धेरै सेयर मूल्य बढ्ने पाँच कम्पनी ट्रेड टावर, सान्भी इनर्जी, ग्रिन भेन्चर्स, लिवर्टी इनर्जी र बेस्ट फाइनान्स
What you should know
काठमाडौँ — अघिल्ला ६ दिन लगातार उच्च अंकले बढेको नेप्सेमा बुधबार ५.१७ अंकको मात्र सुधार भएको छ । अघिल्ला ६ दिन लगातार बढेको बजारमा लगानीकर्ताले नाफा सुरक्षित गर्न खाजेपछि बुधबार नेप्से उच्च अंकले बढ्न नसकेको हो । बरु कारोबार अवधिको अधिकांश समय नेप्से घटेको थियो ।
अन्तिम समयमा फेरि केही कम्पनीको खरिद चाप बढेपछि समग्र नेप्से ५.१७ अंकले सुधार देखिएको हो । यससँगै समग्र नेप्से २ हजार ९ सय ७८.८८ विन्दुमा पुगेर बन्द भएको छ । अघिल्ला ६ कारोबार दिन सेयर बजार उकालो लाग्दा समग्र नेप्से करिब २ सय ४८ अंकले बढेको छ । यही बढेको बजारमा लगानीकर्ताले नाफा सुरक्षित गर्न सेयर बिक्री गर्न थालेपछि दिनभर बजारमा बिक्री चाप बढेको लगानीकर्ता बताउँछन् ।
‘कुनै बेला निकै छोटो समय नेप्से बढे पनि अधिकांश समय बजार ओरालो लागिरह्यो । उक्त अवधिमा सेयर बिक्रीको चाप थियो,’ एक लगानीकर्ताले भने, ‘कारोबार अवधिको अन्तिम समयमा केही कम्पनीका सेयरमा एकाएक खरिद चाप देखियो । यसरी एक्कासि खरिद चाप आउनु भनेको प्राकृतिकभन्दा पनि कृत्रिम रूपमा माग बढाइएको हुन सक्छ । यहीकारण अन्तिम १५ मिनेटमा नेप्से १८ अंकले बढेको हो ।’
कारोबार अवधिभर नेप्से झन्डै तीन हजार बिन्दु नजिक पुगेर फर्किएको छ । करिब ११.३२ बजे नेप्से २ हजार ९ सय ९१.७२ बिन्दुमा पुगेको थियो ।
उक्त दिन कारोबारमा आएकामध्ये ९८ कम्पनीको सेयर मूल्य बढ्दा १ सय ५२ कम्पनीको घट्यो । एक लाख ७० हजार ३ सय १८ पटकको कारोबारमा ४ करोड ४८ लाख ६६ हजार १५९ कित्ता सेयर किनबेच भए । ती किनबेचबाट १९ अर्ब ५७ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो ।
मंगलबार कुल १ लाख ७७ हजार १ सय १ पटकको कारोबारमा ४ करोड ३५ लाख ८१ हजार २ सय २८ कित्ता सेयर किनबेच भएका थिए । ती किनबेचबाट २० अर्ब ८ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । सो दिन कारोबारमा आएका १३ वटै उपसमूहमध्ये बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जीवन बिमा, निर्जीवन बिमा र लघुवित्तका परिसूचक घटे । बाँकी उपसमूहको परिसूचक बढेपछि समग्र नेप्से ५ अंकले बढेको हो ।
बुधबार कारोबारमा ट्रेड टावर र सान्भी इनर्जीको सेयर मूल्य ९.९९ प्रतिशतले बढे । ग्रिन भेन्चर्स, लिबर्टी इनर्जी र बेस्ट फाइनान्सले पनि ट्रेड टावर र सान्भी इनर्जीलाई नै पछ्याए । यीलगायत ९८ वटा कम्पनीका सेयरधनीले नाफा कमाएका छन् ।
तर उक्त दिन १ सय ५२ कम्पनीका सेयरधनीले गुमाएका छन् । सबैभन्दा धेरै गुमाउने मुख्य पाँच कम्पनीहरूमा क्रमशः भूगोल इनर्जी, ग्रिन डेभलपमेन्ट बैंक, अभियान लघुवित्त, आरएसडीसी लघुवित्त र माईखोला जलविद्युत् छन् । धेरै कारोबार हुने कम्पनीको अग्रपंक्तिमा भने क्रमशः हिमालयन रिइन्स्योरेन्स, शिभम् सिमेन्ट, नेपाल इन्फ्रास्टक्चर्स बैंक, बुटवल पावर कम्पनी र नेपाल पुनर्बिमा कम्पनी छन् ।
बुधबार सेयर बजारको आकार (कुल बजार पुँजीकरण ४९ खर्ब ७० अर्ब कायम भएको छ । अघिल्लो दिनको तुलनामा बुधबार यो ८ अर्ब रुपैयाँले मात्र बढेको हो ।
