अन्डामा देश 'आत्मनिर्भर', अभाव भन्दै मूल्य बढाउँदै

वैशाखयता क्रेटमै १ सय ४० रुपैयाँसम्म बढ्यो, एक–दुई सातापिच्छे मूल्य बढ्दा पनि सरकारी निकाय मौन

श्रावण १२, २०८२

कान्तिपुर संवाददाता

Country 'self-sufficient' in eggs, raising prices due to scarcity

What you should know

काठमाडौँ — सरकारी तथ्यांक र नेतृत्वको भाषण सुन्दा लाग्छ— मुलुक अन्डामा आत्मनिर्भर भइसक्यो । प्रतिव्यक्ति प्रतिवर्ष ६१ गोटा अन्डा उपलब्धता भएको भन्दै २०७७ चैतमै आत्मनिर्भर भएको दाबी गरिएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अन्डामा आत्मनिर्भर भएको बताउँदै एक क्षेत्रमा एक कदम अगाडि बढाउन सफल भएको दाबी गरेका थिए । 

अहिले पनि प्रधानमन्त्री केपी शर्मा ओली नै छन् । तर बजारमा अन्डाको मूल्य मनलाग्दी छ । व्यवसायीले उत्पादनमा कमी आएको बताउँदै एक–दुई सातामै मूल्य बढाएका छन् । वैशाखयताकै कुरा गर्दा एक क्रेटमा १ सय ४० रुपैयाँसम्म मूल्य बढेको छ ।

‘माग र आपूर्तिले मूल्य निर्धारण गरेको भन्दै बजारमा लुट सुरु भएको छ । केही व्यक्तिको भेलाले सातापिच्छे मूल्य बढाएको छ । उपभोक्ता मूल्यकै कुरा गर्दा एउटा अन्डाको मूल्य २५ रुपैयाँसम्म पर्छ । क्रेटको ६ सय रुपैयाँभन्दा बढी पुगेको छ,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने, ‘बजारमा बिचौलियाको रजगज बढेको छ । तर सरकार यस विषयमा मौन छ ।’

आत्मनिर्भर घोषित वस्तुको स्वाभाविक रूपमा मूल्य घट्नुपर्ने हो । तर सीमित व्यापारी र बिचौलियाको भेलाले अन्डाको बजार मूल्य निर्धारण गरेको तिमिल्सिनाको भनाइ छ । ‘केही व्यक्ति बसेर मूल्य बढाएको देखिन्छ, तर सरकारले उपभोक्ताको पक्षमा अनुगमन नियमन गर्न चासो नै दिएको छैन । आफू अनुकूल (फाइदा हुने) ठाउँमा मात्रै अनुगमन भएको छ,’ उनले भने, ‘मूल्यको जिम्मेवारी उद्योग वाणिज्य आपूर्ति मन्त्रालय र वाणिज्य विभागले लिनुपर्छ ।’

नेपाल लेयर्स कुखुरापालक संघले मूल्य निर्धारण गरेको तथ्यांक हेर्दा मूल्य अस्वाभाविक बढेको देखिन्छ । २०८२ वैशाख १४ मा प्रतिक्रेट ठूलो अन्डाको मूल्य ४ सय ५ रुपैयाँ थियो । २०८२ साउन ६ सम्म आइपुग्दा मूल्य बढेर प्रतिक्रेट ५ सय २५ रुपैयाँ पुगेको छ । मिडियम अन्डाको भाउ पनि उस्तै बढेको छ । वैशाख १४ मा प्रतिक्रेट ३ सय ५५ रुपैयाँ थियो । साउन ६ मा मूल्य बढेर प्रतिक्रेट ४ सय ९५ रुपैयाँ पुगेको छ । यो मूल्य चितवनलाई आधार मानेर निर्धारण गरिएको हो । देशभरि नै अन्डा बिक्री डिपोमा पुर्‍याउँदा भाडा, कार्टुन र क्रेटसहित प्रतिपेटी १३० रुपैयाँ लाग्ने गरेको संघले जनाएको छ । खुद्रा बजार (उपभोक्तासम्म) आइपुग्दा मूल्य झनै बढेको संघको भनाइ छ । 

‘मूल्य बढ्नुको प्रमुख कारण एकाधिकार हो । उत्पादन केही घटेको पनि छ । केही किसानले चल्ला कम हालेका छन् । तर बढी अभाव गराएर मूल्य बढाउने चलखेल रचिएको छ,’ एक लेयर्स कुखुरापालकले भने, ‘अन्डाको मूल्य घटाउने–बढाउनेमा ठूला व्यापारी र ठूला कुखुरापालको हात हुन्छ ।’ ती किसानका अनुसार बजारमा मूल्य बढे पनि साना किसानले अझै मूल्य पाएका छैनन् । ठूला किसानले मात्र मूल्य पाएको ती किसानको दाबी छ ।

‘अन्डा क्षेत्रमा पनि विभिन्न तह छन् । किसानबाट सर्वसाधारणसम्म आइपुग्दा करिब ६ तह पार गर्नुपर्छ । उत्पादक किसान, सप्लायर्स, (काठमाडौं, विराटनगरलगायत ठूला सहर) त्यसपछि सब डिपो, होटल/पसल र त्यसपछि बल्ल उपभोक्तामा आइपुग्छ,’ ती किसानले भने, ‘मूल्य सप्लायर्समा निर्भर हुन्छ । दानापानी सप्लायर्सले उपलब्ध गराउँछन् । थोरैमा उठाएर महँगोमा बिक्री गर्छन् । त्यही भएर साना किसानले मूल्य पाउँदैनन् । ठूला किसान आफैं सप्लायर्स हुन्छन्, तिनले मूल्य राम्रै पाउँछन् ।’

ती किसानका अनुसार सप्लायर्सले ठाउँअनुसार एक क्रेटमा ५० रुपैयाँदेखि एक सय रुपैयाँसम्म लिने गरेका छन् । मूल्य राज्यले निर्धारण गरिदिए किसानदेखि उपभोक्तालाई धेरै राहत हुने ती किसानको भनाइ छ ।

पशुसेवा विभागले सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार अन्डाको मूल्यमा दानाको योगदान ७५ प्रतिशत हुन्छ । श्रम खर्च ७ प्रतिशत, पुँजीगत (खोर खर्च) २ प्रतिशत, लगानीमा ब्याज करिब ६ प्रतिशत र चल्लाको भाउ करिब ३ प्रतिशतले मूल्य निर्धारण गरिन्छ । ‘ठूला व्यवसायीले नै लेयर्स कुखुरा पालेका छन् । दाना पनि उनीहरू नै बनाउँछन् । मूल्य पनि उनीहरूले नै निर्धारण गर्छन्,’ संघका एक अधिकारीले भने, ‘बजारमा एक हिसाबले मनपरीतन्त्र लागू भएको छ ।’ 

Country 'self-sufficient' in eggs, raising prices due to scarcity

अन्डा मुख्यतः चितवन, दाङ, मकवानपुर, झापा, मोरङ, सुनसरीलगायत जिल्लामा उत्पादन हुन्छ । चितवनलाई आधार मानेर अन्डाको मूल्य निर्धारण गरिन्छ । बजार मूल्य नियन्त्रण गर्न उपभोक्ता संरक्षण ऐन २०७५ ले पनि बजार तह निर्धारण गर्न भनेको छ । तर सरकारले अहिलेसम्म बजार तह निर्धारण गरेको छैन । त्यसको मौका व्यवसायीले आफू अनुकूल मूल्य घटबढ गर्दै आएका छन् ।

मूल्य अहिलेसम्मकै उच्च भए पनि किसानले बल्ल मूल्य पाएको संघका अध्यक्ष विनोद पोखरेलको दाबी छ । ‘किसानको लागत मूल्य १६ रुपैयाँ ५७ पैसा पर्छ । अहिले किसानले १७ रुपैयाँ ५० पैसा पाएका छन् । उपभोक्ता मूल्य २२.५ रुपैयाँ नै हो,’ अध्यक्ष पोखरेलले भने, ‘१० महिना घाटामा गएका किसानले एक सातायता मूल्य पाएका छन् ।’

बजारभाउ बढ्नुको प्रमख कारण गर्मीमा उत्पादन घट्नु, रोगको प्रकोप बढ्नु नै रहेको पोखरेलको दाबी छ । ‘सरकारले आत्मनिर्भर घोषणा गरे पनि नारामा मात्रै सीमित भयो, सरकारबाट सहयोग भएन । यस अवधिमा करिब ६० देखि ७० प्रतिशत किसान विस्थापित भएका छन्,’ उनले भने । सात वर्षअघि करिब ८ सय किसान थिए, अहिले करिब १ सय २५ मा सीमित छन् । दैनिक ३३ देखि ३४ लाख अन्डा उत्पादन हुने गरेकामा अहिले २६ लाखदेखि २८ लाखमा सीमित छ, त्यही भएर मूल्य बढ्यो ।’ 

 बजार नियमन गर्ने वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमार दाहालले मूल्य बिचौलियाले पाएको स्विकारे । अन्डामा कार्टेलिङ भइराखेको जनाए पनि अनुगमन भएको छैन । ‘बजार हेर्दा किसानले मूल्य पाएनन् । बिचौलियाले मूल्य पाए । कार्टेलिङ गरेको देखिन्छ । भारतबाट आयात बन्द भएर यहाँ मूल्य बढेको छ । त्यही भएर पनि बजार भाउ बढेको हो कि ?’ उनले भने, ‘तर व्यापारीको कार्टेलिङ पनि छ । बीचमा डिलरले पनि मूल्य बढाएका हुन सक्छन् । अनुगमनबारे कुन मोडालिटीमा जाने अध्ययन भइराखेको छ ।’

कान्तिपुर

Link copied successfully