What you should know
काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार २१.७६ अंकले बढेर २ हजार ८ सय ९२.७२ अंकमा उक्लेको छ । अघिल्लो दिनको तुलनामा यो ०.७५ प्रतिशतको वृद्धि हो ।
सो दिन कारोबारमा आएकामध्ये १५३ कम्पनीको सेयर मूल्य बढ्दा ९६ वटा कम्पनीको घट्यो । १ लाख ३८ हजार ८ सय २८ पटकको कारोबारमा ३ करोड ५६ लाख ४९ हजार २११ कित्ता सेयर किनबेच भए । ती किनबेचबाट १६ अर्ब ३२ करोड ७१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो । आइतबार नेप्से सामान्य सकारात्मक रहे पनि साढे २१ अर्बको सेयर कारोबार भएको थियो । सो दिन कारोबारमा आएकामध्ये १३ वटै उपसमूहको परिसूचक बढेपछि समग्र नेप्सेको वृद्धिमा टेवा पुगेको हो ।
