What you should know
काठमाडौँ — २०८१ असोजमा आएको बाढीले क्षति पुर्याएको बीपी राजमार्गको २५ किलोमिटर खण्डमा ठेक्का सम्झौता भई काम अघि बढाइएको छ। भकुण्डेबेंसीदेखि नेपालथोकसम्म बाढीले क्षति गरेको ३०.५ किमि क्षेत्रमा दुई लेन सडक निर्माण गर्न लागिएको हो।
हाल काभ्रेतर्फ दुई र सिन्धुलीतर्फ एक गरी तीन प्याकेज बनाएर ठेक्का सम्झौता गरिएको छ।
भकुण्डेबेंसीदेखि चारसयबेंसीसम्म ११ किमि खण्डको ठेक्का लामा–नव कान्तिपुर जेभीले लिएको हो। उक्त खण्डमा भ्याटबाहेक १ अर्ब १४ करोड रुपैयाँमा सम्झौता भएको छ। चारसयबेंसीदेखि डालाबेंसीसम्मको ९ किमि दूरीको ठेक्का खानी–कमलजित–एवान जेभीसँग भ्याटबाहेक १ अर्ब २२ करोड रुपैयाँमा सम्झौता गरिएको हो।
दुवै ठेक्काको सम्झौता गत असारमा भएको र सम्झौता मितिले दुई वर्षभित्र काम सक्नुपर्ने सडक विभागले जनाएको छ। यही राजमार्गको ५ किमि खण्डमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले काम गर्ने भएकाले विभागले अन्य खण्डमा मात्र ठेक्का आह्वान गरेको थियो। जाइकाले पिप्लेदेखि बर्खेखोलासम्म ३.२ किमि सडक निर्माण गर्न तयार भएको हो, जसको फाइनल सर्भेको काम हाल जाइकामार्फत भइरहेको छ। सो खण्ड जापान सरकारको अनुदान सहयोगमा निर्माण हुने भएको हो।
जापानको २ अर्ब ६३ करोड रुपैयाँ बराबरको अनुदानमा निर्माण हुने खण्डबारे विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनप्रसाद अर्यालले जानकारी दिए। ‘हामीले निर्माण थालेको सडक कालोपत्रे हुने बेलासम्म जापानले गर्ने खण्ड सन् २०२७ जुलाईसम्म एउटै तहको बनाई सवारीसाधन सञ्चालन योग्य बनाउन भनेको छ,’ उनले भने, ‘त्यसपछि लगत्तै कालोपत्रे गरिनेछ।’ बीपी राजमार्ग हाल इन्टरमिडियट लेनको छ, अब भने दुई लेनको निर्माण गरिने अर्यालको भनाइ छ। ठेक्का आह्वान जापानले नै गर्नेछ।
पिप्लेदेखि डालाबेंसीसम्मको २.३ किमि खण्डको ठेक्का भइसकेको र सम्झौता प्रक्रिया अघि बढिरहेको सडक डिभिजन भक्तपुरका प्रमुख सुमन योगेशले जनाए।
बर्खेखोलादेखि नेपालथोकसम्मको ५ किमि खण्ड सिन्धुली जिल्लामा पर्छ। उक्त खण्डको ठेक्का खरीढुंगा–घिसिङ–क्षितिज जेभीले लिएको हो। भ्याटबाहेक ५५ करोड रुपैयाँमा असार दोस्रो सातामा ठेक्का सम्झौता भएको हो।
जापानले गर्ने खण्डको निर्माणका लागि सन् २०२५ अन्तिमसम्म सम्झौता भइसक्ने संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयका प्रमुख शुभराज न्यौपानेले जानकारी दिए। ‘ठेक्का भएका खण्डमा कम्पनी प्रतिनिधिहरू फिल्डमा गइसकेका छन्। उनीहरूले आफूले लिएको खण्डमा बर्खा बाढीमा समस्या हुन नदिने गरी अस्थायी काम सुरु गरिसकेका छन्,’ उनले भने, ‘कामदार र मेसिन परिचालन गरिसकिएको छ।’
हाल ठेक्का सम्झौता भएका २५ किमि खण्डमा बाढी वा बर्खाले सडक अवरुद्ध भए ठेक्का लिने कम्पनीले नै मर्मत सम्भार गरेर सडक खुलाउने जिम्मा लिएका छन्।
‘बर्खापछि मात्रै डिजाइनअनुसारको काम हुनेछ,’ उनले भने, ‘बर्खाको बेला सडक अवरोध हुन नदिने गरी मात्र काम हुनेछ।’
बर्खा कम भएपछि भदौ अन्तिमतिर स्थायी निर्माण सुरु हुने उनले सुनाए। ‘निर्माण व्यवसायी परिचालित गरिसकिएको छ,’ उनले भने, ‘हामीले समन्वय मात्र गर्छौं। बर्खाभर इन्जिनियर र सबइन्जिनियर फिल्डमै रहने व्यवस्था मिलाइएको छ।’
३० किमि खण्डमै दुई लेनको मापदण्डअनुसार सडक निर्माण गरिनेछ। बीपी राजमार्गको स्थायी निर्माण र मर्मतका लागि २०८१ असोजमा, बर्खा सकिएपछि सडक डिभिजन भक्तपुर र खुर्कोटमार्फत ८ अर्ब ५० करोड रुपैयाँ माग गरिएको थियो। त्यसअनुसार भक्तपुर खण्डलाई ७ अर्ब ५० करोड र खुर्कोट खण्डलाई १ अर्ब रुपैयाँ उपलब्ध गराइएको हो।
