नाइमा मोबिलिटी एक्स्पोमा ३५ नयाँ सवारीसाधन

साउन २१ देखि २५ गतेसम्म भृकुटीमण्डपमा हुने प्रदर्शनीमा ५० भन्दा बढी अटोमोबाइल ब्रान्ड सहभागी हुने

श्रावण १३, २०८२

कान्तिपुर संवाददाता

35 new vehicles at the Naima Mobility Expo

What you should know

काठमाडौँ — नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) को ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’मा ३५ नयाँ सवारीसाधन सार्वजनिक गरिने भएको छ । साउन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने एक्स्पोमा ५० भन्दा बढी अटोमोबाइल ब्रान्ड सहभागी हुने आयोजकले जानकारी दिएको छ । 

सोमबार सोल्टी होटलमा आयोजित पत्रकार सम्मेलनमा नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले एक्स्पोको सबै तयारी पूरा भइसकेको बताए । कार्यक्रममा अटो एक्स्पो समिति प्रमुख शिरीषकुमार मुरारकाले एक्स्पोको भौतिक पूर्वाधार सबैको पहुँचयोग्य र अपांगतामैत्री हुने जानकारी दिए । 

प्रदर्शनीमा १५ वटा दुई पाङ्ग्रे, १५ वटा चार पाङग्रे र ५ वटा व्यावसायिक गाडी सार्वजनिक गरिने छ । विद्युतीय सवारीसाधनदेखि नवीनतम मोबिलिटी समाधानहरू प्रदर्शनीमा प्रस्तुत गरिने अटो एक्स्पो समितिका सदस्य गौरव सारडाले बताए । प्रदर्शनीलाई लक्षित गरी नाइमाले विशेष अनलाइन भिडियो प्रतियोगिता पनि सार्वजनिक गरेको छ । प्रतियोगितामा २१ साउनसम्म सामाजिक सञ्जालमा अपलोड गरिएका उत्कृष्ट भिडियोलाई १ लाख पुरस्कार प्रदान गरिनेछ भने साउन २१ देखि २५ गतेभित्र अपलोड भएका १० वटा उत्कृष्ट भिडियोलाई जनही १० हजार पुरस्कार दिइनेछ । 

पाँच दिने प्रदर्शनीमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरू सहभागी हुने प्यानल छलफल आयोजना गरिनेछ । बैंकर अनिलकेशरी शाहले ‘मोबिलिटी हिजो, आज र भोलि’ विषयमा सत्र सञ्चालन गर्नेछन् । अन्य सत्रमा शिक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोग, त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र भारतको रोड ट्राफिक एजुकेसन इन्स्टिच्युटका विज्ञ सहभागी हुनेछन् ।

एक्स्पोमा प्रवेश टिकट खल्ती बाई आईएमईमार्फत उपलब्ध हुनेछ । बिक्री भएका टिकटको ५ प्रतिशत रकम शिक्षा मन्त्रालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को सहकार्यमा मोबिलिटीसम्बन्धी विषयमा छात्रवृत्ति तथा फेलोसिपका लागि खर्च गरिने आयोजकले जानकारी दिएको छ । 

प्रदर्शनीका मुख्य प्रायोजक एभरेस्ट बैंक र नेसनल इन्स्योरेन्स कम्पनीले प्रविधिमैत्री र दिगो यातायात प्रणालीको विकासमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । राइड पार्टनर पठाओले भृकुटीमण्डप गन्तव्य भएका यात्रुका लागि ३० प्रतिशत छुट दिने जनाएको छ । नाइमा अध्यक्ष रितु सिंह वैद्यले मोबिलिटी एक्स्पो नेपालकै सबैभन्दा ठूलो र प्रभावशाली अटोमोबाइल प्रदर्शनी बन्ने विश्वास व्यक्त गरिन् ।

कान्तिपुर

Link copied successfully