What you should know
काठमाडौँ — आर्थिक वर्ष २०८१/०८२ मा राष्ट्रिय प्रसारणलाइनमा कुल ६३१ मेगावाट बिजुली जोडिएको छ । कुल जडित क्षमता ३८ सय ७८ मेगावाट पुगेको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले जनाएको छ ।
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्काले एक वर्षको अवधिमा उल्लेखनीय नीतिगत सुधारसँगै भौतिक पूर्वाधारको विकास, विद्युत् उत्पादन तथा अन्तरदेशीय व्यापारमा महत्वपूर्ण प्रगति हासिल गरेको दाबी गरेका छन् ।
मन्त्रालय सम्हालेको एक वर्ष पूरा भएको अवसरमा बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा कार्यसम्पादन सम्झौता अनुसार ८० प्रतिशत प्रगति हासिल गरेको दाबी गरे । मन्त्रालयले प्रधानमन्त्रीसँगको कार्यसम्पादन सम्झौताअनुरूप कार्ययोजना बनाएर 'डे वान' देखि नै परिणाममुखी ढंगमा काम अघि बढाएको छ ।
'म मन्त्री हुनुभन्दा अघि ३२ सय मेगावाटको हाराहारीमा विद्युत् उत्पादन हुने गरेकोमा अहिले ३८ सय ७८ मेगावाट विद्युत् उत्पादन भइ राष्ट्रिय प्रसारण लाइनमा जोडिएको र दैनिक ८०० सय मेगावाट भन्दा बढी विद्युत् भारत र बंगलादेशमा बिक्री भइरहेको छ,' उनले भने ।
ऊर्जा मन्त्रालयले पहिलो पटक ऊर्जा विकास मार्गचित्र–२०८१ जारी गर्दै सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ । त्यसका लागि ४६.५ अर्ब अमेरिकी डलर बराबरको वित्तीय योजना पनि तयार गरिएको छ । मार्गचित्रले देशलाई ऊर्जा आत्मनिर्भरता र निर्यातमुखी अर्थतन्त्रतर्फ डोर्याउने अपेक्षा गरिएको छ।
१५ हजार मेगावाट विद्युत् भारत र बंगलादेशलाई निर्यात गर्ने सम्झौता भइसकेको छ भने १३ हजार ५०० मेगावाट स्वदेशमै खपत गर्ने लक्ष्य राखिएको छ । बंगलादेशमा पहिलो पटक डलरमा ४० मेगावाट विद्युत् बिक्री गर्दै पाँच महिनामा एक अर्ब २५ करोड भन्दा बढी आम्दानी हुने सुनिश्चितता गरिएको छ ।
डेडिकेटेड र ट्रंकलाइनको बक्यौता विवाद अब छिट्टै समाधान हुने उनले दाबी गरे । गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गरेको बताउँदै मन्त्री खड्काले आयोगको प्रतिवेदनअनुसार बक्यौता विवाद समाधान गर्न र ऊठ्नुपर्ने रकम एक पैसा पनि नछोड्न प्राधिकरण र विद्युत् नियमन आयोगलाई निर्देशन दिएको बताए ।
