मधेशमा खानेपानी र सिँचाइको समस्या समाधानका लागि संघीय मन्त्रीहरूबीच छलफल

श्रावण ६, २०८२

कान्तिपुर संवाददाता

Discussion between federal ministers to solve the problem of drinking water and irrigation in Madhesh

What you should know

काठमाडौँ — मधेशमा खानेपानी र सिँचाइको समस्या समाधान गर्न विभिन्न चार मन्त्रीबीच छलफल भएको छ । बर्खामा मधेशका ८ जिल्लामा पानी अत्यन्त कम परेकाले खानेपानी तथा सिँचाइको अभाव भएपछि उक्त समस्या समाधान गर्न सोमबार कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारीको पहलमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, कानुन तथा संसदीय मामिलामन्त्री अजय चौरासिया र खानेपानी तथा सरसफाइमन्त्री प्रदीप यादवबीच छलफल भएको हो ।

ऊर्जा मन्त्रालयमा भएका सो बैठकमा ती चारवटै मन्त्रालयका सचिवहरुको सहभागिता रहेको थियो ।  बैठकमा मन्त्री अधिकारीले मधेशमा अत्यन्त कम वर्षा हुँदा रोपाइँ हुन नसकेको सन्दर्भमा अध्ययन गर्न टोली परिचालन गरिएको जानकारी दिएका थिए । उनले टोलीले दिएको सुझावका आधारमा मन्त्रालयले थप काम गर्ने बताएका थिए । 

बैठकले मधेशमा खानेपानीको समस्यासमेत रहेको जनाउँदै त्यसको अध्ययन गर्नका लागि चारवटै मन्त्रालयका सहसचिवको प्रतिनिधित्व रहनेगरी एक कार्यदल गठन गरेको छ ।  उक्त कार्यदलले तत्काल समस्या पहिचान गरी शीघ्र समाधानका उपाय खोज्ने जनाइएको छ । छलफलमा जलस्रोत तथा सिँचाइसचिव सरिता दवाडीले तराईका जम्मा ५० प्रतिशत हाराहारीमा मात्र सिँचाइ सुविधा पुगेको बताए । उनले सिँचाइ र खानेपानीका लागि भूमिगत पानी नै उत्तम उपाय भएको उल्लेख गरे ।

बैठकमा मन्त्री अधिकारीले किसानका समस्या समाधान गर्न सरकारले उच्च प्राथमिता दिएको हुँदा यसका लागि चारमन्त्रालयका बीचमा थप समन्वय आवश्यक रहेको बताए ।  ऊर्जामन्त्री खड्काले चाँडोभन्दा चाँडो जनतालाई खानेपानी र सिँचाइको सुविधा पुर्‍याउन सरकार लागिरेहको बताउँदै सबै मन्त्रालयबीच समन्वय गरेर चाँडो काम सम्पन्न गर्न लाग्नुपर्ने बताए । 

कान्तिपुर

Link copied successfully