आकासे पानी नपर्दा रोपाइँमा समस्या, रोपेका खेतमासमेत धाँजा फाट्यो
What you should know
रामपुर, पाल्पा — रामपुर नगरपालिका–७, एक्लेटारकी सीता घर्तीले रातभरमा एउटा मात्र गरा पानीले पट्याउन सकिन् । अघिल्लो दिन केही समय हलुका वर्षा भएकाले पनि थप बल पुग्यो । रातभर पानी कुरेर एउटा मात्र गरामा खेत रोप्न सकिएको घर्तिले बताइन् ।
‘ब्याडको बीउ २० देखि २५ दिनमा रोपिसक्नुपर्नेमा ४० दिन कटिसक्यो,’ उनले भनिन्, ‘जेनतेन खेतमा बीउ गाड्न पाए हुन्थ्यो भन्ने भएपछि जबरजस्ती पानी पट्याउने उपाय लगाइयो ।’ उनका अनुसार आकासमा बादल लाग्छ, पानी पर्ला जस्तो गरी अँध्यारो पनि हुन्छ तर पानी पर्दैन । दिनदिनै आकासे पानी पर्खदा अहिलेसम्म खेत रोप्न नपाएको उनको गुनासो छ ।
अझै धेरै खेत रोप्न बाँकी रहेको र छिमेकीका पनि अवस्था उस्तै रहेको छ । असार र साउन दुबै महिना पानी नपर्दा धान रोप्न नपाएको रामपुर नगरपालिका–७, कै सपना घर्तीमगरले बताइन् । खोला खोल्सामा अहिले पानी नै छैन । ‘खोला खोल्सा बढ्न नसक्दा नहर, कुलोको पानी पनि चल्न सकेन,’ उनले भनिन्, ‘त्यसपछि धेरै मोही भएपछि पानीको पालो पाउनै मुस्किल छ ।’
यहाँका किसानले विगतका वर्षमा साउनको दोस्रो साता पहिलो पटक खेत गोड्ने गर्थे । तर यसपटक रोप्नै पाएका छैनन् । आकासे पानी नपर्दा मधेशमा मात्र होइन पाल्पाको अन्नभण्डारका रुपमा चिनिएको रामपुर फाँटमा पनि रोपाइँ हुन सकेको छैन ।
रामपुर नगरपालिका क्षेत्रभित्र मात्र नभई गेझा, लाम्दीखोला, भुजात, निसर्दी, वर्दले, रम्भाको हुँगीमा खेत रोप्नै बाँकी छ । हुन त रोपेका खेतमा पनि धाँजा फाटेर रोपो मर्ने अवस्थामा पुगेको छ । ‘कतिपय किसानले बीउ काढेर राख्दा पहेँलै भएको छ,’ रामपुरका किसान रामबहादुर घर्तीले भने, ‘पानी थोरै पाएपछि जबर्जस्ती खेत रोप्नुपर्ने अवस्था आएको छ । ब्याडका बीउसमेत अब लगाउन मिल्ने हो वा होइन भन्ने अवस्थामा पुगेको छ ।’
रामपुर नगरपालिका क्षेत्रमा धान खेती हुने ३४ हजार रोपनीमध्ये झण्डै ४० प्रतिशत खेत अझै बाँझै रहँदा यसवर्ष धान उत्पादनमासमेत कमी आउने किसानको गुनासो छ । असारको भलपानीले रोपिएको रोपो पनि सुकेका छन् । पानी नपाएपछि मोटर चलाएर जोगाउने अभियानसमेत थालेका छन् । नजिकै कालीगण्डकी बगे पनि त्यसको उपयोग गर्न नपाएको किसानको गुनासो छ ।
‘असारमा खेत रोपेर के गर्नु रोपेको धान नै पहेँलो भएको छ,’ रामपुर नगरपालिका–५, का किसान एकराज गौतमले भने, ‘जोगाउनका लागि मोटर चलाएर चापाकलको पानी पट्याउने गरेको छु ।’ जिल्लाका अधिकांश किसान खडेरीको मारमा परेको उनले बताए ।
बेलामा रोपाइँ नहुँदा मङ्सिरमा धान भित्र्याउन नपाउने हो कि भन्ने चिन्ता परेको रामपुर नगरपालिका–५, की किसान सीता नेपालीले गुनासो गरिन् । जिल्लाकै खोला, खोल्सा, ढावतिरका गराहरुमा धान रोपाइँ सुरुमै गरेका थिए । धानखेती हुने क्षेत्रमध्ये सबै खेतमा खोलाको सिँचाइ सुविधा छैन । आकासे पानीको भरमा धान खेती हुने खोला किनारभन्दा माथिल्ला बस्तीहरुमा रोपिएको रोपो सुकेका छन् ।
‘आकासे पानी पर्ला भनेर भलपानीले रोपेको रोपो सुकेर काम नलाग्ने हुन थालेको छ,’ नेपालीले भनिन्, ‘पहेँलै हुन थालेको छ । पानी नपाएपछि के हुने हो थाहा छैन । यसवर्ष धान फल्ने छाँट नै देख्दिनँ ।’
रामपुर नगरपालिका क्षेत्रमा रामपुर फाँट सिँचाइ योजना अन्तर्गत नहर छ । तर नहरले सबै खेत समेट्न सक्दैन । बहखोला, तुरुन्दीखोलामा पानीको स्रोत बढेको छैन । कुलो नलाग्ने खेतमा आकासको पानी नपर्दा स्रोत नबढेकाले समस्या भएको हो ।
साउनमा अहिलेको जस्तो खडेरी किसानले जानेकै थिएनन् । जिल्लाको दुई नगरपालिका र आठ गाउँपालिका गरी १० वटै स्थानीय तहका विभिन्न फाँटहरुमा धान रोप्ने गरिएको छ ।
सिँचाइको व्यवस्थापन हुन नसकेका फाँटहरुमा पानी परेपछि मूल फुटेर रोपाइँ हुने गर्दथ्यो । तर अहिलेसम्म आकासबाट मूल फुट्नेगरी पानी नपर्दा भने धान लगाउने खेतहरुमा रोपाइँ हुन नसकेको हो ।
पाल्पामा जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कृषि ज्ञान केन्द्र, स्थानीय तह, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले साना तथा ठूला सिँचाइमा वर्षेनि २० करोड बढी खर्च गर्छन् । तर जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले गतवर्ष मात्र ६ करोड बढी फिर्ता गरेको छ । जिल्लामा किसानका लागि योजना पहुँचका आधारमा हुन्छ ।
पाल्पामा आठ हजार २१० हेक्टर भू–भागमा वर्षे धान खेती हुँदै आएको छ । किसानले उन्नत जातका र हाइब्रिड जातको धान खेती गर्दै आएका छन् । धानखेती हुने क्षेत्रमध्ये ६० प्रतिशत खेतमा खोला नदीको सिँचाइ सुविधा छैन ।
आकासे पानी पर्दा पनि पाल्पाको रामपुर क्षेत्रमा विगतका वर्षमा अन्यतत्र भन्दा केही ढिला रोपाइँ हुने हो तर यसवर्ष त पानी नै नपाएर सुख्खा भएर समस्या पारेको रामपुर नगरपालिका कृषि शाखा प्रमुख नारायण प्रसाद गैरेले बताए । ‘मुख्य समस्या भनेको आकासको पानी नपर्नु नै हो,’ उनले भने, ‘छिटो मनसुन सुरु हुनु र विगतमा भन्दा धेरै वर्षा हुने मौसम विज्ञान विभागको प्रक्षेपणले झन् समस्या निम्तिएको छ ।’
‘सदरमुकाम तानसेनमा बसेर किसानले खेत धेरै रोपे भन्नु गलत छ,’ रामपुरका किसान केशव न्यौपानेले भने, ‘फिल्डमा आएर रोपेका छन् वा छैनन् भन्ने हेरे हुन्थ्यो ।’ पछिल्लो समयमा किसानले स्थानीय जात भन्दा उन्नत जात र हाइब्रिड जातको धान खेती गर्ने गर्छन् । उन्नत र हाइब्रिड अन्तर्गत किसानले साँवा मनसुली, रामधान, राधा, खुमल, बासमती, युएस ३१२, सावित्री, हर्दिनाथ जातको धान लगाउँदै आएका छन् ।
