वाणिज्य विभागको महानिर्देशक भएका बेला ‘फाइभ स्टार’ होटलहरूलाई जरिवाना गराएर उनी चर्चामा आएका थिए ।
काठमाडौँ — राजस्व अनुसन्धान विभागमा तीर्थराज चिलुवाल महानिर्देशक नियुक्त भएका छन् । गैरकर राजस्व चुहावटासम्बन्धी अनुन्धान तहकिकात र अभियोजन गर्ने विभागमा पद रिक्त भएको एक महिनापछि बुधबार महानिर्देशक नियुक्ति गरिएको हो ।
नवनियुक्त महानिर्देशन चिलुवाल यसअघि आन्तरिक राजस्व विभागमा उपमहानिर्देशक दिए । उनले वाणिज्य विभागको महानिर्देशक, राजस्व अनुसन्धान विभागको निर्देशक, इटहरी अख्तियार प्रमुख, प्रमुख जिल्ला अधिकारीलगायत पदमा रहेर कार्यसम्पादन गरिसकेका छन् । वाणिज्य विभागको महानिर्देशक भएका बेला ‘फाइभ स्टार’ होटलहरूलाई जरिवाना गराएर उनी चर्चामा आएका थिए ।
महानिर्देशक चिलुवालले राजस्व समूहमा रहेर १७ वर्ष बिताएको अनुभवलाई विभागको कार्यसम्पादनमा प्रयोग गर्ने बताए । उनले राजस्व चुहावट रोक्ने काममा सबैको सहयोग जरुरी रहेको उल्लेख गरे । ‘आफ्नो क्षमताले भ्याएसम्म गलत हुन दिँदिनँ,’ उनले भने ।
तत्कालीन महानिर्देशक चण्डीप्रसाद घिमिरे गत १५ असारमा निवृत्त भएपछि पद रिक्त थियो । पद रिक्त भएका कारण विभागको कामकारबाही नै रोकिएपछि विभागकी उपमहानिर्देशक कृष्णकुमारी श्रेष्ठलाई कायमुकायम तोकिएको थियो । २०७४ यता महानिर्देशक पद यति लामो समय कहिल्यै रिक्त भएको थिएन ।
राजस्व अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालयअन्तर्गत रहेको छ । राजस्व चुहावट मात्र होइन, सरकारको विदेशी विनिमयसम्बन्धी कसुरको सम्बन्धमा जाँचबुझ र अनुसन्धान गर्ने अधिकार पनि राजस्व विभागलाई नै रहेको छ ।
