संवेदनशील मानिएको सिनामंगल हवाई इन्धन डिपो सर्ने निश्चित

१५ हजार किलोलिटर क्षमताको हवाई इन्धन डिपो बनाउन ६ अर्ब ५४ करोड रुपैयाँ लाग्ने अनुमान

श्रावण ८, २०८२

राजु चौधरी

The sensitive Sinamangal Air Fuel Depot is sure to be moved

What you should know

काठमाडौँ — अति संवेदनशिल मानिएको सिनामंगल हवाई इन्धन डिपो सर्ने निश्चित भएको छ । नयाँ डिपो बनाउन चाहिने विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिएसँगै डिपो सर्ने निश्चित भएको हो ।

२०८१ असार २८ को मन्त्रिपरिषद् बैठकले जोखिममा रहेको सिनामंगल डिपो स्थानान्तरण गर्ने निर्णय गरेको थियो । सरकारको निर्णयसँगै नेपाल आयल निगम, हवाई इन्धन डिपो सिनामंगलले डीपीआर तयार गर्न त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (कन्सल्टेन्सी सेवा) पुल्चोकलाई जिम्मा दिएको थियो । र डीपीआरका लागि इन्जिनियरिङ अध्ययन संस्थानसँग २०८१ मंसिर ५ मा सम्झौता भएको थियो ।

अध्ययन संस्थानले ८ महिना लगाएर बनाएको डीपीआर प्रतिवेदन निगमलाई बुझाएसँगै संवेदनशील मानिएको डिपो सर्ने निश्चित भएको हो । बिहीबार आयोजित कार्यक्रममा इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका सहायक डिन सुरज लामिछाने र सहप्राध्यापक नारायण गौतमले सिनामंगल डिपो प्रमुख प्रदीकुमार यादव र लेखा प्रमुख प्रचण्ड पाठकलाई डीपीआर हस्तान्तरण गरे । डीपीआरमा डिपो स्थानान्तरण गर्न ६ अर्ब ५४ करोड २९ लाख ५ हजार ५७ रुपैयाँ लागत लाग्ने अनुमान छ ।

‘प्रस्तावित निर्माण हुने डिपो अत्याधुनिक तथा पूर्ण रूपमा स्वचालित एलथ्री लेभल अटोमेसनयुक्त हुन्छ । अमेरिकी पेट्रोलियम इन्स्टिच्युटले तोकेको सुरक्षा मापदण्डअनुसार नयाँ डिपो बन्छ,’ डिपो प्रमुख यादवले भने । इन्धन भण्डारणका लागि ३ हजार किलोलिटरका ५ वटा भर्टिकल ट्यांक निर्माण हुने र भविष्यमा भण्डारण क्षमता बढाउन खाली स्थान निर्माण गरिने जनाइएको छ ।

यस परियोजनाअन्तर्गत इन्धन लोडिङ/अनलोडिङका लागि क्रमशः ६ र ८ वटा ‘वे’ निर्माण हुने गर्ने योजना छ । अन्तर्राष्ट्रिय उडानका जहाजमा इन्धन भर्न ७ पिट हाइड्रेन्ट रिफ्युलिङ सिस्टम र २ वटा रिफ्युलिङ डिस्पेन्सर निर्माण हुने निगमको भनाइ छ ।

हाल सञ्चालमा रहेको डिपोलाई गुह्येश्वरीस्थित नेपाली सेनाको गल्फ कोर्समा स्थानान्तरण गर्ने सरकारको योजना छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले हवाई इन्धन डिपो स्थानान्तरण गर्न विमानस्थलको उत्तर–पश्चिमतर्फ ‘अन्तर्राष्ट्रिय एयरक्राफ्ट पार्किङ एप्रोन’ को पश्चिमतर्फ रनवेको केन्द्र रेखादेखि ५ सय मिटभन्दा टाढा अवस्थित हुने गरी स्थान तोकेको छ । जग्गाको मूल्यका विषयमा विमानस्थलभित्र रहेका सबै स्थानका जग्गा समान रहेको, विगतमा उक्त जग्गा डिपोका लागि नै अधिग्रहण गरिएको र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) मापदण्डले स्थानान्तरण गर्नु आवश्यक रहेको जनाएको छ ।

The sensitive Sinamangal Air Fuel Depot is sure to be moved

डिपो स्थानान्तरणका क्यानले करिब २ सय रूख काट्नुपर्छ । रूख काट्न मन्त्रिपरिषद्ले २०७७ सालमै अनुमति दिइसकेको छ । तर जग्गा खाली गर्न क्यानले ढिलाइ गर्दैर् आएको छ । अहिले अलिअलि खाली गर्ने काम सुरु भएको डिपो प्रमुख यादवले बताए । ‘आगामी भदौमा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्छौं । ४५ दिनको टेन्डर हुन्छ । अर्को १५ दिनमा निगम र पुल्चोकका इन्जिनियिरहरुको सहयोगमा मूल्यांकन सकेर आउँदो मंसिरमा काम सुरु गर्छौं । २०८४ मंसिरभित्र नयाँ डिपोबाट हवाई इन्धन वितरण सुरु गर्छौं,’ यादवले भने, ‘क्यानले जग्गा चाँडो उपलब्ध गराए दुई वर्षभित्रै निर्माण सक्छौं ।’

सौर्य एयरलाइन्सको जहाज दुर्घटनापछि २८ साउन २०८१ मा प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थलभित्र रहेको डिपो स्थानान्तरण गर्न निर्देशन दिएका थिए । त्यसको भोलिपल्ट उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, कार्यकारी निर्देशक चण्डिका भट्टसहितको टोलीले जग्गा निरीक्षणसमेत गरेको थियो । निरीक्षणपछि मन्त्री भण्डारीले पनि तत्काल स्थानान्तरण गर्न भनेका थिए ।

सुरक्षाका दृष्टिले अति संवेदनशील मानिएको उक्त डिपोलाई दीर्घकालीन रूपमा प्रयोग हुने गरी सार्नुपर्ने सांसदले समेत माग गर्दै आएका छन् । गत भदौमा भएको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा प्रायः सांसदले डिपो तत्काल सार्न माग गरेका थिए । निमगले पनि स्थानान्तरणमा चासो दिएको थियो । डीपीआर बनेपछि अब गति लिने निगमको दाबी छ । दुई महिनामा साइट क्लियरेन्स गरिदिन यादवले क्यानसँग आग्रहसमेत गरे ।

निगमले डिपो निर्माण गर्ने स्थानमा जग्गा चार किल्ला छुट्याई नागरिक उड्डयन प्राधिकरणले साइट क्लियरेन्सको काम अगाडि बढाएको छ । ‘अन्तर्राष्ट्रिय मापदण्डअनुसार रनवेदेखि ट्याक्सी वेसम्म १७२.५ मिटर हुनुपर्छ । अहिले ९० मिटर मात्रै छ । क्यानले गुरुयोजनाअनुसार विमानस्थल विस्तार गर्दा निगमको भर्टिकल ट्यांक भित्रै पर्छ,’ निगमका इन्जिनियर अनुपम पराजुलीले भने, ‘अहिलेको डिपो धेरै पुरानो पनि भयो । नयाँ प्रविधि अवलम्बन गर्न पुरानो पूर्वाधारले मिल्दैन ।’

राजु चौधरी चौधरी कान्तिपुरमा उद्योग, वाणिज्य तथा आपूर्ति एवं उपभोक्ता, कृषि तथा आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully