प्रतिस्पर्धा गर्न नसक्दा संकटमा आहारपूरक उद्योग

भारतलगायत मुलुकबाट निर्बाध आयात भइरहेको ‘डाइटेरी सप्लिमेन्ट’ आयातले पर्सा–बारा औद्योगिक करिडोरको परवानीपुरस्थित ‘जयश्री हेल्थकेयर’ रुग्ण अवस्थामा

श्रावण ११, २०८२

शंकर आचार्य

Dietary supplement industry in crisis due to inability to compete

What you should know

काठमाडौँ — विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्दा आहारपूरक उद्योग संकटमा परेको छ । भारतलगायत मुलुकबाट निर्बाध आयात भइरहेको आहारपूरक (डाइटेरी सप्लिमेन्ट) आयातले पर्सा–बारा औद्योगिक करिडोरको परवानीपुरमा रहेको आहारपूरक उद्योग ‘जयश्री हेल्थकेयर’ रुग्ण अवस्थामा पुगेको हो । 

विशेषगरी भारतबाट जभाभाबी ढंगले आयातित ‘डाइटेरी सप्लिमेन्ट’ ले स्वदेशी उद्योगलाई धराशायी बनाउन खोजेको उद्योग सञ्चालक साकेत क्यालको गुनासो छ । सरकारी नीतिका कारण आयातित आहारपूरकहरूसँग स्वदेशी ‘डाइटेरी सप्लिमेन्ट’ उद्योगले प्रतिस्पर्धा गर्न नसकेको उनले बताए । मानव शरीरमा सन्तुलित आहारको कमीलाई परिपूर्ति गर्न ‘डाइटेरी सप्लिमेन्ट’ लिने गरिन्छ । 

सरकारले औषधि उद्योगलाई एक प्रतिशत भन्सार महसुलमा कच्चा पदार्थ र प्याकेजिङ सामग्री ल्याउन दिए पनि आहारपूरकलाई भने २० देखि ४० प्रतिशतसम्म भन्सार महसुल र मूल्य अभिवृद्धिकर निर्धारण गरेकाले उद्योग सञ्चालन गर्नै नसक्ने अवस्था आएको क्यालको भनाइ छ । सरकारले औषधिको कच्चा पदार्थ जस्तै यसको पनि कच्चा पदार्थ आयातमा सहजीकरण गर्नुपर्ने उनले जनाए । 

एक वर्षअघि ४० करोड रुपैयाँ लगानीमा स्थापना गरी सञ्चालित आफ्नो उद्योगले हाल बजारमा २ करोडभन्दा बढीको औषधि बिक्रीवितरणका लागि पठाए पनि ६० लाख रुपैयाँको मात्र बिक्री हुन सकेको उनले बताए । उद्योगले भारतबाट वार्षिक १ करोडदेखि १ करोड ५० लाख रुपैयाँको कच्चा पदार्थ आयात गरिरहेको छ । कम्पनीले हाल ५० जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । उद्योगले ४० प्रकारका फुड सप्लिमेन्ट उत्पादन गर्दै आएको छ । 

नेपालमा गत आर्थिक वर्षमा करिब डेढ अर्ब रुपैयाँ बराबरको ‘डाइटेरी सप्लिमेन्ट’ भारत तथा तेस्रो मुलुकबाट भित्रिएको अवस्थामा स्वदेशी उद्योगलाई पनि सरकारी असहयोग र झन्झटिला कानुनले रुग्ण बनाएको क्यालको आरोप छ । राज्यका सरोकारवाला निकायबाट आवश्यक सहयोग र समन्वय नहुँदा उद्योग सञ्चालन गर्नै समस्या भएको उनले बताए । आयातित ‘फुड सप्लिमेन्ट’ गुणस्तरहीन हुन सक्ने र त्यसले जनस्वास्थ्यमा समेत गम्भीर असर पार्न सक्ने उच्च जोखिम रहे पनि सरोकारवाला निकाय त्यसतर्फ गम्भीर नभएको क्यालको आरोप छ । 

‘डाइटेरी सप्लिमेन्ट’ को नियामक निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको कार्यालयसँग पर्याप्त जनशक्ति र प्राविधिक नहुँदा पनि आवश्यक समन्वय गर्न समस्या भइरहेको क्यालको भनाइ छ । औषधि व्यवस्था विभागले पनि औषधि ऐनको दुरुपयोग गरेर स्वदेशी ‘फुड सप्लिमेन्ट’ लाई औषधि पसलमा बिक्रीवितरणमा अवरोध गर्ने गरेको उनको गुनासो छ । क्यालले विदेशी ‘डाइटेरी सप्लिमेन्ट’ बिनादर्ता र स्वीकृतिबिनै भित्रिने गरेकाले तिनलाई आवश्यक नियमन गर्न आवश्यक रहेको पनि उनले बताए ।

शंकर

Link copied successfully