पाखाभरिको भुइँकटर खेतीले करोडौंको उत्पादन

श्रावण ५, २०८२

नवीन पौडेल

Crops worth crores from Pakhabari ground cutter farming

What you should know

नवलपुर — पूर्वी नवलपरासीको देवचुली नगरपालिका–५ बन्दीपुरका स्थानीयले पाखो जमिनमा व्यावसायिक रुपमा भुइँकटहर खेती गरेर आम्दानी गर्न थालेका छन् । यसअघि पाखामा पुर्खाले गर्दै आएको निर्वाहमुखी खेतीलाई यहाँका नयाँ पुस्ताले व्यावसायीकरण गरेका हुन् ।

अहिले यो बस्तीका स्थानीयको मुख्य आम्दानीको स्रोत नै भुइँकटहर बनेको छ । देवचुली–५ बन्दीपुर बस्तीका केशरी फाल मगरले ४ हजारभन्दा बढी भुइँकटरका बिरुवा लगाएका छन् । अन्य खेतीभन्दा यसमा मुनाफा बढी हुँदा किसान यसतर्फ आकर्षित भएका हुन् । मगरको परिवारले मात्र एक पटकमा करिब तीन लाखको भुइँकटर बिक्री गर्ने गर्दछन् । ‘यो खेतीमा मेहनत धेरै गर्नु पर्दैन । यो सँगै अन्य खेती पनि एकै स्थानमा गर्न सकिने हुनाले हामीले यो खेतीलाई व्यावसायिक रुपमा गरेका हौँ,’ उनले भनिन् ,‘ पहिले डोकोमा बोकेर बजार लगेर धान, मकै सँग बिक्री गरिन्थ्यो । अहिले घरैबाट नगदमा बिक्री गर्दछौँ ।’

केही वर्ष अगाडिसम्म गाउँमा मोटर नपुग्दा डोकोमा बोकेर दलदले र कावासोती बजार सम्म ल्याउनुपर्ने बाध्यता थियो । तर अहिले घर अगाडि नै गाडी पुगेपछि किसानलाई सहज भएको छ । यसले बाँझो रहेको जग्गामा पनि स्थानीयले खेती गर्न थालेका छन् । 

बन्दीपुरकै रश्मिबहादुर फाल मगरले पनि भुइँकटहर खेती गर्दै आएका छन् । पहाडको भिरालो पाखामा यस अघि अदुवा खेती गर्ने गरिएकोमा अदुवामा भन्दा यसमा मुनाफा बढी, मेहनत कम र बजार मूल्य पनि राम्रो भएको मगरले बताए । अहिले प्रतिगोटा ५० देखि ८० रुपैयाँ सम्ममा बिक्री हुँदै आएको छ ।

जिल्लामा सबैभन्दा बढी देवचुली नगरपालिकामा १३ हेक्टर र मध्यबिन्दु नगरपलिकामा १० हेक्टर क्षेत्रफलमा यो खेती हुँदै आएको कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी विश्वास काफ्लेले बताए । जिल्लाभरिमा ४३ हेक्टर क्षेत्रफलमा यो खेती हुँदै आएको छ । यहाँ उतपदन भएको भुइँकटर सदरमुकाम कावासोती लगायत चितवन, काठमाडौँ, बुटवलका व्यवसायीले लैजाने गरेका छन् ।

नवीन पौडेल पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully