राष्ट्र बैंकले आज २८ दिनका लागि बजारबाट ५० अर्ब झिक्दै

श्रावण ११, २०८२

कान्तिपुर संवाददाता

Rastra Bank withdrawing 50 billion from the market today for 28 days

काठमाडौँ — नेपाल राष्ट्र बैंकले आइतबार २८ दिनका लागि बजारबाट ५० अर्ब रुपैयाँ झिक्ने निर्णय गरेको छ। बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) अत्यधिक भएपछि सो रकम झिक्न लागेको हो।

अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत सो कदम चाल्न लागेको जनाएको छ। यसका लागि आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न बैंक तथा वित्तीय संस्थालाई आह्वान गरिएको छ।

राष्ट्र बैंकको सूचनाअनुसार न्यूनतम १० करोड र अधिकतम पाँच–पाँच करोड रुपैयाँले भाग गर्दा बाँकी नजाने गरी बोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ।

यस निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन्। खरिद गरिएको उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने व्यवस्था पनि रहेको राष्ट्र बैंकले जनाएको छ।

बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने व्यवस्था रहेको राष्ट्र बैंकको सूचनामा उल्लेख छ।

कान्तिपुर

Link copied successfully