पश्चिम पहाडको पहिलो तीनतारे होटलका संघर्षपूर्ण पाँच दशक

पर्यटन विकासका लागि ५० वर्षअघिको थालिएको एउटा कल्पना, जुन त्यतिबेलाको समाजको निम्ती कल्पना बाहिरको कुरा थियो ।

श्रावण ५, २०८२

माधव अर्याल

The struggling five decades of the first three-star hotel in West Hills

What you should know

पाल्पा — तानसेनको कैलाशनगर बतासेको बीच भाग जहाँ डरलाग्दो झाडी थियो । बेलुकी भएपछि स्थानीयको गुण्डागर्दी चल्थ्यो। त्यतिबेलामा गरेर खान पनि नपाइने जस्तै अवस्था थियो। वरपर बाँसघारी थिए। पानी पर्दा बास सुसाउँथ्यो। वरपर पनि खासै धेरै घर थिएनन् । सुत्न पनि डर लाग्ने अवस्था थियो।

पाल्पाको तानसेनस्थित होटल श्रीनगर प्रालिकी अध्यक्ष ७४ वर्षीया सावित्रा भुसाल २०३२ सालतिरको सम्झना गर्दै भन्छिन्, ‘एक प्रकारले भन्नुपर्दा झाडीसहितको जंगलको बीचमा भवन बनेका थिए । दिउँसै स्याल कराउँथ्यो । सानो पर्खाल भए पनि भित्रै स्याल आउँथ्यो । भवनमा आठ वटा डबल बेडका रुम थिए । एउटा हल (डोरमेट) थियो । किचन, स्टाफ रुम र संचालन बस्ने साना घर बनेका थिए ।’ 

अर्घाखाँचीको भूमिकास्थानस्थित नुवाकोट घरभएकी उनको तानसेनमा चिनेका मान्छे कोही थिएनन् । तै पनि स्थानीय केही व्यक्तिको सहयोगमा होटल सुरु गरिन्। धेरै अवरोह चिर्दै अहिलेको अवस्थामा आइपुगेको उनले सुनाइन् । 

२०३२ सालमा तानसेन कैलाशनगरमा होटल श्रीनगर सुरु गर्दा मोटरबाटो थिएन। अर्घाखाँचीबाट पैदल आउजाउ गर्नुपर्थ्यो । त्यसबेलामा तानसेन कैलाशनगरका धेरै जनाबाट ८ रोपनी जग्गा प्राप्त गर्न सफल भएको उनले सुनाइन्।

अहिले झण्डै १३ रोपनी क्षेत्रफलमा होटल श्रीनगर संचालनमा छ। ‘यो ५० वर्षको यात्रा कम संघर्षमयी छैन,’ उनले पुराना कुरा सम्झँदै भनिन्, ‘त्यसबेलाका वडाध्यक्ष देवीध्वज श्रेष्ठले भूमिका नखेलेको भए सायद फर्केर गइन्थ्यो होला । हामी अहिले पनि उहाँलाई सम्झन चाहन्छौं ।’ 

स्वर्गीय जयप्रकाश भुसाल (सावित्राको श्रीमान्) को दृष्टिकोण, सपना र सामाजिक उत्तरदायित्वप्रतिको गम्भीर प्रतिवद्धताबाट श्रीनगर होटलको सुरुवात भएको हो । बिएस्सी गरी ‘स्मालपक्स इराडिकेसन’ सरकारी परियोजनाको प्रुमख पदमा कार्यरत स्व. भुसालको होटल क्षेत्रमा अनुभव थिएन । तर पनि आत्मविश्वास र दृष्टिकोणका साथ पर्यटन व्यवसायका रुपमा होटल श्रीनगर सुरुवात गरेको उनले सम्झिइन् ।

स्वर्गीय भुसाललाई मन परेको गन्तव्य पाल्पाको तानसेन थियो । ‘त्यसैले पाल्पालाई पश्चिम नेपालको प्रमुख पर्यटकीय गन्तव्य बनाउने परिकल्पना उहाँमा थियो,’ सावित्राले सम्झदै भनिन्, ‘यही दुरदृष्टिले उहाँलाई सरकारी सेवा त्यागेर पर्यटन क्षेत्रमा होमिन प्रेरित गर्‍यो ।’

त्यतिबेला होटल सञ्चालनको अनुमति पाउन अत्यन्तै कठिन थियो । उद्योग मन्त्रालयबाट तीन तारे (थ्री स्टार) होटल स्थापनाको अनुमति पाएका थिए । बतासेस्थित विज्ञान क्याम्पस परिसरमा लिजमा जग्गा लिनसमेत सफल प्रयास भएको हो । तर त्रिभुवन विश्वविद्यालयको आन्तरिक द्वन्द्वले लिज सफल नभएको सावित्राले बताइन् । उक्त जग्गा नपाएपछि भने स्थानीयले सुरुवातमै यस क्षेत्रको विकास र रोजगारीको सृजना गर्ने सोच राखेर जग्गा उपलब्ध गराएको उनले सुनाइन् ।

‘त्यसबेलामा तीन तारे होटल संचालन भएर के गर्नु ब्रेड, गाजर, चिजलगायतका सामग्री नै उपलब्ध थिएन,’ उनले भनिन्, ‘काठमाडौंबाट रात्री बसबाट सामग्री ल्याएर विदेशी पाहुनालाई सेवा दिने गरिन्थ्यो । पर्यटकलाई आवश्यक पर्ने ८० प्रतिशत सामग्री काठमाडौंबाटै जुगाड गरिन्थ्यो । त्योबेला धेरै चुनौतीपूर्ण नै थियो ।’ 

होटल श्रीनगरले इन्टरनेट सुरु भएपछि वेबसाइट बनायो । ७० प्रतिशत सूचना पाल्पाकै विषयमा र ३० प्रतिशत होटलको थियो । उनले भनिन्, ‘मेरो श्रीमान्‌को सोच भनेको पाल्पा प्रचारमा आयो भने होटल आफै चल्छ । जुन नीति हामीले अहिलेसम्म पनि लिएर अपनाएका छौं ।’

पाल्पालाई चिनाउने उद्देश्यले थाइल्याण्डबाट रंगीन ब्रोसर छपाएको उनले सम्झिइन् । त्यसमा पनि ९० प्रतिशत पाल्पालाई चिनाउने सामग्री थिए । १० प्रतिशत मात्र होटलका विषयमा थियो । ‘हामीले त्यसबेलामा होटलमा लाग्ने अनुमानित लागतको झण्डै ७० प्रतिशत खर्च जग्गा खरिदमै खर्च भएको थियो,’ उनले भनिन्, ‘पुनः डिजाइन, निर्माण तथा सशक्त पुंजी आवश्यक थियो । सरकारी एनआईडिसी बाट उच्च ब्याजदरमा ऋण लिएर दुई दशक त्यही ऋण तिर्न लाग्यो ।’

अहिले होटल श्रीनगरको प्रबन्ध निर्देशकको जिम्मेवारी जयप्रकाशका छोरा जयन्तले लिएका छन् । जयन्तले भने, ‘त्यसबेलामा मेरो बुबा (जयप्रकाश) जति ऋण लागे पनि रोकिनुभएन । काम गर्दै जानुभयो । विदेशी पर्यटकको रोजाइ यही होटल बन्यो । त्यसपछि सफल भएको हो भन्न लाग्छ ।’

आफूले प्रबन्ध निर्देशकको जिम्मेवारी पाएपछि होटलमा थप गुणस्तरीय सेवा, दक्ष जनशक्ति, आधुनिक सुविधा विस्तार, दीगो पर्यटनको दृष्टिकोण लिएर काम गरेको सुनाए । ‘वेलनेस टुरिज्म’ को समावेश लक्ष्य लिएको बताउँदै उनले चार तारे (फोर स्टार) होटलमा स्तरवृद्धि (अपग्रेड) गर्ने रणनीति अन्तर्गत काम अघि बढाएको बताए । अहिलेको मूल्यांकनमा झण्डै ५० करोड होटलमा लगानी पुगेको उनको अनुमान छ । 

अहिले होटल श्रीनगरमा ४० अतिथि कोठा (भीआईपी, सुपर डिलक्स, डिलक्सलगायत) छन् । तीन सभाहलका साथै दुई भान्साघर, बेकरिज, तीन रेष्टुरेन्ट (२५० सिट) छन् । दुई बार, तीन स्टोर, कफी सप, स्वीमिङ पुल, जकुजी, स्पा (साउना, हट वाथ) बालबालिका पार्क, योजनाबद्ध बगैंचा रहेका छन् । ‘हामीले पाल्पाको पर्यटनका लागि नै लगानी थपेका हौं,’ उनले भने, ‘यसका लागि धेरै सहयोगी मन भएका व्यक्तिको बौद्धिक लगानी छ ।’ 

प्रबन्धक भुसालका अनुसार होटल श्रीनगरले आफ्नै पहलमा होटल म्यानेजमेन्ट एण्ड टुरिज्म ट्रेनिङ सेन्टरसँगको सहकार्यमा कुक तालिम, हाउसकिपिङ, गाइड, होटल म्यानेजमेन्ट तालिम दिएको छ । यसबाट पाल्पाली युवा, स्थानीय तथा वरपरका जिल्लका व्यक्ति विभिन्न पर्यटन पेशामा लागेका छन् । कतिपय स्वदेश र विदेशमासमेत पुगेर सफल व्यवसायी बनेको पाएको उनले बताए । ‘हामीले यसलाई होटल श्रीनगरको दीर्घकालीन सामाजिक योजना भएको सम्झेका छौं,’ उनले भने । 

प्रबन्ध निर्देशक भुसालले १० वर्षे सशस्त्र द्वन्द्वलाई कहिल्यै नभुल्ने बताए । २०६२ माघ १८ गते राति सेना र माओवादीको दोहोरो भिडन्तको मार यही होटलले खेप्नु परेको थियो । होटल श्रीनगर केन्द्रित सशस्त्र आक्रमणबारे सम्झदै प्रबन्ध निर्देशक भुसालले भने, ‘त्यो रात दुबै पक्षका गोलीबारीले होटलका संरचना प्रायः ध्वस्त भए । होटलका भित्ता, कोठा, झ्याल, ढोका, सबैजसो संरचना गोलीको वर्षाले चिथोरियो । हामी पूर्णतः असहाय थियौं ।’ उनले त्यसबेला क्षतिपुर्ति वा सहयोग केही नपाए पनि स्वयं बल र संयमताका भरमा बाँच्नुपरेको सभ्झिए । 

द्वन्द्वकालमा नेपालको पर्यटन व्यवसाय ध्वस्त अवस्थामा पुगेको थियो । पर्यटक आगमन ठप्प थियो । व्यवसाय शून्यतामा पुगेको थियो । तानसेनमा खानेपानी पाउनै दुःख थियो । ५० वर्षसम्म स्वीमिङ पुल, जकुजी संचालन गर्न सक्ने अवस्था नभएको उनले सुनाए । तानसेन खानेपानी उपभोक्ता समितिका मोहन श्रेष्ठ र महेन्द्र खातीको हौसलाले होटलमा थप सुविधा थप्न पाएकोमा उनले खुलेर प्रशंसा गरे ।

५० वर्ष पुगेको अवसरमा थप सेवाको नगरप्रमुखलगायत पोखरा, भैरहवाका व्यवसायीले अवलोकन गरे । तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले पाल्पाको पर्यटन प्रवर्द्धनमा होटल क्षेत्रले धेरै योगदान गरेको बताए । ‘समग्र पाल्पाको विकास, पर्यटन र कृषि उत्पादनबाट मात्र सम्भव छ,’ उनले भने, ‘नगरपालिकाले पर्यटन र कृषि क्षेत्रलाई माथि उठाउने गरी आवश्यक योजनासहित बजेट निर्माण गरी कार्यान्वयन गर्दै आएको छ ।’ 

प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले पर्यटन विकासका लागि ५० वर्षअघिको कल्पना चानचुन नभएको बताए । ‘त्यही दृढ संकल्पले अहिले सफलता पाएको हो,’ उनले भने ‘अझ यसको सेवा बिस्तार गर्दै पर्यटक लोभ्याउनपर्छ ।’

पछिल्लो समयमा पुनः पर्यटन क्षेत्रले गति लिएको छ । जसले गर्दा भारतीय पर्यटक भैरहवा, लुम्बिनी हुँदै पाल्पा भएर पोखरा जाने गरेको सिद्धार्थ होटल संघ भैरहवाका अध्यक्ष चन्द्रप्रकाश (सिपी) श्रेष्ठले बताए । उनले पाल्पा होटल संघको जग बसेकाले अब संस्थागत रुपमा अघि बढ्न सुझाव दिए । होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पोखरामा आयोजना हुने जुनसुकै पर्यटन प्रवर्द्धन कार्यक्रममा पाल्पालाई साझेदारको रुपमा सहभागी गराउने बताए । 

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully