कारोबारमा आएकामध्ये १३ वटै उपसमूहका परिसूचक बढे, जलविद्युत्, लगानी, जीवन बिमा, उत्पादन तथा प्रशोधनका परिसूचक धेरैले बढ्दा नेप्सेमा टेवा
काठमाडौँ — साप्ताहिक कारोबारको अन्तिम र आर्थिक वर्ष २०८२/८३ को पहिलो दिन नै नेप्से परिसूचक ७५.८४ अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा दुई दशमलव ७१ प्रतिशतले उकालो लागेपछि समग्र नेप्से २ हजार ८ सय ७०.६३ बिन्दुमा उक्लिएको छ । कारोबारमा आएकामध्ये २ सय ३९ कम्पनीको सेयर मूल्य बढेपछि नेप्सेको उच्च वृद्धि सम्भव भएको हो । यद्यपि सो दिन ९ कम्पनीको सेयर मूल्य भने घटेको छ ।
यस दिन जीवन बिमा, निर्जीवन बिमा, उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन, जलविद्युत्, विकास बैंक उपसमूहअन्तर्गतका कम्पनीको सेयर खरिदमा लगानीकर्ताको आकर्षण रह्यो । यसअनुसार जीवन बिमा उपसमूहको परिसूचक ४१७.२८, निर्जीवन बिमाको २७८.८०, उत्पादन तथा प्रशोधनको २१६.४०, होटल तथा पर्यटनको १८१.२५, जलविद्युतक् ो१११, विकास बैंकको ११५.८७ अंकले बढे । सामूहिक लगानी कोष उपसमूहको परिसूचक भने सामान्य सकारात्मक मात्र बनेको छ ।
बिहीबार ट्रेड टावरको सेयर मूल्य १० प्रतिशतले बढेपछि सर्किट ब्रेकरमार्फत कारोबार नियन्त्रण गरियो । शुभम् पावरको सेयर मूल्य ९.९९, थ्री खस्टार हाइड्रोपावरको ९.९९, इस्टर्न हाइड्रोपावरको ९.९०, बाराही हाइड्रोपावर (सर्वसाधारण) को ९ प्रतिशतले बढेको नेप्सेले जनाएको छ ।
बिहीबार सेयर मूल्य घट्नेमा मुख्यगरी सामूहिक लगानी कोषहरू रहे । यसअनुसार एनआईबीएल स्टेबल फन्ड, एनआईसी एसिया फ्लेक्सी क्याप फन्ड, रिलायबल समृद्धि योजना, मुक्तिनाथ म्युचअल फन्ड–१, केबीएल डिबेन्चर (२०८९) को सेयर मूल्य घटे । यी कम्पनीका लगानीकर्ताले आफ्नो सम्पत्तिको मूल्य गुमाए ।
बिहीबार १६ अर्ब ५९ करोड २१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एकै दिन यति धेरै रकमको कारोबार भएको पछिल्लो ११ महिनायताकै उच्च हो । यसअघि २०८१ भदौ ११ मा १८ अर्ब ६४ करोड रुपैयाँको कारोबार भएको थियो । नेप्सेका अनुसार १ लाख ४१ हजार ४ सय ३४ पटकको कारोबारबाट ३ करोड ८६ लाख ३४ हजार ३ सय ५० कित्ता सेयर किनबेच भएको छ । बिहीबार १३ वटै उपसमूह बढे ।
नेपाल रि–इन्स्योरेन्स कम्पनीको ८४ करोड ४२ लाख, बुटवल पावर कम्पनीको ६० करोड ६८ लाख, राधी विद्युत् कम्पनीको ५६ करोड ७४ लाख, सानिमा माई हाइड्रोपावरको ४२ करोड ६१ लाख र ङादी ग्रुप पावरको ४१ करोड १७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
नेप्से परिसूचक बढ्दा सेयर बजारको आकार (कुल पुँजीकरण) एकै दिन १ खर्ब २६ अर्ब ३८ करोड ६६ लाख रुपैयाँले बढेको छ । बुधबार ४६ खर्ब ५६ अर्ब ९८ करोड ९३ लाख रहेकामा बिहीबार ४७ खर्ब ८३ अर्ब ३७ करोड ६० लाख रुपैयाँमा कायम भएको छ ।
गत आर्थिक वर्षमा हालसम्मकै धेरै सवा २१ खर्बको सेयर किनबेच
सेयर कारोबारका हिसाबले आर्थिक वर्ष २०८१/८२ मा नयाँ रेकर्ड कायम भएको छ । सो आर्थिक वर्षभरमा दोस्रो बजारमा २१ खर्ब २४ अर्ब ९१ करोड बराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । उक्त वर्ष धितोपत्रको दोस्रो बजार कारोबारमा ऐतिहासिक रेकर्ड कायम भएको र अन्य परिसूचकमा पनि उल्लेख्य सुधार भएको नेप्सेको भनाइ छ ।
यसअघि आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा धेरै रकम १४ खर्ब ५४ अर्ब ४४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । आर्थिक वर्ष २०८०/८१ मा ७ खर्ब ३४ अर्ब ६८ करोड बराबरको धितोपत्रको कारोबार भएको थियो । सो वर्षको तुलनामा आर्थिक वर्ष २०८१/८२ मा १ सय ८९.२३ प्रतिशतले बढेर सवा २१ खर्ब रुपैयाँ बराबरको कारोबार भएको नेप्सेको तथ्यांक छ ।
२०८२ असारसम्म सेयर बजारको आकार (कुल बजार पुँजीकरण) ४६ खर्ब ५६ अर्ब ९८ करोड पुगेको थियो । २०८१ को असारको तुलनामा यो ३१.०५ प्रतिशतले बढी हो । ०८१ असार मसान्तमा कुल बजार पुँजीकरण ३५ खर्ब ५३ अर्ब ६७ करोड रुपैयाँ थियो ।
आर्थिक वर्ष २०८१/८२ को अन्तसम्ममा सूचीकृत कम्पनीको संख्या २ सय ७२ पुगेको छ । उक्त आर्थिक वर्षमा मर्जर तथा एक्विजिसनका कारण ३ कम्पनी सूचीकरणबाट हटेका छन् भने प्रथम सार्वजनिक निष्कासन (आईपीओ) मार्फत ४ वटा कम्पनी थपिएका छन् ।
प्रथम निष्कासनमार्फत ३ करोड ६५ लाख कित्ता सेयर, थप निष्कासनमार्फत ११ लाख २० हजार कित्ता सेयर, सरकारबाट थप गरिएको तथा स्थानीयलाई वितरण गरिएको ४ करोड ३२ लाख ५८ कित्ता सेयर, सामुूहिक लगानी कोषका ३७ करोड ८१ लाख एकाइ र संस्थागत ऋणपत्र ८३ लाख कित्ता गरी जम्मा ८० करोड ४२ लाख ८५ हजार कित्ता धितोपत्र सूचीकृत भएका छन् ।
