चनौली वितरण केन्द्रबाट दुई-तीन दिनभित्र निरन्तर विद्युत् आपूर्ति हुन्छ : प्राधिकरण

चनौली ३३/११ केभी सबस्टेसनमा न्यू भरतपुर (बसेनी) सबस्टेसनबाट आउने ३३ केभी लाइनमा अत्यधिक लोडका कारण समस्या देखिएको हो

श्रावण ११, २०८२

कान्तिपुर संवाददाता

Continuous power supply from Chanauli distribution center within two-three days: Authority

What you should know

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले चितवनको चनौली वितरण केन्द्रको कार्यक्षेत्रमा देखिएको विद्युत् आपूर्ति समस्या केवल प्राविधिक रहेको भन्दै समाधानका लागि काम भइरहेको र दुई–तीन दिनभित्र नियमित आपूर्ति सुरु हुने जनाएको छ ।

गर्मीका कारण माग उच्च भएको भन्दै चनौली वितरण केन्द्रले आइतबारदेखि दिनको ६ घण्टा विद्युत् आपूर्ति कटौती हुने सूचना जारी गरेको थियो। बिहान ३ घण्टा र दिउँसोदेखि साँझसम्म ३ घण्टा गरी कुल ६ घण्टा कटौती गरिने जानकारी केन्द्र प्रमुख राजकुमार श्रेष्ठले दिएका थिए । चनौली वितरण केन्द्रबाट पश्चिम चितवन र माडी क्षेत्रमा विद्युत् आपूर्ति हुँदै आएको छ।

‘यसलाई लोडसेडिङ भनेर भन्न मिल्दैन,’ श्रेष्ठले भने, ‘हाल सिँचाइका लागि विद्युत्‌को अत्यधिक माग भएकोले फिडरअनुसार भार व्यवस्थापन गर्नुपरेको हो। पानी नपरेको कारण मोटरहरू चलाउँदा लाइनमा समस्या आएको हो। यो समस्या चाँडै समाधान हुन्छ, मंगलबार वा बुधबारदेखि अवस्था सहज हुनेछ।’

चनौली वितरण केन्द्रमा हाल आठवटा फिडर छन्, जसअनुसार केन्द्रले लाइन अवरुद्ध हुने तालिका सार्वजनिक गरेको थियो। आइतबार एक विज्ञप्ति जारी गर्दै प्राधिकरणले ‘लोडसेडिङ नेपालका लागि इतिहास भइसकेको’ भन्दै यस सम्बन्धमा अतिरञ्जनापूर्ण समाचार प्रकाशन तथा प्रसारण गरिनु अनुचित भएको जनाएको छ।

‘एक दिनका लागि आन्तरिक लोड व्यवस्थापनका लागि सार्वजनिक गरिएको तालिकाले सिर्जना गरेको अन्योलप्रति प्राधिकरण सचेत छ,’ विज्ञप्तिमा उल्लेख छ। प्राधिकरणका अनुसार चनौली ३३/११ केभी सबस्टेसनमा न्यू भरतपुर (बसेनी) सबस्टेशनबाट आउने ३३ केभी लाइनमा अत्यधिक लोडका कारण समस्या देखिएको हो। सो समस्या समाधानका लागि आवश्यक प्राविधिक कार्य भइरहेको जानकारी दिइएको छ।

‘चनौली क्षेत्रको माग दीर्घकालीन रूपमा व्यवस्थापन गर्न बसेनी १३२ केभी सबस्टेसनबाट चनौली सबस्टेसनसम्म नयाँ ३३ केभी लाइन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘नयाँ लाइन सञ्चालनमा आएपछि यस्तो समस्या दीर्घकालीन रूपमा समाधान हुनेछ भन्ने विश्वास लिएको छ।’

प्राधिकरणले हाल देखिएको समस्या लोड व्यवस्थापनसँग सम्बन्धित भएको र वर्षातको कमीका कारण सिँचाइ लोड अत्यधिक बढेकाले लाइन तथा ट्रान्सफर्मरमा आवश्यक अदली–बदली गर्नुपर्दा अस्थायी रूपमा लाइन बन्द गर्नु परेको जनाएको छ। यसलाई ‘लोडसेडिङ तालिका’ भनेर शीर्षकमा प्रचार गर्नु भ्रामक र अनुचित भएको भन्दै आपत्ति जनाएको छ।

‘समाचारको मुख्य शीर्षकमा लोडसेडिङ भन्ने उल्लेख हुनु दु:खद् र कुनै दृष्टिले न्यायोचित छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘जबकि समाचारको विवरणमा प्राधिकरणका पदाधिकारीले यसलाई लोडसेडिङ भन्न नमिल्ने, समस्या चाँडै समाधान हुने भन्ने कुरा नै उल्लेख गरिएको छ।’

कान्तिपुर संवाददाता

Link copied successfully