगर बोर्डले बिमा गर्न मिल्दैन । अर्को ऐनलाई हेर्दे नहेरी एउटै ऐनमा संशोधन गर्दा विवाद हुन सक्छ ।’

उनले श्रमिकको कल्याणकारीका लागि अन्तर्राष्ट्रिय अभ्यासलाई हेर्दा उपयुक्त हुने बताए । ‘हाम्रा लागि सबैभन्दा राम्रो अभ्यास फिलिपिन्स हो । हामीले अपनाएको धेरै विषय फिलिपिन्ससँग मिल्छ,’ उनले भने, ‘अरू श्रमिक पठाउने स्रोत देशहरूको पनि अभ्यास हेर्दा उचित हुन्छ ।’

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully