What you should know
काठमाडौँ — नेपालमा मोबाइल फोन प्रयोग गर्नेको संख्या उच्च भए पनि आफ्नै नाममा सिम कार्ड हुनेको संख्या कम रहेको तथ्यांकले देखाएको छ । हालै सार्वजनिक गरिएको ‘ग्लोबल फिन्डेक्स डाटाबेस २०२५’ अनुसार अधिकांश नेपाली युवा (एडल्ट)सँग व्यक्तिगत मोबाइल फोन भए पनि सिम कार्ड भने आफ्नो नाममा छैन ।
कोमोरोस, कङ्गो गणतन्त्र, मोरक्को र तान्जानियाजस्ता अफ्रिकी देशसँगै जोर्डन र नेपालमा आफ्नै नाममा सिम कार्ड नहुनेको संख्या ४० प्रतिशतभन्दा बढी रहेको ग्लोबल फिन्डेक्सले जनाएको छ । सिम कार्ड आफ्नो नाममा नहुँदा मोबाइल बैंकिङ, मोबाइल मनी र अन्य डिजिटल वित्तीय सेवाहरू प्रयोग गर्न कठिनाइ हुने उक्त अध्ययनमा भनिएको छ । साथै, यस्तो अवस्थामा प्रयोगकर्ताहरू डिजिटल ठगी वा पहुँच गुमाउने जोखिममा पनि पर्न सक्छन्।
सिम कार्ड आफ्नो नाममा नहुनुका मुख्य कारणमध्ये फोन खरिद गर्ने आर्थिक क्षमता नहुनु, दर्ता प्रक्रिया जटिल हुनु, आवश्यक परिचय पत्रको अभाव वा फोन तथा सिम कार्ड परिवारका सदस्यबाट प्राप्त गर्नु लगायत रहेका छन् । विशेष गरी महिलाहरू र ग्रामीण बासिन्दाहरूमा यो प्रवृत्ति बढी देखिएको अध्ययनले जनाएको छ ।
नेपालजस्तो आयस्तरमा असमानता र डिजिटल साक्षरताको कमी भएका देशमा महिला र निम्नवर्गीय समुदायहरू अझ बढी प्रभावित भएको रिपोर्टमा उल्लेख गरिएको छ। रिपोर्टले यस चुनौतीलाई सम्बोधन गर्न पहिचान प्रणाली सरल बनाउने, सुपथ मूल्यका डिभाइस उपलब्ध गराउने र डिजिटल वित्तीय शिक्षा कार्यक्रमहरू विस्तार गर्न सुझाव दिएको छ ।
