उद्योगले यूपीभीसी झ्याल–ढोका उत्पादन गर्ने, पञ्चकन्या डिमेक्स, नियोप्लास्ट, टोनिस यूपीभीसी र साल ब्रान्ड सार्वजनिक
What you should know
भैरहवा — रूपन्देहीको सियारी गाउँपालिका–२ भग्दरीमा ८० करोड लगानीमा यूपीभीसी झ्याल–ढोका उद्योग पञ्चकन्या डिमेक्स सञ्चालनमा आएको छ । अनौपचारिक रूपमा एक वर्षदेखि उत्पादन बिक्री गरिरहेको उद्योगले सोमबार आफ्ना चार ब्रान्ड सार्वजनिक गरेको छ । उद्योगले पञ्चकन्या डिमेक्स, नियोप्लास्ट, टोनिस यूपीभीसी र साल ब्रान्डका उत्पादन सार्वजनिक गरेको हो ।
उद्योगका अध्यक्ष उज्ज्वलकुमार श्रेष्ठले ९ महिनासम्म उत्पादन परीक्षण, बजार वृद्धि र ग्राहकको अपेक्षासँगै सुझाव संकलन गरेपछि आधिकारिक उत्पादन थालिएको जानकारी दिए । ‘केही महिनाभित्र नयाँ प्रविधि भित्र्याएर कारखानालाई पूर्ण अटोमेटिक बनाउँदै छौं,’ श्रेष्ठले भने, ‘त्यसबेलासम्म १ अर्ब लगानी पुग्ने अनुमान गरेका छौं ।’ श्रेष्ठसँगै रितेश सिलवाल, नारायण केसी र आशिष श्रेष्ठले उद्योगमा लगानी गरेका छन् ।
अहिले उद्योगमा ६५ जनाले रोजगारी पाएका छन् । उद्योगले आफ्ना उत्पादनहरू दिगो, वाटरप्रुफ, आगो प्रतिरोधी, मर्मतमा कम खर्च लाग्ने, नखुइलिने, बाहिरी हल्ला नसुनिने, आफ्नो इच्छाअनुसार डिजाइन गर्न सकिने, पुनः प्रयोग गर्न सकिने, सफाइका लागि सहज र पर्यावरणमैत्री भएको दाबी गरेको छ ।
‘पहिलो पटक चारवटा लेमिनेटेड कलरमा पनि यूपीभीसी प्रोफाइल उत्पादन गरिरहेका छौं,’ अध्यक्ष श्रेष्ठले भने, ‘यस्तो सुविधापछि उपभोक्ताले आफ्नो छनोटको रङअनुसारको झ्याल–ढोका तयार गर्न सक्छन् ।’ उद्योगले झ्याल–ढोका जडान गरिसकेपछि पानी र हावा पस्नेलगायत समस्या हल गर्न टीपीई ग्यास्केट प्रविधि अपनाएको उनले बताए । ‘झ्याल–ढोका बलियो बनाउन यूपीभीसीका प्रोफाइलभित्र ग्याल्बोनाइज्ड फलाम प्रयोग गरेका छौं,’ उनले भने, ‘यसले फ्रेम भाँचिने, कुचिने समस्या हुँदैन ।’
उद्योगको प्रतिवर्ष ६ हजार मेट्रिक टन उत्पादन क्षमता छ । अहिले ६ वटा आधुनिक मेसिन जडान गरिएका छन् । यीमध्ये पाँच वटाले सेतो यूपीभीसी प्रोफाइल (फ्रेम) निर्माण गर्छन् भने एउटा मेसिनले लेमिनेटेड प्रोफाइल तयार गर्छ । उद्योगले जर्मनीसँगै विभिन्न युरोपेली मुलुकको प्रविधि प्रयोग गरेर उत्पादन गरिरहेको जनाएको छ । ‘विश्वस्तरीय गुणस्तरमा तयार गरेका छौं, हाम्रा उत्पादन लेडमुक्त छन्,’ अध्यक्ष श्रेष्ठले भने । उद्योगले कार्यालय पार्टिसनका लागि यूपीभीसी प्यानलसमेत तयार गरेको छ ।
अहिले मुलुकभर १३ हजार मेट्रिक टन यूपीभीसी प्रोफाइलका झ्याल–ढोका खपत भइरहेको उनले बताए । खपतमध्ये ८५ प्रतिशतभन्दा धेरै चीन र भारतबाट आयात भइरहेका छन् । ‘मुलुकभित्र माग देखेरै ठूलो लगानीमा आधुनिक उद्योग सञ्चालन गरेका हौं,’ उनले भने । उद्योगका प्रबन्ध निर्देशक रितेश सिलवालले ग्राहकलाई आर्थिक भार नपर्ने गरी प्रिमियम, मिडियम र इकोनोमिक सिरिजमा उत्पादन बजारमा पुर्याइरहेको जानकारी दिए ।
उनका अनुसार अहिले सातवटै प्रदेशमा बजारीकरणको काम पूरा भइसकेको छ । आफ्ना उत्पादन प्रयोग गर्दा कुनै गुनासो सुन्नु नपरोस् भनेर उद्योगले २ सय ५९ जनालाई मिस्त्री तालिम दिएको छ । ‘जडान राम्रो भएन भने झ्याल–ढोकामा समस्या आउन सक्छ,’ सिलवालले भने, ‘त्यसैले प्रभावकारी फिटिङ होस् भनेर उद्योगले तालिम दिएर मिस्त्री तयार गरिरहेको छ ।’ मिस्त्रीको काम गर्ने व्यक्ति, उनीहरूले प्रयोग गर्ने मेसिन र उपकरणलाई उद्योगले प्रमाणित गरेपछि मात्रै सेवा प्रदान गर्न दिइने उनले बताए ।
मुलुकभर अहिले ८ वटा यूपीभीसी उद्योग छन् । झ्याल–ढोका निर्माण गर्ने मिस्त्रीको संख्या ८ सय हाराहारी छ । पछिल्लो समय यूपीभीसीका झ्याल–ढोकाको प्रयोग बढेको छ । ‘तर, सोचेजस्तो प्रयोग बढिसकेको छैन,’ उद्योगका प्रबन्ध निर्देशक सिलवालले भने, ‘प्रयोग बढाउन चेतना फैलाउन जरुरी छ ।’
