अब विद्युत् प्राधिकरणका कर्मचारीको मूल्यांकन विद्युतीय माध्यमबाट

श्रावण २, २०८२

कान्तिपुर संवाददाता

Now the evaluation of the employees of the Electricity Authority is done electronically

What you should know

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणका कर्मचारीको कार्यसम्पादन मूल्यांकन अब विद्युतीय माध्यमबाट गरिने भएको छ। विद्युतीय प्रणालीमार्फत कर्मचारीले फाराम भर्ने, मूल्यांकन तथा व्यवस्थापन गर्ने व्यवस्था गरिएको छ।

साथै, अभिलेख सुरक्षित तथा गोप्य रहने गरी डिजिटल प्रणालीमार्फत राखिने प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

विद्युत् प्राधिकरण कर्मचारी सेवा, सर्त विनियमावली, २०७५ को विनियम ५९ को उपविनियम २९ अनुसार यस्तो व्यवस्था गरिएको जनाइएको छ। ‘सम्भवतः नेपालको निजामती सेवा तथा सार्वजनिक संस्थानमा प्राधिकरणले पहिलो पटक विद्युतीय माध्यमबाट कर्मचारीको कार्यसम्पादन मूल्यांकन फाराम भर्ने, मूल्यांकन तथा व्यवस्थापन गर्ने प्रक्रिया लागू गरेको हो,’ विज्ञप्तिमा भनिएको छ।

प्राधिकरणले साउन १ गतेदेखि यो प्रक्रिया लागू गरिएको बताएको छ। यसबाट कर्मचारीको कार्यसम्पादन मूल्यांकन नियमित, निष्पक्ष, सरल, मितव्ययी, गोप्य, सुरक्षित र विश्वसनीय हुने प्राधिकरणको दाबी छ।

कान्तिपुर

Link copied successfully