तीन हजारमाथि उक्लियो नेप्से, पुँजीकरणमा नयाँ रेकर्ड

मंगलबार नेप्सेले तीन हजार विन्दु पार गरेपछि लगानीकर्ताहरूमा नयाँ आशा जागेको छ, १७६ कम्पनीको सेयर मूल्य बढ्यो।

श्रावण १४, २०८२

कान्तिपुर संवाददाता

NEPSE rose above three thousand, a new record in capitalization

What you should know

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार ३०.७६ अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा एक दशमलव शून्य ३ प्रतिशतले बढेर समग्र नेप्से ३ हजार २.०७ विन्दुमा उक्लिएको हो । यो करिब एक वर्ष (३१ साउन २०८१)यताकै उच्च हो । यस अघि ०८१ साउन ३१ मा नेप्से ३ हजार ८१ विन्दुमा पुगेको थियो । 

त्यसयता नेप्सेले तीन हजार विन्दु पार गर्न सकेको थिएन । गत आइतबार १२ः५१ बजे नेप्से ३ हजार १३ विन्दुमा पुगिसकेको थियो । त्यसपछि भने यो वृद्धि लामो समय टिक्न सकेन । अन्तिममा २९ सय ६४ दशमलव २० विन्दुमा ओर्लिएर बन्द भएको थियो । आइतबार १८.४४ अंकले घटेको नेप्से सोमबार ७ अंकले बढेको थियो । 

यसरी पछिल्ला केही दिनमा कारोबार अवधिमा नेप्से तीन हजार विन्दुभन्दा माथी पुगेर कारोबार भएपनि अन्तिममा उक्त अंकभन्दा मुनिनै ओर्लेर बन्द भएको थियो । यसकारण सेयर विश्लेषकहरूले नेप्सेले तीन हजार अंकको प्रतिरोध पार गर्न नसकेको रुपमा विश्लेषण गर्दै आएका थिए । यद्यपि मंगलबार भने नेप्सेले २ अंकले मात्र भएपनि तीनहजार भन्दा माथी उक्लेर बन्द भएको छ । यसलाई लगानीकर्ताले अब बजारले तीन हजारको प्रतिरोध पार गरेको रुपमा विश्लेषण गरेका छन् । 

नेप्सेका अनुसार मंगलबार १७६ कम्पनीको सेयर मूल्य बढ्यो भने ७४ कम्पनीको मूल्य घट्यो । कुल १ लाख ५७ हजार ५२५ पटकको किनबेचबाट १८ अर्ब ५२ करोड ९३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सोमबारको तुलनामा मंगलबार कारोबार रकम भने घटेको छ । सोमबार १९ अर्ब ३६ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । 

कुल ४ करोड १८ लाख ८ हजार ९६६ कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ । विकास बैंक, फाइनान्स र व्यापार उपसमूह घटेका छन् । विकास बैंक २३.७९, फाइनान्स ३.३२ र व्यापार ११.३६ अंकले घटेका हुन् । बाँकी सबै उपसमूह बढेका छन् । बढ्ने उपसमूहमा निर्जीवन बिमा, लघुवित्त, जीवन बिमा, जलविद्युत्, होटल तथा पर्यटन, जलविद्युत्, बैंकिङलगायत उपसमूह रहे । 

निर्जीवन बिमा १५०.१८, लघुवित्त ९४.७८, जीवन बिमा ११२.६०, जलविद्युत् १७.२६, होटल तथा पर्यटन २३.५१, बैंकिङ २०.४० अंकले बढेका छन् । मुक्तिनाथ कृषि कम्पनी, ट्रेड टावर र सान्भी इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेपछि सर्किट ब्रेक लाग्यो । नाडेप लघुवित्तको ९.९९ र नेपाल वायरहाउसिङ कम्पनीको ८.०६ प्रतिशतले सेयर मूल्य बढेको छ । समता घरेलु लघुवित्तको ८.६०, विन्दाबासिनी हाइड्रोपावरको २.९३, उन्नति सहकार्य लघुवित्तको २.७३, श्वेत गंगा हाइड्रोपावरको २.६४ र मन्दाकिनी हाइड्रोपावरको २.४८ प्रतिशतले सेयर मूल्य घटेको छ । 

कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी, ग्रिन भेञ्चर्स, नेपाल रिइन्स्योरेन्स कम्पनी, हिमालयन रिइन्स्योरेन्स र राधी विद्युत् कम्पनी अगाडि रहे । हिमालयन डिस्टिलरीको ६४ करोड ४१ लाख, ग्रिन भेञ्चर्सको ६३ करोड ८२ लाख, नेपाल रिइन्स्योरेन्स कम्पनीको ५६ करोड ७७ लाख, हिमालयन रिइन्स्योरेन्सको ५२ करोड ७७ लाख र राधी विद्युत् कम्पनीको ४९ करोड ७७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

नेप्से बढ्दा सेयर बजारको आकार (कुल बजार पुँजीकरण) मा ५१ अर्ब ३३ करोड ५९ लाख रुपैयाँले वृद्धि भएको छ  । सोमबार ४९ खर्ब ५८ अर्ब १२ करोड ८५ लाख रुपैयाँ रहेको कुल बजार पुँजीकरण मंगलबार ५० खर्ब ९ अर्ब ४६ करोड ४५ लाख कायम भएको छ । यो हालसम्मकै उच्च हो । पछिल्ला केही दिन यता कुल बजार पुँजीकरणले नयाँ रेकर्ड कायम गर्दै आएको छ । 

कुल सूचीकृत सेयर संख्यालाई सोही दिनको सेयर मूल्यले गुणा गरेर कुल बजार पुँजीकरण गणना गरिन्छ । यही ५ साउनमा ४८ खर्ब २६ अर्ब ९९ करोड ८६ लाख रुपैयाँ कायम भई पुँजीकरणले नयाँ रेकर्ड राखेको थियो । यसअघि ३ फागुन २०८१ मा सेयर बजारको आकार ४७ खर्ब ९९ अर्ब रुपैयाँमा पुगेको थियो ।

कान्तिपुर

Link copied successfully