२५ हजार टन डीएपी मल कोलकाता आइपुग्यो

श्रावण ६, २०८२

शंकर आचार्य

25 thousand tons of DAP fertilizer arrived in Kolkata

पर्सा — कृषि सामग्री कम्पनीले ग्लोबल टेण्डरबाट भित्र्याउन लागेको २५ हजार टन डीएपी मल कोलकाता बन्दरगाहमा आइपुगेको छ ।

कम्पनी प्रादेशिक कार्यालय वीरगन्जका प्रमुख दुर्गाप्रसाद पाण्डेका अनुसार भारतको मल आपूर्ति गर्ने कम्पनी आईपीएल (इन्डियन पोटास लिमिटेड) ले तेश्रो मुलुकबाट खरिद गरी ल्याएको उक्त मल हाल कोलकाता बन्दरगाहमा प्याकिङ गरिँदै छ । प्याकिङलगत्तै रेलबाट वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह र वीरगन्जको सीमावर्ती भारतीय रेल्वे स्टेसनमा उक्त मल ल्याइनेछ ।

कूल २५ हजार टनमध्ये वीरगन्ज प्रादेशिक कार्यालयले ९ हजार ५ सय टन मल पाउनेछ भने बाँकी मल भैरहवा र विराटनगर प्रादेशिक कार्यालय पठाइने छ। उक्त मल यसै साताको अन्त्यदेखि भित्रिन थाल्ने सम्भावना रहेको पाण्डेले बताए ।

'हाल कार्यालयसँग डीएपी मलको पुरानै मौज्दात रहेको र उक्त मलबाट माग भएका जिल्लामा मल पठाइएको छ,' उनले भने, 'भित्रिन लागेको मलले बर्खे धान बाली सिजनको थप माग सहजै धान्नेछ ।' यस बाहेक मकै बाली र उखु बालीलाई समेत उक्त मल उपयोगी हुने उनले बताए ।

कम्पनी प्रादेशिक कार्यालयले मधेश, बागमती र गण्डकी प्रदेशका १६ जिल्लामा वीरगन्जबाट मल पठाउँदै आएको छ ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully