बस्तीमा प्रदूषण फैलिएको भन्दै स्थानीय बासिन्दाले कोइला आयात बन्द गर्नुपर्ने माग लामो समयदेखि गर्दै आएका छन् ।
What you should know
काठमाडौँ — स्थानीयको विरोधका बीच सिर्सिया सुक्खा बन्दरगाह नाका हुँदै ठूलो परिमाणमा कोइला आयात भएको छ । हाल बन्दरगाहको पश्चिमी भागमा भारतबाट आयातित कोइलाको पहाड नै बनेको छ ।
बन्दरगाहको पश्चिममा रहेको सिर्सिया खल्वाटोलावासीले बन्दरगाहमा आयात भइरहेको कोइलाले आफूहरुको बस्तीमा प्रदूषण फैलाएको भन्दै आयात बन्द गर्नुपर्ने माग लामो समयदेखि गर्दै आएका छन् । बन्दरगाहमा गत वर्षदेखि कोइला आयात हुन थालेको हो ।
रेलबाट कोइला आयात गर्दा ठूलो परिमाणमा एकै साथ आयात हुने र ढुवानी लागत सस्तो हुने दाबी गरेर सुक्खा बन्दरगाह नाका हुँदै आयात गर्न थालिएको हो । यसअघि वीरगन्जको सीमावर्ती भारतीय सहर रक्सौलस्थित रेल्वे स्टेसनमा नेपाली आयातकर्ताको कोइला रेलबाट अनलोड गरी ट्रकबाट ढुवानी गरी वीरगन्जतर्फ ल्याइन्थ्यो । रक्सौलवासीले लामो समय रक्सौल रेल्वे स्टेसन वरपर नेपाली आयातकर्ताको कोइलाले प्रदूषण फैलाएको भन्दै त्यसको विरोध गरिरहेका थिए ।
रक्सौलवासीको दबाबका कारण भारतीय सरकारले पनि रक्सौलमा रेलबाट कोइला अनलोड नगरी सोझै नेपालतर्फ लग्न सहजीकरण गरेको थियो । अब रक्सौलमा प्रदूषण घटेको छ भने सुक्खा बन्दरगाह पश्चिमको खल्वाटोलामा प्रदूषण बढेको छ । स्थानीयले कोइलाको प्रदूषण आफूहरुको घरसम्मै फैलिएको, श्वासप्रश्वासमा समेत समस्या भएको भन्दै चर्को विरोध गरिरहेका छन् ।
कोइलाबाट सिर्जित फोहोर बन्दरगाह परिसरभित्रै फैलिएको छ भने बन्दरगाहबाहिर सडकसम्म पनि उक्त प्रदूषण देख्न सकिन्छ । बन्दरगाह सञ्चालक कम्पनी प्रिस्टिन भ्यालीले प्रदूषण नियन्त्रणमा उदासीनता देखाएको आरोप लाग्दै आएको छ ।
बन्दरगाहस्थित इन्टर मोडल यातायात विकास समिति कार्यालयका प्रमुख कमल ज्ञवाली हाल बन्दरगाह परिसरमा २५ हजार देखि ३० हजार मेट्रिक टनसम्म कोइला रहेको बताउँछन् । प्रायः वर्षाअघि आयातकर्ताले यसरी बढी परिमाणमा कोइला आयात गर्ने चलन रहेकाले हाल बन्दरगाहमा ठूलो परिमाणमा कोइला भित्रिएको हुन सक्ने उनले बताए । जेठ महिनामा १८ र असार महिनामा २२ रेल्वे र्याक कोइला बन्दरगाहमा भित्रिएको उनको भनाइ छ ।
लुज कार्गोका रुपमा यो नाका हुँदै भित्रिने वस्तुहरुमा हाल कोइला पहिलो नम्बरमा रहेको छ । कोइला आयातबाट वीरगन्ज भन्सार कार्यालयको राजस्वमा गतिलो योगदान हुँदै आएको छ । तर कोइलाबाट बन्दरगाह वरपरको बस्तीमा फैलिएको प्रदूषण नियन्त्रणमा भने भन्सार कार्यालयले समेत आवश्यक सजकता देखाएको छैन ।
