आइक्यान अध्यक्षमा सारु र उपाध्यक्षमा वाग्ले  

श्रावण ३, २०८२

कान्तिपुर संवाददाता

Ican became president and Wagle became vice president

What you should know

काठमाडौँ — नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)को अध्यक्षमा निलबहादुर सारु मगर चुनिएका छन् । असार ३२ गते सम्पन्न आइक्यानको दसौं परिषद्का अवसरमा सारु मगर निर्विरोध अध्यक्ष चयन भएका हुन् ।

संस्थाको उपाध्यक्षमा भने आनन्दराज शर्मा वाग्ले निर्वाचित भएका छन् । नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षले शुक्रबार पद तथा गोपनियताको शपथ लिए । अध्यक्ष निल सारुले प्रमुख अतिथि महालेखा परीक्षक तोयम रायाबाट तथा उपाध्यक्ष आनन्द शर्माले नवनियुक्त अध्यक्षबाट पद तथा गोपनियताको शपथ लिएका हुन् । यसअघि सारु मगरले एक वर्ष संस्थाको उपाध्यक्षको रुपमा आफ्नो कार्यभार पूरा गरिसकेका छन् ।

नवनिर्वाचित अध्यक्ष सारु मगरले दुई पुस्ताको पुलको रुपमा रहेर कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । संस्थाको तीन वर्षे रणनीतिक योजनालाई हालै संस्थाले चारवटा पिलरसहित तयार गरेको पाँच वर्षे रणनीतिक योजनाअनुसार आफ्नो कार्यकालमा लेखा व्यवसायलाई उत्कृष्ट बनाउन र सोको प्रभावकारी कार्यान्वयनमा जोड दिने उनको भनाइ थियो ।  

कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष प्रवीणकुमार झाले आफ्ना कार्यकालका प्रगति विवरण पेस गरे । उनले पञ्चवर्षीय चौथो रणनीतिक योजना बनाइएको जानकारी गराए । यो वर्ष संस्थामा २०८ जना सिए थपिएको उनले जानकारी दिए ।

उनले सिएका विद्यार्थीहरुलाई विश्वकै प्रतिस्पर्धी बनाउन नयाँ पाठ्यक्रम निर्धारण गरिएको बताए । यसले नेपाली लेखा परीक्षकहरु अझै गुणस्तरीय बन्ने उल्लेख गरे । नेपाल एफएटीएफको ग्रे लिस्टमा परेको सन्दर्भमा लेखापरीक्षकलाई अझै चुस्त र जिम्मेवार बनाउने प्रयास गरिएको जानकारीसमेत उनले गराए ।

कार्यक्रमका प्रमुख अतिथि महालेखा परीक्षक तोयम रायाले विश्वमा वित्तीय परीक्षणमा विभिन्न नयाा आयाम आएको र त्यसलाई नेपालमा पनि अनुकरण गर्न गराउन अत्यावश्यक रहेको औंल्याए । ‘कम्प्लायन्स अडिट, प्रफर्मेन्स अडिट, आईटी अडिटजस्ता कुरा आएका छन्,’ उनले भने, ‘अडिटरबाट धेरै कुराको जवाफ माग्न थालिएको छ, यस्ता विषयमा हामी प्रस्ट हुनुपर्छ ।’

उनले कानुनको परिपालना पनि संवेदनशील रहेको भन्दै अडिटरले कानुन ऐन संविधान कार्यविधि सबै अध्ययन गर्नुपर्ने अवस्था आएको औंल्याए ।

कार्यक्रममा महालेखा नियन्त्रक शोभाकान्त पौडेलले नेपालमा व्यावसायिक वातावरण निर्माण गर्न विद्यमान व्यवधान पहिचान गरी सुझाव दिन आग्रह गरे । उनले कम्पनी दर्ता तथा अनुमतिपत्र लिनेदेखि निजी क्षेत्रले भोग्ने वित्तीय लेखापरीक्षणलगायत सम्बन्धित समस्या निराकरणका लागि आइक्यानले भूमिका खेल्न सक्ने औंल्याए ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) नेपालमा लेखा व्यवसायको विकास, संरक्षण, संवर्द्घन तथा नियमन गर्न नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन, २०५३ अन्तर्गत स्थापित नियमनकारी निकाय हो । सोही ऐनको व्यवस्थाबमोजिम सन् १९९९ देखि संस्थाले चार्टर्ड एकाउन्टेन्सी शिक्षा प्रदान गर्दै आएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully