गत सातासम्म बैंक तथा वित्तीय संस्थामा जम्मा भएको कुल निक्षेप ७२ खर्ब ४५ अर्ब रुपैयाँ, कुल निक्षेप नेपालको कुल गार्हस्थ्य उत्पादनको अनुपातमा करिब ११४ प्रतिशत
What you should know
काठमाडौँ — हामीले आफ्नो आवश्यकता पूरा गरेपछि बचेको धेरथोर पैसा बैंकमा बचत गरेका हुन्छौं । अनुमान गर्नुस्, तपाईं–हामी सबैले बैंक तथा वित्तीय संस्थामा जम्मा गरेको कुल पैसा कति पुग्यो होला ?
यसको उत्तर राष्ट्र बैंकसँग तयारी अवस्थामा छ । गत सातासम्म बैंक तथा वित्तीय संस्थामा जम्मा भएको कुल निक्षेप ७२ खर्ब ४५ अर्ब रुपैयाँ छ । यो नेपालको अर्थतन्त्रको आकारभन्दा धेरै हो । गत सातासम्मको कुल निक्षेप नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को अनुपातमा करिब ११४ प्रतिशत हो ।
हामीलाई थाहा छ । बैंक तथा वित्तीय संस्था वित्तीय मध्यस्थकर्ता हुन् । छरिएर रहेको बचत संकलन गरेर आवश्यक परेका मानिसलाई ऋण दिने काम गर्ने भएकाले बैंक तथा वित्तीय संस्थालाई वित्तीय मध्यस्थकर्ता भनिएको हो । यसकारण बैंक तथा वित्तीय संस्थाले करिब साढे ७२ खर्ब रुपैयाँको बढीमा ९० प्रतिशत रकम आवश्यक भएका मानिसलाई ऋणका रूपमा कर्जा दिन पाउँछन् ।
तर पछिल्ला वर्षमा अर्थतन्त्र अपेक्षित रूपमा सुध्रिन सकेको छैन । आर्थिक गतिविधि विस्तार हुन सकेको छैन । यसकारण बैंक तथा वित्तीय संस्थाले हाल कुल निक्षेपको ७५.७६ प्रतिशत बराबर रकम (५५ खर्ब ६३ अर्ब रुपैयाँ) मात्र कर्जा प्रवाह गरेका छन् । यो नेपालको कुल जीडीपीको अनुपातमा करिब ९१ प्रतिशत हो । यसका आधारमा अहिले पनि बैंक तथा वित्तीय संस्थामा कर्जा दिन मिल्ने करिब साढे १० खर्ब रुपैयाँ थुप्रिएको छ ।
गत सातासम्म बैंक तथा वित्तीय संस्थामा ५ करोड ९४ लाख निक्षेप खाता खुलेका छन् । सोही अवधिमा १९ लाख ६६ हजार ऋण खाता खुलेका छन् । यसरी हेर्दा करिब ६ करोड निक्षेप खातामार्फत संकलन गरेको बचत करिब साढे १९ लाख ऋणीले उपयोग गरेका छन् । ऋणीको वितरण हेर्दा कुल कर्जामध्ये १ करोड रुपैयाँभन्दा बढी ऋण उपयोग गरेका ऋणीहरू करिब ३ प्रतिशत मात्र छन् । ती ऋणीले कुल कर्जाको ४९ प्रतिशतभन्दा बढी ऋण उपयोग गरिरहेका छन् । बाँकी ९७ प्रतिशत ऋणीले ५१ प्रतिशत कर्जा उपयोग गरेको राष्ट्र बैंकको तथ्यांक छ ।
प्रदेशगत रूपमा निक्षेप र कर्जाको उपयोग हेर्दा भने बागमतीको हिस्सा सबैभन्दा बढी छ । मुलुक संघीयतामा गएसँगै वित्तीय सेवा पनि विकेन्द्रित गर्ने राज्यको उद्देश्य भए पनि त्यसअनुरूप काम हुन नसकेको राष्ट्र बैंकको आर्थिक गतिविधि अध्ययनले देखाएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको अर्धवार्षिक आर्थिक गतिविधि अध्ययनले बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपको करिब ६७ र कर्जा प्रवाहको करिब ५९ प्रतिशत बागमती प्रदेशमै रहेको देखाएको हो ।
प्रतिवेदनअनुसार गत पुससम्म बागमतीबाट बैंक तथा वित्तीय संस्थाले संकलन गरेको कुल निक्षेप ४४ खर्ब ७४ अर्ब ६० करोड रुपैयाँ छ । यो सोही अवधिको कुल निक्षेप संकलनको तुलनामा ६६.९६ प्रतिशत हो । गत पुससम्म बैंक तथा वित्तीय संस्थाले बागमतीमा मात्र ३२ खर्ब २१ अर्ब ३८ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो सोही अवधिको कुल कर्जा प्रवाहको ५९.३० प्रतिशत हो ।
‘२०८१ पुस मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाले परिचालन गरेको कुल निक्षेपमा बागमतीबाट परिचालन गरिएको निक्षेपको अंश सबैभन्दा धेरै ६६.९६ प्रतिशत छ भने सबैभन्दा कम कर्णालीको १.११ प्रतिशत छ,’ राष्ट्र बैंकको प्रतिवेदनमा भनिएको छ, ‘बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कुल कर्जाको सबैभन्दा बढी कर्जा बागमतीमा ५९.३० प्रतिशत प्रवाह भएको छ । सबैभन्दा कम कर्जा कर्णालीमा १.०९ प्रतिशत प्रवाह भएको छ ।’
पुस मसान्तसम्म नेपालभर बैंक तथा वित्तीय संस्थाका ११ हजार ५ सय ५४ वटा शाखा सञ्चालनमा छन्, जसमध्ये वाणिज्य बैंकका ५ हजार ७८, विकास बैंकका १ हजार १ सय ३२, वित्त कम्पनीका २ सय ९१, लघुवित्त वित्तीय संस्थाका ५ हजार ४४ शाखा छन् । यसमध्ये बागमतीमा
सबैभन्दा बढी ३ हजार ४१ शाखा छन् भने कर्णालीमा सबैभन्दा कम ४ सय ७७ शाखा सञ्चालनमा छन् ।
गत पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले सेवा क्षेत्रमा प्रवाह गरेको कर्जा ३३ खर्ब ६७ अर्ब ५८ करोड पुगेको छ । गत वर्षको सोही अवधिको तुलनामा यस्तो कर्जा १८.१६ प्रतिशतले बढेको हो । गत वर्षको पहिलो ६ महिनामा यस्तो कर्जा ५.६६ प्रतिशतले घटेर २८ खर्ब ४९ अर्ब ९६ करोड थियो ।
२०८१ पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित विपन्न वर्ग कर्जा १.०९ प्रतिशतले घटेर ३ खर्ब १८ अर्ब ७५ करोड कायम भएको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा ०.५ प्रतिशतले बढेर ३ खर्ब २२ अर्ब २७ करोड पुगेको थियो । समीक्षा अवधिमा कुल विपन्न वर्ग कर्जामा बागमतीमा प्रवाहित कर्जाको हिस्सा सबभन्दा धेरै ५४.५३ प्रतिशत छ । सबैभन्दा कम भने १.३८ प्रतिशत हिस्सा कर्णाली प्रदेशको छ ।
बागमतीमा विपन्न वर्ग कर्जाको वृद्धिदर सबैभन्दा धेरै १४.०६ प्रतिशत छ भने सुदूरपश्चिममा उक्त कर्जाको प्रवाहमा सबैभन्दा धेरै २३.३६ प्रतिशतले ह्रास आएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।
गत आर्थिक वर्ष बैंक तथा वित्तीय संस्थाले ७ खर्ब ९६ अर्ब निक्षेप संकलन र ४ खर्ब ३१ अर्ब कर्जा प्रवाह गरेका छन् । यसरी निक्षेप संकलन र कर्जा विस्तारको अन्तर फराकिलो बन्दै जान थालेपछि राष्ट्र बैंकले लामो अवधिका लागि पैसा झिक्नुपर्ने अवस्था आएको हो ।
गत आर्थिक वर्षमा राष्ट्र बैंकले साढे १२ प्रतिशतले कर्जा विस्तार गर्ने लक्ष्य तय गरेको छ । यो लक्ष्य पूरा गर्न बैंक तथा वित्तीय संस्थाले ६ खर्ब ८२ अर्ब रुपैयाँ कर्जा विस्तार गर्नुपर्थ्यो । तर गत असारसम्म बैंकहरूले प्रवाह गरेको कर्जा लक्ष्यभन्दा २ खर्ब ५१ अर्ब रुपैयाँले कम छ ।
अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ७ खर्ब ४२ अर्ब निक्षेप संकलन हुँदा २ खर्ब ९१ अर्ब रुपैयाँ कर्जा विस्तार भएको थियो । अघिल्लो वर्ष साढे ११ प्रतिशत कर्जा विस्तारको लक्ष्य लिएको राष्ट्र बैंकले गत वर्षका लागि साढे १२ प्रतिशतको लक्ष्य तोक्यो, यो आफैंमा महत्त्वाकांक्षी थियो । किनकि गत वर्षको असारमा पनि राम्रोसँग कर्जा विस्तार हुने आधार तयार भइसकेको थिएन । यद्यपि चालु आर्थिक वर्षका लागि राष्ट्र बैंकले १२ प्रतिशत कर्जा विस्तारको लक्ष्य तोकेको छ ।
