विमानस्थलभित्रको भौतिक प्रगति ६० प्रतिशत

श्रावण ९, २०८२

कान्तिपुर संवाददाता

Physical progress within the airport is 60 percent

What you should know

काठमाडौँ — वार्षिक १ करोड यात्रुलाई सेवा दिने उद्देश्यले ५ वर्षयता सुरु गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रको पूर्वाधार विस्तार ६० प्रतिशत सकिएको छ ।

विमानस्थलभित्र सञ्चालित तीन फरक–फरक आयोजनाको भौतिक प्रगति ६० प्रतिशत हाराहारी सकिएको नेपाल नागरिक उड्डयन प्राधिकरण मातहतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजना निर्देशक इन्जिनियर दीपेन्द्र श्रेष्ठले जनाए । 

पूर्वाधार विस्तार गर्न गएको हिउँदमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राति १० देखि बिहान ८ बजेसम्म १० घण्टा बन्द गरेर पूर्वाधार विस्तारका काम गरिएको थियो । हाल भने विमानस्थल बिहान ६ बजे खुलेर राति १२ बजेसम्म सञ्चालन हुन्छ । आन्तरिक र 

अन्तर्राष्ट्रिय गरी दुवै क्षेत्रका झन्डै १ करोड यात्रुलाई वार्षिक सेवा दिने उद्देश्यले धावनमार्ग जोड्ने ट्याक्सी–वे, अन्तर्राष्ट्रिय एप्रोन, ह्यांगर निर्माणको काम भइरहेको छ । 

नेपाल सरकार र नागरिक उड्डयन प्राधिकरणको संयुक्त ७ अर्ब हाराहारी लगानीमा अन्तर्राष्ट्रिय एप्रोन र उक्त एप्रोनलाई उत्तरतर्फको रनवेसँग जोड्ने ट्याक्सी–वे निर्माणको काम भइरहेको छ । यो काम सन् २०२० अगस्ट २० बाट सुरु गरिएको थियो । यो काम ७५ प्रतिशत सकिएको छ । चिनियाँ ठेकेदार कम्पनी एभिक इन्टरनेसनले गरिरहेको यो काम २०२६ फेब्रुअरीमा सक्ने योजना छ ।  

विमानस्थलभित्रको दोस्रो ठेक्का हो, जहाजघर (ह्यांगर) का लागि पूर्वाधार निर्माण । विमानस्थलको पूर्वी भागमा नेपाली सेना, नेपाल वायुसेवा निगम, यती एयरलाइन्स, श्री एयरलाइन्सलगायत वायुसेवा कम्पनीका लागि करिब ४ अर्ब रुपैयाँमा ह्यांगर क्षेत्र निर्माण भइरहेको छ । यो काम ४५ प्रतिशत सकिएको छ ।  २०२२ नोभेम्बरदेखि सुरु गरिएको यो काम २०२६ अक्टोबरमा सक्ने लक्ष्य छ । यसमा एसियाली विकास बैंकको ७८ प्रतिशत ऋण लगानी छ भने बाँकी २२ प्रतिशत रकम नेपाल नागरिक उड्डयन प्राधिकरणको छ । यो परियोजनामा चिनियाँ कम्पनी एभिक, केडीएन र सीसीईसीसीजेभी छन् ।

विमानस्थलभित्रको तेस्रो परियोजना धावनमार्गसँग समानान्तर ट्याक्सी–वे निर्माण सञ्चालनको काम ६० प्रतिशत सकिएको छ । सन् २०२२ डिसेम्बरदेखि सुरु भएको यो परियोजनाको २०२६ अक्टोबरमा समापन हुने भनिएको छ । ४ अर्ब रुपैयाँ हाराहारी लगानीको यो परियोजना चिनियाँ कम्पनी गान्सुले निर्माण गरिरहेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully