काठमाडौँ — निर्यात व्यापार, वाणिज्य क्षेत्रसँगै मुलुकको अर्थतन्त्रमा योगदान पुर्याउने ३० कम्पनी एवं संस्थालाई सरकारले महत्त्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी) बाट सम्मान गरेको छ । सरकारले धेरै निर्यात गर्ने, धेरै रेमिट्यान्स भित्र्याउनेलगायत विभिन्न विधामा कम्पनी एवं संस्थाहरूलाई सम्मान गरेको हो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आयोजना र नेपाल उद्योग वाणिज्य महासंघको सहकार्यमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बुधबार सीआईपी सम्मान गरे । सीआईपी सम्मान प्राप्त गर्नेमा २१ व्यावसायिक फर्म तथा कम्पनी छन् । साथै निजी क्षेत्रका प्रतिनिधिमूलक ९ संस्थाले मानार्थ सीआईपी प्राप्त गरेका छन् ।
निर्यात व्यापार तथा वाणिज्य क्षेत्रको विकासमा उल्लेख्य योगदान गरेबापत उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्दप्रसाद ढकाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल, नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाललाई सीआईपी सम्मान प्रदान गरिएको छ । नेपाल हस्तकला महासंघका अध्यक्ष रवीन्द्र शाक्य र निर्यात व्यवसायी महासंघका अध्यक्ष गोविन्दप्रसाद घिमिरेलाई पनि सीआईपी प्रदान गरिएको छ ।
यसबाहेक व्यवसायीका प्रतिनिधिमूलक वस्तुगत संघतर्फ आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा ५ अर्ब वा सोभन्दा बढी निर्यात गर्ने नेपाल छुर्पी व्यवसायी संघका अध्यक्ष रेशमबहादुर पोखरेल, नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघका अध्यक्ष बलराम गुरुङलाई पनि सीआईपी सम्मान गरिएको छ ।
नेपाल तयारी पोसाक उद्योग संघका अध्यक्ष पशुपतिदेव पाण्डे, नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यात संघका अध्यक्ष नरेशलाल श्रेष्ठलाई पनि सीआईपी सम्मान प्रदान गरिएको छ । कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले देशको समृद्धिका लागि निजी क्षेत्रसँगको सहकार्यलाई थप बलियो बनाइने बताए । निजी क्षेत्रको मनोबल उच्च नभएसम्म आर्थिक विकास र समृद्धि सम्भव नभएको उनको भनाइ छ । सीआईपी सम्मानले केही सम्बोधन गर्न खोजेको उनले जनाए ।
नेपाल सन् २०२६ मा एलडीसी ग्य्राजुयसनमा जाने भएकाले सरकार र निजी क्षेत्र मिलेर अघि बढ्ने रणनीति बनाउनुपर्नेमा मन्त्री भण्डारीले जोड दिए । निजी क्षेत्रको विकासबिना समग्र मुलुकको विकास असम्भव भएको वाणिज्य तथा आपूर्ति सचिव रामप्रसाद घिमिरेले बताए । सीआईपी सम्मानले निजी क्षेत्रको मनोबल बढेको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाको भनाइ छ ।
नेपालको निर्यात वार्षिक करिब १० खर्ब पुर्याउन सकिने नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालले जनाए । ‘नेपालको निर्यात सम्भावना हेर्दा वार्षिक करिब १० खर्ब पुर्याउन सकिन्छ । कुल गार्हस्थ्य उत्पादनको शून्य दशमलव २ प्रतिशत मात्रै रहेको विदेशी लगानी पनि केही वर्षमै १० प्रतिशत पुर्याउन सकिन्छ,’ उनले भने । महत्त्वपूर्ण व्यावसायिक व्यक्ति सीआईपी सम्मानबाट सम्मानित हुँदा व्यवसायीलाई व्यवसाय गर्न प्रोत्साहन मिलेको उनको भनाइ छ । अन्तर्राष्ट्रिय अभ्यासअनुसार यसरी सम्मानित हुने व्यक्तिहरूलाई सरकार र समाजले निकै महत्त्व दिने गरेको उनले जनाए ।
क–कसले पाए सीआईपी सम्मान ?
चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग वाणिज्य महासंघ
कमलेशकुमार अग्रवाल, नेपाल चेम्बर अफ कमर्स
राजेशकुमार अग्रवाल, नेपाल उद्योग परिसंघ
रवीन्द्र शाक्य, नेपाल हस्तकला महासंघ
गोविन्दप्रसाद घिमिरे, निर्यात व्यवसायी महांसघ
रेशमबहादुर पोखरेल, नेपाल छुर्पी व्यवसायी संघ
बलराम गुरुङ, नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघ
पशुपतिदेव पाण्डे, नेपाल तयारी पोसाक संघ
नरेशलाल श्रेष्ठ, नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक संघ
छेवाङ डन्डुल लामा, श्री थर्ड आई इन्टरनेसनल
हरिप्रसाद भट्ट, नेपाल फेसन प्रालि
चन्द्रबहादुर थापा, नेसनल एक्सपोर्ट्स
सुजनकुमार श्रेष्ठ, मनराम हिमालयन ह्यान्डिक्राफ्ट
शक्तिकुमार गोल्यान, ट्राइकोट इन्डस्ट्रिज
हरकिरत सिंह बेदी, डाबर नेपाल
दिव्यराज सापकोटा, आरती स्ट्राइप्स
अक्षय गोल्यान, रिलायन्स स्पिनिङ मिल्स
पासाङ शेर्पा, छोमेन ट्रेडर्स
कर्मा छोडुप गुरुङ, फिन्जो सोनाम इन्टरप्राइजेज
उर्गेन लामा, श्री अष्ठमंगल
पद्मरत्न धाख्वा, गिफ्टल्यान्ड इन्टरप्राइजेज
ओमकृष्ण विमली, नेपाल एभरेस्ट कार्डामम प्रडक्सन
जनकराज अवस्थी, एबी हर्बल ट्रेडर्स एन्ड सप्लायर्स
रइसा टिबडेवाल, जनकपुर रिफाइनरिज
दोर्जे ग्याल्छेन लामा, द सांग्रिला कार्पेट एन्ड ह्यान्डिक्राफ्ट
महेश्वर श्रेष्ठ, एभरेस्ट फेसन
रामचन्द्र संघई, त्रिवेणी स्पिनिङ मिल्स
कुवेर सापकोटा, माइन्डफुल क्राफ्ट
हेमराज ढकाल, आईएमई लिमिडेट
गौरव अग्रवाल, एभरेस्ट हस्पिटालिटी होटल
