यही ८ साउनसम्म समय रहेको नारायणगढ–बुटवल सडक विस्तार नसकिएपछि म्याद थपको प्रक्रिया अघि बढेको छ
What you should know
(आँबुखैरेनी, तनहुँ) — बुखैरेनीबाट पोखरातर्फ लाग्दै गर्दा चिल्लो र फराकिलो सडकले सबैलाई आकर्षित गर्छ । यहाँको सडक मार्किङ गरेर थप आकर्षक बनाइएको छ । ४१.४५ किलोमिटर दूरीको आँबुखैरेनी–जामुने खण्डको निर्माण प्रगति ८५ प्रतिशत छ । कालोपत्र सकेर अहिले सडक सुरक्षा, नदी नियन्त्रण, पहुँच सडक र पहिरो नियन्त्रणको काम हुँदै छ । दसैंअघि उक्त खण्डको सम्पूर्ण काम सक्ने लक्ष्य रहेको मुग्लिन–पोखरा सडक योजना, पूर्वी खण्डका प्रमुख प्रकाशचन्द्र भण्डारीले बताए ।
‘लेन मार्किङको काम ९५ प्रतिशत सकिसकेको छ, सडक बीचमा मार्किङ, सडक बत्तीको काम बाँकी छ, तीनवटा चोकमा ट्राफिक संकेत राख्नैछ,’ उनले भने, ‘क्र्यास ब्यारिएरहरू पनि राख्ने तयारीमा छौं ।’ तीन ठूला र १३ वटा साना पुलमध्ये मादी पुलको मात्र निर्माण सकिन बाँकी रहेको उनले बताए । पहिलो खण्डको ठेक्का सम्झौता २०७७ माघ ८ मा भएको हो । काम भने २०७८ वैशाख २ बाट सुरु गरियो । चाइना कम्युनिकेसन्स कन्स्ट्रक्सन कम्पनीले लिएको ठेक्काको म्याद २०८१ वैशाख २ सम्म थियो । उक्त समयभित्र काम नसकिएपछि दोस्रो पटक समय थप गरेर २०८१ असोजसम्म पुर्याइयो ।
फेरि पनि काम नसकिएपछि तेस्रो पटक म्याद थपेर २०८१ फागुनसम्म पुर्याइयो, तर अझै काम सकिएन । अहिले २०८२ असारसम्म म्याद भए पनि काम नसकिएपछि तीन महिना समय थप्ने तयारी रहेको सडक विभाग स्रोतले जनायो । यस खण्डको ठेक्का रकम ६ अर्ब २१ करोड ३१ लाख रुपैयाँ छ । सडक निर्माण सम्पन्न भएपछि पाँच वर्षसम्म ठेक्का लिने कम्पनीले नै यसको मर्मत सम्भारको काम गर्नेछ । पृथ्वी राजमार्गअन्तर्गत आँबुखैरेनी–पोखरा सडक खण्डको कुल दूरी भने ८०.३३ किलोमिटर छ । यसलाई दुई खण्ड आँबुखैरेनी–जामुने र जामुने–पोखरामा विभाजन गरेर विस्तारको काम गरिएको हो ।
दोस्रो खण्ड जामुने–पोखरा खण्डको ठेक्का सम्झौता २०७८ जेठ ३ मा भएको हो । काम भने २०७८ भदौ १३ बाट सुरु भयो । सुरु सम्झौताअनुसार सक्नुपर्ने समयावधि २०८१ भदौ १२ सम्म हो । पछिल्लो पटक थप भएको समय २०८२ पुस १६ सम्म मुख्य सडक संरचना निर्माणको काम सकिने मुग्लिन–पोखरा सडक योजना, पश्चिम खण्डका प्रमुख कृष्णबहादुर कुँवरले बताए । ‘जामुनेदेखि पोखरा सेती पुलसम्म ३८.८८ किमि दूरी छ, जसमा करिब १८.४४ किमि ६ लेन र १९.४४ किमि ४ लेनमा सडक विस्तारको काम भइरहेको छ,’ कुँवरले भने, ‘समग्रमा यस खण्डको भौतिक प्रगति ५५ प्रतिशत छ ।’
बर्खाअघि यात्रु र चालकले धूलो, धूवाँ सहेर यात्रा गर्न नपरोस् भनी एकतर्फी सडक कालोपत्र सक्ने गरी काम गरेको उनले सुनाए । ‘यस खण्डमा अहिले ३७ किमि एकतर्फी कालोपत्र भइसकेको छ,’ कुँवरले थपे, ‘अहिले १५ सय मिटर मात्र पुरानो सडकमा हिँड्नुपर्छ ।’ यस खण्डमा पर्ने १२ मध्ये ११ वटा पुलको काम सकिसकेको उनको भनाइ छ । ‘सेती पुल भने निर्माणाधीन छ, सकिन अझै चार/पाँच महिना लाग्छ,’ उनले भने, ‘अहिले यस खण्डमा कामको गति बढेको छ, बर्खाअघि पहिलो तहको कालोपत्रको काम हुँदैन, यस्तो बेला कालोपत्र गर्दा गुणस्तरीय हुँदैन, परिस्थिति हेरेर मात्र गर्छौं ।’
यसको ठेक्का यानहुई काइयुआन हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले लिएको हो । दुवै खण्डको विस्तार एसियाली विकास बैंक (एडीबी) को सहुलियतपूर्ण ऋणमा अघि बढाइएको हो । ठेक्का रकम ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँ छ । दुवै सडक खण्डमा पर्ने सेती र मादी पुलको ठेक्का छुट्टाछुट्टै गरिएको छ । सेती पुलको ठेक्का रसुवा कन्स्ट्रक्सनले लिएको हो । यसको ठेक्का रकम १ अर्ब ७ करोड २४ लाख रुपैयाँ छ ।
यस खण्डको अहिलेसम्म निर्माण प्रगति ४६ प्रतिशत छ । लम्बाइ १ सय ९० मिटर रहेको र दुई–दुई लेनका दुई पुल निर्माण गरिएको हो । मादी पुलको ठेक्का अनक–जेटआईईसी जेभीले लिएका हुन् । निर्माण प्रगति ७० प्रतिशत छ । ३ सय ९० मिटर लामो यो पुल चार लेनको हुनेछ । दुवै पुलको
ठेक्का २०७९ साउन २६ मा भएको हो । म्याद २०८२ भदौ २१ सम्म मात्र छ । यता मुग्लिनबाट आँबुखैरेनीतर्फ जाने सडक भने अझै साँघुरो छ । अत्यधिक सवारी चाप हुने उक्त खण्डमा मर्स्याङ्दी जलविद्युत् आयोजनाको पावर हाउस पर्छ । फेरि यो अप्ठ्यारो र जटिल खण्डभित्र पर्छ ।
उक्त खण्डको साढे ८ किमि सडकमा ठेक्का व्यवस्थापन हुन सकेको छैन । मुग्लिन पारिबाट सडक निर्माणको ठेक्का प्रक्रिया अघि बढाउने गरी वन तथा वातावरण मन्त्रालयबाट वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) स्वीकृत भइसकेको छ । एडीबीको २०२६ मा सुरु हुने नयाँ आयोजनाअन्तर्गत उक्त खण्डलाई राखेर काम थालिने आयोजना निर्देशनालय (एडीबी) का आयोजना निर्देशक चूडाराज ढकालले बताए ।
नागढुंगा–मुग्लिन सडकमा पहिरो व्यवस्थापन
तीन खण्डमा विभाजन गरेर स्तरोन्नति थालिएको नागढुंगा–मुग्लिन सडक खण्डमा वर्षाका कारण कालोपत्रको काम रोकिएको छ । अहिले तीन वटै खण्डमा पहिरो व्यवस्थापन र रोकथामको काम भइरहेको सडक विभागले जनाएको छ । १२.२६ किलोमिटरको नागढुंगा–नौबिसे सडक खण्डअन्तर्गतको पहिलो खण्डमा पहिलो तहको कालोपत्र सकिएको छ ।
यही खण्डमा दोस्रो तहको कालोपत्र ५.५ किमि सकिइसकेको छ । तेस्रो तहसम्म सडक कालोपत्र गरिने भए पनि बर्खाअघि सम्भव नरहेको नागढुंगा–मुग्लिन सडक योजना पूर्वी खण्डका प्रमुख केशवप्रसाद ओझाले बताए । नागढुंगा–नौबिसे खण्डको समग्र भौतिक प्रगति ८४ प्रतिशत छ । यस खण्डको स्तरोन्नतिको ठेक्का १ अर्ब ३० करोड रुपैयाँमा जाङ्सु–सगुन जेभीले लिएका हुन् । यही खण्डको खानीखोलामा अपांगमैत्री आकाशे पुल बनाउन लागिएको पनि ओझाले जनाए ।
झ्याप्ले खोलामा विशेष प्रकृतिको स्लोप स्टेब्लाइजेसन (पहिरो नियन्त्रण) को काम भइरहेको छ । यसको काम सकिएपछि मात्र कालोपत्र गरिनेछ । ‘कालोपत्र गर्ने काम बर्खाअघि गर्ने छैनौं, बर्खामा सवारी आवागमन सहज बनाउने गरी काम गरिरहेका छौं,’ उनले भने, ‘स–साना खण्डमा मौसम अनुकूल पारेर घाम लागेका बेला मात्र कालोपत्र गरेका छौं ।’
दोस्रो खण्डमा पर्छ, नौबिसे–मलेखु खण्ड । यसको दूरी ४३.५४ किमि छ । यस खण्डको ठेक्का ५ अर्ब ३३ करोड १९ लाखमा जेडआईसीजी–शर्मा–लामा जेभीले लिएका हुन् । यसको भौतिक प्रगति ४२ प्रतिशत छ । उक्त खण्डमा दुवैतर्फी गरेर १५ किमि सडकमा पहिलो तहको कालोपत्र गरिएको छ । यसमा भने दोस्रो तहको कालोपत्रको काम हुन सकेको छैन । बर्खामा कालोपत्र गर्दा टिकाउ नहुने भएकाले नगरिएको प्रमुख ओझाले बताए । यी दुवै खण्डमा बर्खा कम भएपछि भदौ अन्तिमबाट कालोपत्रको काम थालिने योजना कार्यालयले जनायो । तेस्रो खण्डमा पर्छ, मलेखु–मुग्लिन । ३८.८६ किमि दूरीको यो खण्डको प्रगति ३१ प्रतिशत छ ।
शर्मा–जेडआईसीजीले ४ अर्ब ८० करोड ५९ लाख रुपैयाँमा यस खण्ड स्तरोन्नतिको ठेक्का लिएका हुन् । १५ पुस २०७९ मा भएको सम्झौताअनुसार पुस २०८२ भित्र काम सक्नुपर्ने हो । बजार क्षेत्रमा चार लेन सडकमा कालोपत्र गरिएको नागढुंगा–मुग्लिन सडक योजना, पश्चिम खण्डका प्रमुख केदारप्रसाद नेपालले बताए । उक्त खण्डमा अहिलेसम्म ८.१४ किमि मात्र सडक कालोपत्र गरिएको छ । ‘बर्खा लाग्यो, अब कालोपत्रको काम हुँदैन,’ उनले भने, ‘अब जोखिम क्षेत्रमा पहिरो रोकथामको काम गर्ने, कालोपत्र गर्नका लागि निर्माण सामग्री तयारी अवस्थामा राख्नेछौं,’ नेपालका अनुसार बर्खामा कालोपत्र गर्दा गुणस्तरहीन हुने भएकाले रोकिएको हो ।
‘बर्खामा कालोपत्र गर्दा टिकाउ हुँदैन,’ उनले भने, ‘अब भदौ अन्तिमबाट कालोपत्र थाल्छौं ।’ नागढुंगादेखि मुग्लिनसम्मको दूरी ९४.६६ किमि छ । यो खण्ड भएर दैनिक १२ हजार सवारीसाधन ओहोरदोहोर गर्छन् । गत असोजमा परेको पानीले गर्दा कृष्णभीरमा करिब ८० मिटर लम्बाइमा सडक दबिएको उनले बताए । ‘बाटो नै बन्द हुने अवस्था त छैन,’ नेपालले भने, ‘पहिलो चरणमा पाइलिङको काम गरेका छौं, यो सकिने चरणमा छ, अर्को चरणमा नदीबाट कटान भएको ठाउँमा चेक ड्याम बनाउने काम अघि बढाउँछौं ।’
नारायणगढ–बुटवल सडक विस्तारमा एक वर्ष लाग्ने
नारायणगढ–बुटवल सडक विस्तार थालेको ७ वर्ष भयो । २०७५ चैतमा ठेक्का सम्झौता भएअनुसार यसको काम २०७९ साउनभित्र सकिसक्नुपर्ने हो । तर, कोभिड–१९ र निर्माण सामग्री अभावको कारण देखाएर पहिलो पटक २०८० साउन ११ सम्मका लागि म्याद थप भएको थियो । तर, उक्त समयभित्र पनि काम सकिएन । दोस्रो पटक २०८१ साउन ८ सम्म म्याद थप गरियो, काम सकिएन ।
तेस्रो पटक २०८२ साउन ८ सम्मका लागि म्याद थप गरिएको छ । अहिलेसम्म निर्माण प्रगति ६९ प्रतिशत मात्र छ । १ सय १३ किलोमिटर दूरी रहेको सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का गरिएको छ । ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले लिएको हो । यसको दुई खण्ड गरेर ठेक्का रकम १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रुपैयाँ छ ।
यो वर्ष दाउन्ने र विनयी खोला पुलले निकै नै समस्या दिएको आयोजना निर्देशनालय (एडीबी) का आयोजना निर्देशक चूडाराज ढकालले बताए । ‘विनयी खोलाको पुल भाँचिएर सवारीसाधन सञ्चालनमा समस्या भएको थियो,’ उनले भने, ‘त्यही भाँचिएकै ठाउँमा निर्माणाधीन पुल सञ्चालनमा आएपछि अहिले सहज भएको छ ।’ दाउन्नेमा विश्वकर्मा मन्दिरबाट दुम्किबासतर्फ कल्भर्ट बनाउन गहिरो खाडल खन्दा समस्या भएको उनले सुनाए ।
‘समस्या आएपछि काम बन्द गरेर खाडल पुर्न लगायौं, तर बर्खाले गर्दा गहिरो खाडलका कारण समस्या आयो,’ उनले भने, ‘बर्दघाट नजिकै पनि बेला–बेला पहिरो खसेर समस्या हुने गरेको छ ।’ बर्खाका बेला कालोपत्र लगायतको काम नहुने उनले सुनाए । ‘दाउन्नेको काम दसैंभित्र सकिन्छ, पूरै आयोजनाको काम सकिन एक वर्ष लाग्छ, त्यसका लागि म्याद थप हुने प्रक्रियामा छ’ उनले भने, ‘समग्रमा अहिलेसम्म १ सय किमि सडक कालोपत्र भएको छ, जसमा दुईतर्फी कालोपत्र ८० किमि सडकमा गरिएको छ ।’
