जीवन बिमा, निर्जीवन बिमा, होटल तथा पर्यटनमा लगानीकर्ताको आकर्षण, नेप्से शून्य दशमलव ३२ अंकले बढ्दा पनि १४४ कम्पनीको मूल्य घट्यो
What you should know
काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार शून्य दशमलव ३२ अंकले बढेको छ । नेप्से बिन्दु २ हजार ८ सय ७० दशमलव ९५ बिन्दुमा उक्लिएको हो । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक २९ सय बिन्दुमा पुगेर फर्किएको छ ।
आइतबार १ बजेर ५ मिनेट जाँदा नेप्से २९ सय २२ दशमलव ३१ बिन्दुमा पुगे पनि बन्द हुँदा २८ सय ७० दशमलव ९५ बिन्दुमै सीमित भएको छ ।
यसबाट कुल १०६ कम्पनीको सेयर मूल्य बढ्यो भने १४४ कम्पनीको मूल्य घट्यो । कुल १ लाख ७८ हजार १७६ पटकको किनबेचबाट ५ करोड १६ लाख ५८ हजार ३८५ कित्ता सेयर खरिदबिक्री भएको छ । झन्डै एक वर्षयताकै उच्च सेयर कारोबार भएको छ । आइतबार एकै दिन २१ अर्ब ४६ करोड ४९ लाख ९४ हजार रुपैयाँको सेयर कारोबार भयो । जुन २०८१ भदौ २ यताकै उच्च कारोबार रकम हो । यसअघि २८ अर्ब ८३ करोड ६९ लाख रुपैयाँको सेयर बजार भएको छ ।
जीवन बिमा र निर्जीवन बिमामा लगानीकर्ताको आकर्षण रह्यो । नेप्सेका अनुसार जीवन बिमा उपसमूह १९२.२०, निर्जीवन बिमा १७९.५५, होटल तथा पर्यटन ८८.५, अन्य ८३.२१ र सामूहिक लगानी कोष शून्य दशमलव शून्य ५ अंकले बढ्यो बाँकी सबै उपसमूह घट्यो । उत्पादन तथा प्रशोधन सबैभन्दा बढी ८५.५१, फाइनान्स ५९.८५, व्यापार २१.४२, बैंकिङ २१.४१, जलविद्युत् १५.८५ अंकले घट्यो ।
उन्नति सहकार्य लघुवित्त र सान्भी इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेपछि सकारात्मक सर्किट ब्रेक लाग्यो । ट्रेड टावरको ९.९८, शिव श्री हाइड्रोपावरको ९.९८ र बिन्दाबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ९.९५ प्रतिशतले सेयर मूल्य बढ्यो । यी कम्पनीका लगानीकर्ताको आफ्नो सम्पत्ति (सेयर) को मूल्य बढ्यो । समृद्धि फाइनान्स कम्पनीको ८.८८, गुडविल फाइनान्स डिबेञ्चर (२०८३) को ७.७५, सनराइज बैंक डिबेन्चर (२०८३) को ५.८६, दोर्दी खोला जलविद्युत् कम्पनीको ४.६१ र पञ्चकन्या माई हाइड्रोपावरको ४.५१ प्रतिशतले घट्यो ।
नेप्से बढ्दा सेयर बजारको आकार (कुल बजार पुँजीकरण) मा ७ अर्ब २९ करोड ७० लाख रुपैयाँले वृद्धि भएको छ । गत बिहीबार ४७ खर्ब ८३ अर्ब ३७ करोड ६० लाख रुपैयाँ रहेको कुल बजार पुँजीकरण आइतबार ४७ खर्ब ९० अर्ब ६७ करोड ३० लाख कायम भएको छ । कुल सूचीकृत सेयरलाई सोही दिनको सेयर मूल्यले गुणा गरेर कुल बजार पुँजीकरण गणना गरिन्छ ।
