दोहोरो पर्ने गरी खरिद गरिएको प्याकेज फिर्ता गरिएको छ: नेपाल टेलिकम

नेपाल टेलिकमले मंगलबार सार्वजनिक गरेको सूचनामा भनिएको छ, ‘ग्राहक महानुभावहरूले दोहोरो पर्ने गरी खरिद गर्नु परेको तर प्रयोगमा नआएका प्याकेजहरूको रकम सम्बन्धित ग्राहकको ब्यालेन्समा फिर्ता गरिसकिएको छ ।’

श्रावण १४, २०८२

कान्तिपुर संवाददाता

Package purchased in duplicate has been returned: Nepal Telecom

काठमाडौँ — यसै साता सोमबार नेपाल टेलिकमको डेटा नचल्दा प्रयोगकर्ताले खरिद गरेको तर प्रयोगमा नआएका डेटा प्याकेजहरूको रकम फिर्ता गरेको कम्पनीले जनाएको छ ।

सरकारी दूरसञ्चार सेवा प्रदायकको फोरजी तथा भोल्टी सेवा अवरुद्ध हुँदा कयौँ ग्राहकले आफ्नो डेटा सकिएको ठानी अतिरिक्त प्याक खरिद गरेका थिए ।

सो समस्या आएको दुई दिनपछि टेलिकमले दोहोरिएर खरिद गरिएका तर प्रयोगमा नआएका डेटा प्याकेजहरूको रकम फिर्ता गरिएको जानकारी गराइएको हो ।

नेपाल टेलिकमले मंगलबार सार्वजनिक गरेको सूचनामा भनिएको छ, ‘ग्राहक महानुभावहरूले दोहोरो पर्ने गरी खरिद गर्नु परेको तर प्रयोगमा नआएका प्याकेजहरूको रकम सम्बन्धित ग्राहकको ब्यालेन्समा फिर्ता गरिसकिएको छ ।’

सोमबार दिउँसो करिब १:४५ बजेदेखि साँझ ५:३५ सम्म टेलिकमको फोरजी तथा भोल्टी सेवा बन्द हुँदा लाखौँ ग्राहकहरू प्रभावित भएका थिए । कोर सिस्टम र बिलिङ सिस्टमबीचको इन्टरफेसमा समस्या आउँदा सेवा अवरुद्ध भएको कम्पनीले जनाएको थियो । यसले गर्दा धेरै ग्राहकले डेटा प्याकेज दोहोरिएर किन्ने, तर प्रयोग गर्न नसक्ने अवस्था आएको थियो ।

कान्तिपुर

Link copied successfully