आडैमा खोला, रोपाइँ छैन छल्दीफाँटमा

छिप्पियो बीउ, भएन रोपाइँ

श्रावण १०, २०८२

सन्तोष महतारा

There is a river in the middle, there is no planting in Chaldifant

What you should know

गुल्मी — खेतमै आवाज आउने गरी छल्दी खोला सुसाइरहेको छ । तर गुल्मीको इस्मा गाउँपालिका–२ छल्दीफाँटमा किसानले धान रोप्न पाएका छैनन् ।

खडेरीका कारण तराइ मधेशका अधिकांश स्थानका किसानले रोपाइँका लागि खेपिरहेको सास्ती र छल्दीफाँटका किसानको सास्ती भने फरक छ ।

छल्दी खोला आडैमा रहेको फाँटमा सिँचाइ सुविधा नहुँदा बगिरहेकै खोला छेउमा किसानले धान रोप्न पाएका छैनन् । किसानले यो फाँटमा आकाशे पानी खेतमा जम्मा भएपछि वा खेतकै छेउकुनामा मूल फुटेपछि धान रोप्ने गरेका छन् । खोला र खेतको दूरी त्यत्ति छैन, मात्र अग्लो र होचो स्थानले किसानलाई समस्या भइरहेको छ । कुनै समय कुलोबाटै खोलाको पानी खेतमा आउँथ्यो तर बिस्तारै खोला गहिरिँदै गएपछि खेतको उचाइ बढ्दै गयो ।

यस वर्ष अहिलेसम्म पर्याप्त वर्षा नहुँदा छल्दीफाँटमा ६० जना किसानको ३ सय रोपनी खेतमा रोपाइँ हुन सकेको छैन । छेउमै छल्दी खोला बगिरहे पनि आडैको खेतमा धान रोपाइँ नभएको अगुवा किसान टिका रेश्मीले बताए । ‘आकाशे पानी भर पर्दा हालसम्म पनि रोपाइँ सुरु भएको छैन,’ उनले भने, ‘बाँध बाधेको पटकपटक बगायो, अहिले मोटरबाट तान्ने सोच्दैछौं ।’ अर्का किसान टेकबहादुर नेपालीले पानी नपर्दा र नजिकैको पानी खेतमा लिन नसक्दा रोपाइँ हुन नसकेकोमा गुनासो गरे । ‘बीउ राख्दा पनि पानीकै समस्या हुँदा धुले बिउ समेत राखिएको छ,’ उनले भने, ‘समयमै रोपाइँ नहुँदा बिउ छिप्पिएर समस्या हुने भयो ।’

There is a river in the middle, there is no planting in Chaldifant

झन्डै ४० वर्षअघिसम्म स्वामीका रुखबाट छल्दीखोलाको पानी कुलोबाटै फाँटमा लिएर रोपाइँ हुने गरेको स्थानीय जंगबहादुर खत्रीले बताए । ‘पहिले त कुलोबाटै रोपाइँ हुन्थ्यो, आकाशेपानी पर्खनुपरेको थिएन,’ उनले भने, ‘बिस्तारै खोलाले खोल्दै तल गयो, कुलो संरक्षण भएन ।’ उनले भने १५ वर्षअघि पनि गुर्वा मसानघाट कुलो ल्याएको तर उक्त कुलो पनि पुरानै अवस्था भएको बताएका थिए ।

अक्कलझुक्कल परेको पानीले मूल नफुट्दा छल्दीफाँटका किसान मारमा छन् । रेश्मी र नेपाली मात्रै होइन, पूर्ण श्रेष्ठ, यादव पाण्डे, जंगबहादुर खत्री र बिष्णु खत्रीलगायत ६० जना किसान समयमै धान रोपाइँ नहुँदा चिन्तित छन् । छल्दीखोला बाँध बानेर सिँचाइ गर्ने भनिए पनि पटकपटक असफल भएपछि बिजुली मोटरको प्रयोग गरेर खेतमा पानी पुर्‍याउने सोचमा किसान रहेका छन् । अझै केही समय पानी नपरे छल्दी खोलाको पानी मोटरबाट खेतमा तान्ने तरखरमा रहेका छन् ।

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी शिवप्रसाद बन्जाडेले बिहीबारसम्म ८३ प्रतिशत धान रोपाइँ भएको बताए । उनले मकै र धान खेती गर्ने फाँटबाहेक अन्यत्र रोपाइँ भएको बताए । गुल्मीमा चैते धान ३ सय १९ हेक्टर र बर्से धान ७ हजार १ सय २० रोपनी क्षेत्रफल खेतमा धान रोपाइँ हुने गरेको छ । यस क्षेत्रमा रामधान, खुमल, हंसराज, मकवानपुर, जडन र लामे लगायत जातको धान रोपिन्छ । कृषि ज्ञान केन्द्र गुल्मीका अनुसार ३ हजार ६ सय २६ हेक्टर क्षेत्रफलमा सिँचाइको सुविधा छ । बाँकी क्षेत्रफलको खेतमा सिँचाइको सुविधा पर्याप्त छैन ।

सन्तोष

Link copied successfully