लमजुङको चिती बरबोट शेरा, लुम्बिनीको नवलपरासी गण्डक सुरजपुरा र कर्णालीको सुर्खेत झुप्रामा सौर्य ऊर्जा उत्पादन केन्द्र बनाइने
What you should know
लमजुङ — जर्मनी सरकारको सहयोगमा ९ दशमलव ४ मेगावाटको सौर्य ऊर्जा उत्पादन हुने भएको छ । यसका लागि ३ वटा सौर्य ऊर्जा उत्पादन केन्द्र निर्माण एकसाथ सुरु गरिएको छ । लमजुङको बेंसीसहर नगरपालिका–११ चिती बरबोट शेरा, लुम्बिनीको नवलपरासी गण्डक सुरजपुरा र कर्णालीको सुर्खेत झुप्रामा सौर्य ऊर्जा उत्पादन केन्द्रमा गरिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । कुलेखानीको मार्खुमा सौर्य ऊर्जा उत्पादनका लागि अध्ययन भइरहेको छ ।
लमजुङमा १ दशमलव ६ मेगावाट, गण्डक सुरजपुरामा ६ दशमलव ८ मेगावाट र सुर्खेत झुप्रामा २ मेगावाटको पिक क्षमताको ग्राउन्ड माउन्टेड ग्रिड जडित सौर्य ऊर्जा उत्पादन केन्द्र निर्माण गर्न लागिएको प्राधिकरणले बताएको छ । लमजुङमा ७० मेगावाटको मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्रको खाली जग्गा उपयोग गरेर सोलार ऊर्जा उत्पादन गर्न लागिएको हो । उत्पादित ऊर्जा आयोजनास्थलको पारिपट्टि बेंसीसहर नगरपालिका–१ उदिपुरस्थत सबस्टेसनमा जोडिनेछ ।
गत शुक्रबार विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, काठमाडौंस्थित जर्मनी दूतावास विकास सहयोग प्रमुख डा. बेन्जामिन साइडेल, बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्याल, बंगलादेश तथा नेपालका लागि केएफडब्लू कार्यालयका निर्देशक माइकल सुमसरलगायतले जर्मनी सरकारको अनुदान सहयोगमा जर्मनी विकास बैंक (केएफडब्लू) बाट कार्यान्वयनमा ल्याइएको ‘ग्राउन्ड माउन्टेड ग्रिड कनेक्टेड सोलार पीभी प्रोजेक्ट’ को शिलान्यास गरे ।
जर्मनी दातृ निकाय केएफडब्लूको ८० प्रतिशत र विद्युत् प्राधिकरणको २० प्रतिशत लगानीमा डेढ दशकअघि मध्यमर्स्याङ्दी जलविद्युत् परियोजना निर्माण गरिएको थियो । अहिले केएफलडब्लूकै अनुदानमा सोलार ऊर्जा उत्पादन केन्द्र निर्माण हुन लागेको हो ।
परियोजनामा जर्मन परामर्शदाता संस्था गोपा टेकको प्राविधिक सहयोग रहनेछ । निर्माणको जिम्मा भारतीय कम्पनी प्रोजेल ग्रिन इनर्जी लिमिटेडले लिएको छ । निर्माण कम्पनीले परियोजनाको सम्पूर्ण डिजाइन, उपकरण आपूर्ति, जडान, गुणस्तर तथा सम्बन्धित प्रसारण लाइनहरूको निर्माण गर्नेछ । साथै सौर्य केन्द्रको ५ वर्षको सञ्चालन तथा मर्मतसम्भार र २ वर्षको जिम्मेवारी अवधि निर्माण कम्पनीले नै लिनेछ ।
यो आयोजना फेब्रुअरी ६, २०२५ (२०८१ माघ २४) मा ठेक्का सम्झौता गरेकामा जुन १३, २०२५ (२०८२ जेठ १३) बाट सम्झौता लागू भएर फेब्रुअरी १३, २०२६ (२०८२ फागुन १) मा सकिने आयोजना प्रमुख प्रकाश राउतले जनाए । आगामी फागुन १ भित्र ९ दशमलव ४ मेगावाट विद्युत् उत्पादन हुने उनले बताए ।
कुलेखानी मार्खको भने अध्ययनकै क्रममा छ । यसबाट ३ देखि ४ मेगावाटसम्म उत्पादन गर्न मिल्ने गरी अध्ययन अघि बढाएको उनको भनाइ छ । चार वटै सौर्य ऊर्जा केन्द्रका लागि जर्मनी सरकारबाट ८ लाख युरो अनुदान लगानी हुने र नेपालको करिब ३० प्रतिशत अर्थात करिब ३ लाख युरो लगानी हुने प्रक्षेपण गरिएको छ ।
नेपालको ऊर्जा विकासमा साझेदारी गर्न पाउँदा खुसी लागेको जर्मनी दूतावास काठमाडौंका विकास सहयोग प्रमुख डा. बेन्जामिनको भनाइ छ । सोलार उर्जाको विकासले नेपालको विकासमा थप मद्दत पुग्ने र यसलाई निर्धारित समयमा सक्नुको विकल्प नभएको केएफडब्लू कार्यालयका बंगलादेश र नेपाल निर्देशक माइकलले औंल्याए ।
जलविद्युत् आयोजनामा भन्दा बैकल्पिक उर्जामा जोड दिन सकिए यसले क्षति कम गर्ने बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले बताए । यस परियोजनाले वातावरणमैत्री तथा नवीकरणीय उर्जाको प्रवर्द्धनमा स्वच्छ ऊर्जाको आपूर्ति सुनिश्चित हुने विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले जनाए । जर्मनी सरकारको अनुदान सहयोगप्रति विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले आभार व्यक्त गरे ।
