दोधारा चाँदनी सुक्खा बन्दरगाहमा थालियो निर्माणपूर्वको काम

दुई देशका प्रधानमन्त्रीले संयुक्त रूपमा शिलान्यास गरेपछि मात्रै औपचारिक रूपमा निर्माण सुरु हुने

श्रावण ११, २०८२

भवानी भट्ट

Pre-construction work started at Dodhara Chandni dry port

What you should know

कञ्चनपुर — दोधारा चाँदनी नगरपालिकामा सुक्खा बन्दरगाह निर्माण प्रक्रिया सुरु भएको छ । भारतीय निर्माण कम्पनीलाई मंगलबार साइट हस्तान्तरणसँगै भौतिक संरचना निर्माणपूर्वको काम सुरु गरिएको हो । 

सुक्खा बन्दरगाह निर्माणका लागि ठेक्का भएको कम्ट कन्स्ट्रक्सनलाई मंगलबार इन्टरमोडल यातायात विकास समितिले साइट हस्तान्तरण गरेको हो । ‘दुई देशका प्रधानमन्त्रीले संयुक्त रूपमा शिलान्यास गरेपछि मात्रै औपचारिक रूपमा निर्माण सुरु हुनेछ,’ इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले भने, ‘अहिले साइट खाली गर्नेदेखि मुढा निकाल्ने र कम्पनीको कार्यालय निर्माणलगायतको काम हुनेछ ।’ 

उक्त क्षेत्रमा मंगलबारदेखि नै कटान गरिएका रूखका मुढा उखेल्ने र झाडी सफा गर्ने काम सुरु भइसकेको छ । अहिले प्रारम्भिक निर्माणको काम भइरहेको छ । घेरबारको काम पनि सुरु भइसकेको छ । अहिले झन्डा गाडेर सुक्खा बन्दरगाह निर्माणस्थलको क्षेत्र छुट्याइएको छ । अबको तीन वर्षभित्र काम सम्पन्न हुने अपेक्षा गरिएको छ । ‘सुक्खा बन्दरगाहबाट मालसामान आयात मात्रै हुने होइन, यो व्यापारिक पूर्वाधार हो । यहाँबाट पनि युरोप, अमेरिकातिर निर्यात गर्न सकिन्छ,’ गजुरेलले भने, ‘अब हामीले पनि निर्यातका लागि उद्योग स्थापना गर्नुपर्छ ।’ दुई दशकदेखि चर्चा चलेको सुक्खा बन्दरगाह निर्माणको चरण अघि बढेकोप्रति आफू निकै उत्साहित भएको उनले बताए । 

सुक्खा बन्दरगाह निर्माणका लागि कम्ट कन्स्ट्रक्सनले २ अर्ब ४० करोड भारुमा ठेक्का पाएको छ । तीन वर्षभित्र काम सक्ने गरी ठेक्का सम्झौता भएको कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक शर्माले बताए । ‘साइट हस्तान्तरण भइसकेको छ, अब निर्माणपूर्वका कार्य गर्नेछौं,’ शर्माले भने, ‘शिलान्यासपछि भने निर्माण कार्य अघि बढ्नेछ ।’ 

सुक्खा बन्दरगाह निर्माणका लागि दोधारा चाँदनी नगरपालिका–१ मा रहेको गौरीशंकर सामुदायिक वनको ४२.३६ हेक्टरमा पर्ने १ हजार ७ सय २ रूख खाली गरिएको छ । अहिले ती रूखका मुढा हटाउने, झाडी पन्छाउने र खाल्डाखुल्डी भर्ने काम भइरहेको छ । मलेरिया नालादेखि निर्माणस्थल जाने बाटोसमेत निर्माण गरिएको छ । 

सुक्खा बन्दरगाहका लागि ४२ हेक्टरभन्दा बढी जमिन चर्चे पनि अहिले २५.३ हेक्टरमा मात्रै संरचना निर्माण गरिनेछन् । उक्त क्षेत्रमा प्रशासनिक भवन, गोदाम, भान्सार, सुरक्षा, क्वारेन्टिन घर र लोडअनलोड सेड निर्माण गरिनेछ । साथै चारैतर्फ पर्खाल निर्माण गरिनेछ । ‘ढिलै भए पनि सुक्खा बन्दरगाह निर्माणको काम सुरु हुने भएको छ, हाम्रा लागि यो खुसीको कुरा हो,’ आद्योगिक तथा लगानी प्रवर्द्धन बोर्डका समस्यसमेत रहेको व्यवसायी तेज चन्दले भने, ‘यसलाई जति सक्दो चाँडो निर्माण सकेर सञ्चालनमा ल्याउन सबैले प्रयास गर्नुपर्छ ।’ 

सुक्खा बन्दरगाहले सुदूरपश्चिम मात्रै नभई नेपालकै विकासमा सहयोग पुग्ने उनले बताए । आगामी भदौमा प्रधानन्त्रीको भारत भ्रमणका बेला दुई देशका प्रधानमन्त्रीले संयुक्त रूपमा शिलान्यास गर्न सक्ने अपेक्षा गरिएको छ । त्यसपछि मात्रै अन्य संरचना निर्माण गरिने निर्माण कम्पनीले जनाएको छ । सुक्खा बन्दरगाहकै लागि महाकाली नदीमा चार लेनको पक्की पुल निर्माण भइसकेको छ । 

गड्डाचौकीदेखि मलेरिया नालासम्म करिब ८ किलोमिटर पहुँचमार्ग समेत निर्माण भइसकेको छ । केही स्थानमा पहुँचमार्ग कालोपत्र गर्न बाँकी छ । भारततर्फ पनि राष्ट्रिय राजमार्गको चक्करपुरदेखि सुक्खा बन्दरगाहसम्मको पहुँचमार्ग निर्माण भइरहेको छ । दुई वर्षअघिदेखि नै उक्त क्षेत्रमा पहुँचमार्ग निर्माणको काम भइरहेको हो ।

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully