चार लेन गाडी कुद्ने नेपालको पहिलो पुल हो यो
What you should know
काठमाडौँ — कुनै बेला मुग्लिङ–पोखरा सडक यात्रा अत्यन्त कष्टकर हुने गर्दथ्यो । हिजोआज मुग्लिङ–पोखरा सडकखण्डको यात्रा आनन्ददायी छ । मुग्लिङबाट पोखरा पुग्न धेरै कष्ट खेप्नु पर्दैन । अहिले सो सडकखण्डको धेरै काम सकिएको छ भने अझै पनि केही पुलहरू बन्ने क्रममा छन् ।
मुग्लिङ–पोखरा सडक पूर्वीखण्डका योजना प्रमुख प्रकाशचन्द्र भण्डारी मुग्लिङ–पोखरा सडक पूर्वीखण्डस्थित मादी नदी नेपालकै पहिलो पटक चार लेनको ठूलो पुल बनिरहेको बताउँछन् । उनका अनुसार त्यो पुलको लम्बाइ ३१८ मिटर रहेको छ ।
‘चार लेन गाडी कुद्ने नेपालको पहिलो पुल हो । नेपाल सरकारले पुलको डिजाइन गरेपछि निर्माणकर्ताले फेरि डिजाइन गरेको हो । डिजाइनको सम्पूर्ण जिम्मेवारी निर्माण कम्पनीकै हो । मर्मत सम्भार अवधि ५ वर्षको हो । यसको सम्झौता रकम १ अर्ब २१ करोड हो । पुलको ७१ प्रतिशत वित्तीय प्रगति भएको छ,’ उनले भने । प्रमुख भण्डारीका अनुसार नेपाली ठेकेदारले डिजाइन गरेर पहिलो पटक चार लेनको पुल बनाइरहेको छ । ७ सेक्टेम्बर २०२२ मा यो पुल बनाउन सम्झौता भएको थियो ।
६ सेक्टेम्बर २०२५ मा पुल निर्माणको समय सकिँदैछ । सम्झौता भएको १३ महिनापछि डिजाइन स्वीकृत भएको र आजको दिनमा ७१ प्रतिशत वित्तीय प्रगति सकारात्मक रहेको भण्डारीले बताए । आगामी पुस–माघसम्ममा पूर्ण रूपमा पुल सम्पन्न हुने उनले बताए । । यो पुलको काम नेपाली निर्माण कम्पनी एनके निर्माण सेवाले गरिरहेको छ ।
