भोटेकोशीको बाढीमा ६८ सवारी बगे, ११ मा क्षति

बाढीमा बगेका सवारीमध्ये केही भन्सार जााच पास भएका र केही हुने क्रममा थिए, बगाएका सवारीमध्ये ४२ वटा विद्युतीय सवारी 

श्रावण ६, २०८२

विमल खतिवडा

68 vehicles washed away in Bhotekoshi flood, 11 damaged

What you should know

काठमाडौँ — गत असार २४ मा भोटेकोशीमा आएको बाढीले ६८ सवारीसाधन बगाएको पाइएको छ । यसमध्ये ४२ वटा विद्युतीय सवारीसाधन बाढीले बगाएको रसुवा भन्सार कार्यालयले तयार पारेको तथ्यांक छ । ५ वटा सिनोट्रक ब्रान्डका ट्रक छन् । 

चीनबाट सामान ल्याएर टिमुरेको भन्सार यार्डमा राखिएका १८ वटा मालवाहक सवारी बाढीले बगाएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले बताए । बाढीले सुक्खा बन्दरगाह निर्माण गरिरहेको चिनियाँ कम्पनीका एक–एक वटा टोयोटा हाइलक्स, रोलर र ट्रिपर पनि बगाएको छ । बगाएका सवारी साधनको पार्टपुर्जा नभेटिएको प्रमुख भट्टराईको भनाइ छ । 

‘बाढीमा बगेका सवारीमध्ये केही भन्सार जाँच पास भएका र केही हुने क्रममा थिए,’ भट्टराईले भने, ‘अहिले भन्सार कार्यालय आसपास भन्सार जाँच पास भएका र हुने क्रममा रहेका मालबाहक एवं विद्युतीय सवारीसाधन थन्किएर बसेका छन् ।’ चीनबाट नेपालतर्फ आउँदै गरेका डेढ सयदेखि २ सय मालवाहक सवारीसाधन उतै रोकिएको आयातकर्ताले जनाएका छन् । 

‘अहिले टिमुरेमा स्याउ बोकेका दुईवटा मालवाहक सवारी छन्, स्याउ कुहिन थालिसकेको छ,’ उनले भने, ‘पहिला हेर्छौं, थोरै संख्यामा मात्र कुहिएको भए र व्यवसायीले लग्न चाहे भन्सार जाँच पास गरिदिन्छौं ।’ 

‘अहिले बाढीमा फसेका मालवाहक सवारीसाधन यार्डमै छन्, निकाल्न सकिएको छैन, गुड्न सक्नेलाई मात्र बाढीबाट निकालेर केही माथि लगेर राखेका छौं,’ उनले भने, ‘गुड्न नसक्नेलाई निकाल्न सकिएको छैन ।’ यार्डमा फसेका सवारीसाधनलाई निकाल्न मिल्ने गरी त्यहाँसम्म जाने बाटो मर्मत गरिदिन नेपाल इन्टरमोडल यातायात विकास बोर्डलाई पत्र पठाइसकिएको उनको भनाइ छ । 

‘२९ वटा मालवाहक सवारी यार्डमा पसेको बाढीमा फसेका छन्, ती सवारीमा रहेका सामान भने निकालेर सुरक्षित ठाउँमा राखिसकेका छौं,’ उनले भने, ‘बाढीले पुरेका ११ वटा विद्युतीय गाडी कामै नलाग्ने अवस्थामा छन् ।’ 

ल्हेन्दे खोलामा आएको बाढीले दुई देश जोड्ने मितेरी पुल बगाएको थियो । उक्त ठाउँमा चीनले अस्थायी बेलिब्रिज लगाउने तयारी गरिरहेको छ । पुल बनेर सवारीसाधन नेपाल–चीन ओहोरदोहोर गर्न थाले भन्सार जाँचका लागि बस्ने सवारीसाधनका लागि पार्किङ गर्ने ठाउँ नहुने उनको भनाइ छ । भन्सार यार्ड चीन सरकारले बनाएको हो । चीन सरकारको २ अर्ब १६ करोड रुपैयाँ अनुदानमा करिब ५८ रोपनी क्षेत्रफलमा दुई वर्षअघि यार्ड निर्माण थालिएको थियो । 

चार सय मालवाहक गाडी अट्ने यार्ड निर्माण सकिनै लाग्दा बाढीले बगाएको हो । निर्माण कम्पनी र कामदार सबै चिनियाँ नै थिए । ‘बाढीले बगाएको यार्ड कसरी बनाउने भन्ने विषय उच्च तहबाटै निर्क्योल हुनुपर्छ,’ उनले भने, ‘अहिलेसम्म के–कसरी बनाउने भन्नेबारे जानकारी आएको छैन ।’ बाढीपछि भन्सार नाका सुनसान छ । 

68 vehicles washed away in Bhotekoshi flood, 11 damagedबाढीले बगाएको यार्ड चीनले नै पुनर्निर्माण गरिदिने विषयमा छलफल भइरहेको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए । ‘यार्ड चीन सरकारबाटै बनिरहेको थियो, निर्माण कम्पनी पनि चिनियाँ नै हो,’ उनले भने, ‘निर्माण सकिएर हस्तान्तरण नहुँदै बाढीले यार्ड बगाएका कारण यसको निर्माण चीन आफैंले गर्ने कुरा भएको छ ।’ 

स्याफ्रुबेंसी–रसुवागढी सडकमा बाढीले क्षति गरेका काण ठूला मालवाहक सवारीसाधन चलेका छैनन् । आइतबारबाट साना र हल्का सवारीसाधन एकतर्फी चल्न मिल्ने गरी सडक सञ्चालनमा आएको छ । यो सडक भएर केही ठूला यात्रुवाहक सवारी पनि गुड्न थालेका छन् । एकैचोटि ठूला मालवाहक सवारी गुड्दा सडक भासिने भएकाले उक्त सडकमा अहिले चल्न नदिइएको भन्सार प्रमुख भट्टराईले बताए । अहिले बनाइएको सडक साँघुरो छ । केही दिनपछि ठूला मालवाहक सवारीसाधन सञ्चालन गर्न दिने विषयमा छलफल भइरहेको उनको भनाइ छ । 

68 vehicles washed away in Bhotekoshi flood, 11 damagedअहिले टिमुरेमा भन्सार जाँच पास भएका र हुने क्रममा रहेका मालवाहक सवारी ४० वटा छन् । विद्युतीय सवारीसाधन कार, माइक्रो बस टिमुरे आसपास सडकमै राखिएको छ । त्यस्ता गाडीको संख्या करिब डेढ सयदेखि २ सय हाराहारी रहेको भन्सार कार्यालयले जनाएको छ । नाका ठप्प बनेपछि मालवाहक सवारीसाधन आउजाउ बन्द छ । भोटेकोशीमा बाढी आउनु अघिल्लो दिन असार २३ सम्म भन्सार कार्यालयले तोकेको लक्ष्यको ९९.८१ प्रतिशत राजस्व उठाइसकेको प्रमुख भट्टराईले बताए । 

‘३० अर्ब २० करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य थियो, जसमा ३० अर्ब १५ करोड रुपैयाँ उठिसकेको थियो,’ उनले भने, ‘गत आर्थिक वर्षमा १ सय ५ प्रतिशतसम्म राजस्व संकलन हुने अनुमान थियो, बाढीले गर्दा त्यो पूरा हुन सकेन ।’ 

विमल खतिवडा खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully