What you should know
सोलुखुम्बु — हिमाली जिल्ला सोलुखुम्बुमा सञ्चालित तल्लो सोलु जलविद्युत् परियोजनाद्वारा प्रवर्द्धित ८२ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।
सन् २०१७ बाट निर्माण सुरु गरिएको जलविद्युत् आयोजना साउन ४ बाट उत्पादन सुरु गरी परीक्षणका लागि राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । लाम्मानेस्थित सोलु करिडोरको १३२ केभी प्रसारण लाइनमा आइतबार जोडिएको छ ।
परियोजनाको सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ तिङ्ला र वडा–७ गार्माको सिमानामा पर्ने साल्मेमा बाँधस्थल छ । साल्मे भन्दा ६ दशमलव २ किलोमिटर तल तिङ्ला भदौरेमा रहेको पावरहाउसमा सुरुङमार्फत पानी खसालेर विद्युत् उत्पादन गरिएको छ ।
सोलुखोलाको पानीबाट रन अफ द रिभर प्रणालीबाट विद्युत् उत्पादनका लागि परियोजनाले ४ दशमलव २ किलोमिटर सुरुङ मार्ग र २ किलोमिटर भूमिगत पाइपलाइन विस्तार गरेर भदौरेमा पानी खसालेको छ ।
नेदरल्यान्ड्सको एफएमओ बैंकको करिब १७ अर्बको ऋण लगानीमा निर्माण सम्पन्न भएको परियोजनाबाट वर्षायाममा ८२ मेगावाट र हिउँदमा २० देखि २२ मेगावाट विद्युत् उत्पादन हुने परियोजनाका सहायक प्रबन्धक कृष्ण चौधरीले बताए ।
निर्माण सुरु भएको ५ वर्षमा विद्युत् उत्पादन गर्ने लक्ष्य भए पनि विभिन्न कठिनाइको सामना गर्दै ८ वर्षपछि उत्पादन सुरु गर्न सफल भएको हो । यहाँको भौगोलिक कठिनाइ, स्थानीय समस्या, वित्तीय स्रोत सुनिश्चितताको समस्याले विभिन्न कठिनाइ पार गर्दै परियोजनाले आफ्नो लक्ष्य प्राप्त गर्न सफल भएको सहायक प्रबन्धक चौधरीले बताए । यसले कोशी प्रदेशको विद्युत् माग धान्न थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
