जेसीआईले पहिलो पटक आयोजना गरेको यो कार्यक्रमका लागि अन्य देशले पनि इच्छा प्रकट गरेकोमा पछि बंगलादेशलगायतले नेपालका पक्षमा मत दिएको थापाले बताइन् ।
What you should know
काठमाडौँ — नेपाली बजारमा दक्षिण एसियाली लगानी र युवा नेतृत्व प्रवर्द्धन गर्ने लक्ष्यसहित बिहीबारबाट दक्षिण एसियाली लगानी र युवा नेतृत्वसम्बन्धी दुई कार्यक्रम सुरु भएका छन् ।
जेसीआई नेपालको आयोजनामा ‘जेसीआई साउथ एसिया बिजिनेस एन्ड इन्भेस्टमेन्ट मिट’ र ‘साउन एसियन एकेडेमी फर इन्टरनेसनल लिडरसिप’ नामक दुई प्रमुख कार्यक्रम साउन १६ देखि १९ गतेसम्म ठमेलस्थित होटल एलफ्टमा हुँदै छन् ।
यी कार्यक्रममा भारत, श्रीलंका र बंगलादेशबाट ४८ भन्दा धेरै युवा उद्यमी, लगानीकर्ता र नेतृत्वकर्ता सहभागी हुँदै छन् । उनीहरू बुधबार नै काठमाडौं आइसकेको जेसीआई नेपालकी राष्ट्रिय अध्यक्ष रजनी थापाले जानकारी दिएकी छन् ।
यी कार्यक्रममार्फत व्यापार, लगानी, नेतृत्व विकास र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य लिइएको छ । जेसीआईले पहिलो पटक आयोजना गरेको यो कार्यक्रमका लागि अन्य देशले पनि इच्छा प्रकट गरेकोमा पछि बंगलादेशलगायतले नेपालका पक्षमा मत दिएको थापाले बताइन् ।
नेपालका स्टार्टअप, युवा व्यवसायीलाई यस प्लाटफर्मले अन्तर्राष्ट्रिय बजार र लगानी भित्र्याउने अवसर दिने अपेक्षा गरिएको छ । ‘जेसीआई इन बिजिनेस’ को अग्रसरतामा हुने लगानी सम्मेलनमा नेपालका उद्यमीले लगानीकर्तासमक्ष आइडिया पिचिङ गर्ने सेसन, क्षेत्रीय छलफल र स्टार्टअप प्रदर्शनी कार्यक्रमहरू समावेश गरिने आयोजकले जानकारी दिएको छ । ‘हामी दक्षिण एसियाली साझेदारी र युवा नेतृत्वको साझा यात्राको थालनी गर्दै छौं,’ थापाले भनिन् ।
चार दिनसम्म सञ्चालन हुने साउथ एसियन एकेडेमी फर इन्टरनेसनल लिडरसिप (सेल) कार्यक्रमअन्तर्गत नेतृत्व विकास कार्यशाला, नीति निर्माण, उद्यमशीलता र विश्व नेतृत्व दृष्टिकोणमा आधारित सत्रहरू आयोजना हुँदै छन् ।
साथै, विदेशी पाहुनालाई लुम्बिनी, पोखरा, भक्तपुरलगायत क्षेत्रको सांस्कृतिक अवलोकन गराइने जानकारी दिइएको छ । कार्यक्रममा जेसीआई एसिया प्रशान्तका उपाध्यक्ष मार्क जोसेफ डेभिड, उपाध्यक्ष हिरोकी टोमोरी, क्षेत्रीय सिनेटरहरू, अन्तर्राष्ट्रिय पदाधिकारी, युवा उद्यमी तथा समाजसेवीहरूको उपस्थिति रहनेछ ।
