परिसंघका पदाधिकारी र पूर्व प्रधानमन्त्री दाहालबीच छलफल

श्रावण ६, २०८२

कान्तिपुर संवाददाता

Discussion between officials of the Confederation and former Prime Minister Dahal

काठमाडौँ — नेपाल उद्योग परिसंघले पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र गृहमन्त्री रमेश लेखकसँग छुट्टा छुट्टै छलफल गरेको छ । परिसंघका नवनिर्वाचित अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको पदाधिकारीसँगको छलफलमा पूर्व प्रधानमन्त्री दाहालले निजी क्षेत्रसँग बलियो सहकार्य नगरेसम्म अर्थतन्त्र बलियो नहुने बताए ।

आफू प्रधानमन्त्री हुँदा वा नहुँदा पनि निजी क्षेत्रका मुद्दाहरुलाई उच्च प्राथमिकता दिएको उनले बताए । रिसर्च केन्द्रित तथ्यपरक सुझावका कारण परिसंघ सक्षम संस्था बनेको उनको भनाइ छ । परिसंघका अध्यक्ष पाण्डेले आगामी एक दशकमा मुलुकको अर्थतन्त्रको आकार १०० अर्ब डलर र दोहोरो अंकको आर्थिक वृद्धि गराउने लक्ष्यका साथ परिसंघले काम गर्न लागेको बताए । 

यो लक्ष्य हासिल गर्न ८ वटा क्षेत्रलाई केन्द्रमा राख्नुपर्ने प्रारम्भिक अध्ययनले देखाएको बताउँदै पाण्डेले सरकार, राजनीतिक दलहरुले कानुनी एवं नीतिगत सुधारलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताए । गृहमन्त्री लेखकसँगको छलफलमा सीमा क्षेत्रमा हुने अवैध कारोबार रोक्न प्रभावकारी कदम चाल्न आग्रह गरिएको छ ।

अवैध कारोबारले स्वदेशी उद्योगहरु प्रभावित हुनुका साथै त्यसको असर सरकारको राजस्वमा समेत परेको परिसंघका अध्यक्ष पाण्डेले बताए । गृहमन्त्री लेखकले नेपाल र भारत सरकारका गृह सचिवस्तरिय बैठकले सीमा क्षेत्रमा हुने अवैध कारोबार रोक्ने उपायका विषयमा छलफल गर्ने बताए । अवैध आयात नियन्त्रण, पर्यटकहरुलाई सहज रुपमा आउने वातावरण बनाउन मन्त्रालय प्रतिबद्ध रहेको लेखकले बताए । 

कान्तिपुर संवाददाता

Link copied successfully