बैंकका अध्यक्ष र सीईओहरूसँग छलफल गर्दै गभर्नर पौडेल, यी हुन मुख्य एजेन्डा

मौद्रिक नीति, बैंक संशोधन विधेयक र वित्तीय सुधार रणनीतिका विषयमा छलफल गर्न राष्ट्र बैंकले बैठक आयोजना गरेको छ।

श्रावण १३, २०८२

कान्तिपुर संवाददाता

Governor Paudel in discussion with bank presidents and CEOs, this is the main agenda

What you should know

काठमाडौँ — नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थाका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतहरुसँग छलफल गर्दै छन् । आज (मंगलबार) बैंकहरूका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गरिरहेका गभर्नर पौडेलले बुधबार अध्यक्षसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ ।

मौद्रिक नीतिले गरेको नीतिगत व्यवस्था, बैंक तथा वित्तीय संस्थासम्बन्धी संशोधन विधेयक र दोस्रो वित्तीय क्षेत्र सुधार रणनीति गरी तीन वटा एजेन्डासहित छलफल डाकिएको छ । वित्तीय क्षेत्रको पछिल्लो अवस्था, कर्जा प्रवाह र असुली, मौद्रिक नीतिमार्फत गरिएका नयाँ व्यवस्थालगायत विषयमा छलफल गर्न लागिएको राष्ट्र बैंक स्रोतले बताएको छ ।

‘अरुसँगै बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनको संशोधन विधेयकमा छलफल गर्ने एजेन्डा पनि छ,’ स्रोतले भन्यो, ‘नयाँ आर्थिक वर्षको सुरुसँगै वित्त नीति (बजेट) र मौद्रिक नीति कार्यावयनमा आइसकेका छन् । ती नीति कार्यान्वयनको अवस्था, लामो समयदेखि वित्तीय क्षेत्रमा देखिएको कर्जा असुलीको समस्या, कर्जा मागमा कमी, अधिक तरलतालगायत विषयमा राष्ट्र बैंकले बैंकरहरुको राय बुझ्न खोजेको हो ।’

नयाँ गभर्नर पौडेलले आफ्नो कार्यकालको पहिलो मौद्रिक नीतिमार्फत ब्याजदर बढ्न नदिने, बैंकहरूको कर्जा प्रवाह क्षमता बढ्ने, परिस्थितिजन्य कारण समस्यामा परेका ऋणीलाई कर्जाको पुनर्तालिकीकरण र पुनःसंरचनालगायत सुविधा दिएको छ ।

यस्तै, घरजग्गा र सेयर बजारका लागि पनि निकै लचिलो नीति राष्ट्र बैंकले अवलम्बन गरेको छ । उल्लिखित व्यवस्था कार्यान्वयनको अवस्था, कार्यान्वयनका क्रममा देखिएका व्यवहारिक अप्ठेरालगायत विषयमा बैंकहरुका अध्यक्ष र सीईओहरुसँग छलफल गर्न लागिएको राष्ट्र बैंक स्रोतले बताएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully