बुटवल-नारायणगढ सडक : ७ वर्षमा बल्ल ७० प्रतिशत काम, चौथो पटक म्याद थपिँदै

श्रावण ३, २०८२

नारायण शर्मा

Butwal-Narayangadh Road: Barely 70 percent work in 7 years, deadline being extended for the fourth time

What you should know

नवलपरासी — बुटवल-नारायणगढ सडकको स्तरोन्नतिका लागि काम सुरु भएको ७ वर्षमा पनि बल्ल ७० प्रतिशतमात्रै काम भएको छ। निर्माण कम्पनीले समयमा काम नगर्दा सडकमा यात्रुले सास्ती बेहोर्न बाध्य छन्। तेस्रो पटक थपिएको समयावधिमा पनि काम नसकिएपछि सरकारले चौथोपटक म्याद थप्ने तयारी गरेको छ।

सुरु ठेक्का सम्झौता अनुसार यो राजमार्ग ०७९ साउनमै सम्पन्न भइसक्न पर्ने हो । तर अहिलेसम्म पनि काम सकिएको छैन। सरकारले फेरि थप एक वर्षको म्याद थप गर्न लागेको हो। 

यो सडक हेर्ने आयोजना निर्देशनालयका प्रमुख इन्जिनियर चुडाराज ढकालका अनुसार आउँदो बुधवार फेरि सडक स्तरोन्नति गर्ने म्याद (समय अवधि) एक वर्ष थप्न सम्झौता हुने छ।

आउँदो बुधवार सडक विभाग र चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिजियरिङ कर्पोरेसनबीच मन्त्रालयमा लिखित सम्झौता गरेर ०८३ साल साउनसम्मको म्याद थपिने पक्कापक्की भएको हो ।

चिनियाँ ठेकेदारले भने आउँदो माघ सम्मको म्याद पाउनुपर्ने अडान राखेको छ। ठेकेदारको माग अनुसारको समय दिन नसकिने ढकालले सुनाए । ठेकेदारले काम नगरेका सडक निर्माण गर्ने समयावधि थपिए पनि लागत भने नबढ्ने ढकालले जानकारी दिए ।

बुटवल-नारायणगढ सडक खण्डको १ सय १३ किलोमिटर सडक निर्माणको काम थालेको चिनियाँ ठेकेदार कम्पनीले शुक्रबारसम्म ७० प्रतिशत मात्र काम सम्पन्न गरेको छ । एक सय १३ किलोमिटर सडक निर्माणको काम सजिलो होस भनेर दुई खण्डमा बाँडेर काम भइरहेको छ ।

एक सय १३ किलोमिटर सडक मध्ये असार मसान्त सम्म एक सय किलोमिटर सडक कालोपत्रे भएको छ । दुवै तर्फ भने ८० किलोमिटर सडक मात्र कालोपत्रे भएको छ ।

दाउन्नेको १४ किलोमिटर सडक खण्ड मध्ये पश्चिम बर्दघाटतर्फ ३ किलोमिटर सडक मात्र कालोपत्रे भएको छ । बुटवल नारायणगढ सडक अन्तरगत पश्चिम नवलपरासीको बर्दघाट र पूर्वी नवलपरासीको दुम्कीवास बीचमा पर्ने ११ किलोमिटर दाउन्ने सडकको अवस्था भने अझै पनि बिजोग छ । सामान्य वर्षात् हुनासाथ त्यहाँ घण्टौँ जाम हुने अवस्था उस्तै छ ।

दाउन्नेमा आउँदो दसैँ अघि नै राजमार्ग कालोपत्रे भइसक्ने गरी काम हुने आयोजना निर्देशक ढकालले दावी गरे । पूर्वी पश्चिम नवलपरासी र रुपन्देहीको बजार क्षेत्रमा ६ लेन, जंगलमा ४ लेन र दाउन्नेमा ३ लेनको सडक निर्माण भइरहेको बुटवल-नारायणगढ सडक निर्माणको काम १७ अर्बमा चिनियाँ ठेकेदारले ठेक्का लिएको हो।

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully