नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सुरुङ र संरचना सुरक्षित राख्न निर्देशन दिए ।
What you should know
काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले मध्य भोटेकोशी जलविद्युत् आयोजनाका सम्बन्धित अधिकारीहरूलाई सुरुङको चुहावट परीक्षण र पावर हाउस लगायतका संरचनामा बाढी पस्न नसक्ने व्यवस्था मिलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।
पूर्ण रूपमा स्वदेशी सीप र पूँजीबाट बन्ने सबैभन्दा ठूलो आयोजनामध्ये एक रहेको यस परियोजनाले बुधबारबाट उत्पादनका लागि सम्पूर्ण तयारी पूरा गरेको थियो। निर्देशक शाक्यले आयोजनाअन्तर्गतको ७.२ किलोमिटर लामो सुरुङमा पानी चुहिने वा नचुहिने कुरा सुनिश्चित गर्न निर्देशन दिए ।
पावर हाउस लगायतका सबै पूर्वाधारहरू भोटेकोशीमा आउन सक्ने बाढीबाट सुरक्षित रहने गरी आवश्यक सुरक्षा व्यवस्था मिलाउन समेत निर्देशन दिइएको छ। शाक्यले पावर हाउसमा स्लाइडिङ ब्यारेकेड जस्ता संरचना निर्माण गरी तथा अन्य क्षेत्रमा सम्भावित बाढीबाट आयोजनाको संरचना जोगाउने व्यवस्था गर्न निर्देशन दिएका हुन् ।
लामो समयको प्रतीक्षा पछि उत्पादन सुरु गर्न लागिएको मध्य भोटेकोशी आयोजना १०२ मेगावाट कुल क्षमता रहेको छ । बाँध मार्मिङ (९ चाकु) मा र पावर हाउस जम्बुमा रहेको यस आयोजनाले वार्षिक ५४ करोड २२ लाख युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ। आयोजनाको निर्माण कार्य केही महिना अघि नै सम्पन्न भए पनि प्रसारण लाइनको अन्योलका कारण उत्पादन सुरु हुन सकेको थिएन।
सुरुमा बाह्रबिसे-लप्सीफेदी प्रसारण लाइनमार्फत विद्युत् प्रणालीमा जोड्ने लक्ष्य भए पनि स्थानीयसँग सहमति नजुटेपछि लामोसाँघुतर्फ लैजाने प्रयास गरिएको थियो। त्यहाँ पनि सम्भव नभएपछि अब प्राधिकरणकै स्वामित्वमा रहेको न्यू खिम्ती ४०० केभी सबस्टेसन हुँदै ढल्केवर प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा जोड्ने तयारी भएको हो।
